धनगढी । बैतडी समाज कैलालीले १८औँ रक्तदान महोत्सव आयोजना गर्ने तयारी पूरा गरेको छ। समाजले हरेक वर्ष श्रावण महिनालाई ‘रक्तदानको महिना’ का रूपमा मनाउँदै आएको छ। समाजका अध्यक्ष गजेन्द्र वीर चन्दका अनुसार यही श्रावण ३० गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित पदमा हेल्थ कलेजको प्राङ्गणमा रक्तदान महोत्सव आयोजना गरिनेछ। कार्यक्रम कैलाली उद्योग वाणिज्य संघको सहकार्य तथा रक्तसञ्चार केन्द्र कैलालीको प्राविधिक सहयोगमा हुन लागेको हो।
रक्तदान महोत्सवमा सहभागी हुने रक्तदाताको निःशुल्क स्वास्थ्य परीक्षणसँगै आँखा, दाँत र सुगर जाँचको व्यवस्था गरिएको छ। पहिलोपटक रक्तदान गर्ने रक्तदातालाई विशेष उपहारसमेत प्रदान गरिने आयोजकले जनाएको छ। महोत्सवमा समृद्धि डेन्टलले निःशुल्क दन्त परीक्षण तथा आवश्यक परामर्श र औषधिमा विशेष छुट उपलब्ध गराउनेछ। यस्तै, नवजीवन अस्पतालले विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी सेवा, निःशुल्क सुगर परीक्षण तथा थाइराइड परीक्षणमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ।
धनगढी नेत्रालयले पनि सहभागीका लागि निःशुल्क आँखा परीक्षण तथा आवश्यक औषधि वितरण गर्नेछ। मोतीबिन्दु, जलविन्दु तथा आँखामा मासु पलाएका बिरामीका लागि सीआईसीएस प्रविधिबाट निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको कार्यक्रम संयोजक वीरबहादुर महराले जानकारी दिए। यस्तै, ओसीटी मेसिनमार्फत आँखाको पछाडिको पर्दा परीक्षणमा १५ प्रतिशत छुट प्रदान गरिनेछ।
पहिलोपटक रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई सामाजिक संस्था ‘भक्त बीबी फर ह्युमानिटी’ले संस्थाको लोगो तथा ‘रक्तदान गरौँ’ भन्ने सन्देश अंकित पोलो टिसर्ट प्रदान गर्ने भएको छ। धनगढी–५ तारानगरस्थित पोटली फुड्सको संयोजनमा पहिलोपटक रक्तदान गर्ने रक्तदातालाई ५ सय ५१ रुपैयाँ बराबरको निःशुल्क फुड कुपनसमेत उपलब्ध गराइनेछ।
रक्तदातालाई जुसको सट्टा मोही खुवाउने व्यवस्था गरिएको समाजका सदस्य राजबहादुर चन्दले बताए। कार्यक्रमका लागि प्रहरी पब्लिक ब्याडमिन्टन क्लबले टिसर्ट छपाइमा सहयोग गरेको छ। यसैगरी, विभिन्न सामाजिक हातहरूको सहकार्यमा सहभागी सबैका लागि दिवाभोजका रूपमा खिरलगायत परिकारसमेत वितरण गरिने आयोजकले जनाएको छ।
बैतडी समाज कैलालीले हालसम्म आयोजना गरेका १७ वटा रक्तदान कार्यक्रमबाट १ हजार ५ सय ८६ युनिट रगत संकलन गरिसकेको छ। यसपटकको रक्तदान महोत्सवलाई पनि सभ्य र भव्य रूपमा सफल बनाउन समाजले धनगढीवासी तथा स्वयंसेवी रक्तदातालाई कार्यक्रममा सहभागी हुन अपिल गरेको छ।

