कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लागत साझेदारीमा सञ्चालनमा रहेको वारुण यन्त्र ९दमकल० ले सञ्चालनको दुई महिनामै दर्जनौं आगलागीका घटनामा प्रभावकारी रूपमा आगो नियन्त्रण गर्दै ठूलो जनधनको क्षति हुनबाट जोगाएको छ । सीमित स्रोतसाधन भएका स्थानीय तहहरूले संयुक्त लगानीमा खरिद गरेको दमकलले विपद् व्यवस्थापनमा अन्तरस्थानीय सहकार्यको सफल उदाहरण प्रस्तुत गरेको छ ।
गत आर्थिक वर्षको जेठमा सञ्चालनमा आएको दमकल बेलौरी नगरपालिकाको ४३ लाख ५५ हजार ४५५ रुपैयाँ र लालझाडी गाउँपालिकाको २३ लाख ४५ हजार २४५ रुपैयाँ गरी कुल ६७ लाख ७ सय रुपैयाँको लागतमा खरिद गरिएको हो । दमकल सञ्चालनका लागि दुवै स्थानीय तहले ‘अन्तर स्थानीय तह वारुण यन्त्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ पारित गरी संयुक्त रूपमा खरिद प्रक्रिया अघि बढाएका थिए । कार्यविधिअनुसार सञ्चालन, मर्मतसम्भार तथा व्यवस्थापनका लागि छुट्टै कोषसमेत स्थापना गरिएको छ ।
बेलौरी नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार दमकल सञ्चालनका लागि नयाँ कर्मचारी भर्ना नगरी स्थानीय तहमा कार्यरत जनशक्तिलाई नै विशेष तालिम दिइएको छ । हाल दुई जना चालक र पाँच जना अग्निनियन्त्रक चौबीसै घण्टा तयारी अवस्थामा रहने गरी परिचालन गरिएको उनले बताए । दमकल सञ्चालनका लागि बेलौरी नगरपालिकाले ६५ प्रतिशत र लालझाडी गाउँपालिकाले ३५ प्रतिशतका दरले कुल ८५ लाख रुपैयाँ बराबरको संयुक्त कोष स्थापना गरेका छन् । सोही अनुपातमा सञ्चालन, इन्धन, मर्मतसम्भार तथा अन्य व्यवस्थापन खर्च व्यहोर्ने व्यवस्था गरिएको पाण्डेयले जानकारी दिए ।
लालझाडी गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हेमराज उपाध्यायले संयुक्त लगानीको यो अभ्यासले विपद् व्यवस्थापनमा स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाएको बताए । उनका अनुसार दमकल सञ्चालनमा आएपछि बेलौरी र लालझाडीका विभिन्न बस्तीमा भएका दर्जनौँ आगलागीका घटनामा तत्काल पुगेर आगो नियन्त्रण गर्न सफल भएको छ । यसबाट घर, गोठ, अन्नबाली तथा अन्य सम्पत्तिमा हुने सम्भावित ठूलो क्षति न्यूनीकरण भएको उनले बताए । उनका अनुसार यसअघि आगलागी हुँदा पुनर्वास वा अन्य स्थानबाट दमकल आउन कुर्नुपर्दा आगो फैलिने र क्षति बढ्ने अवस्था थियो । अहिले भने घटनास्थलमा छोटो समयमै दमकल पुग्न थालेपछि आगो नियन्त्रण गर्न सहज भएको छ ।
बेलौरी(लालझाडीका जनप्रतिनिधिहरूले पनि विपद् व्यवस्थापनमा संयुक्त लगानीको यो मोडल प्रभावकारी देखिएकाले यो अभ्यास स्थानीय तहबीच स्रोत, साधन र जनशक्ति साझेदारी गर्दै विपद् जोखिम न्यूनीकरण गर्न सकिने सफल नमुनाका रूपमा हेरिएको बताएका छन् ।

