सुनसरी — सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी पुष्पराज मल्लले उपचारका क्रममा उनको निधन भएको खबर आएको बताए । उनले भने, थप उपचारका लागि उहाँलाई काठमाडौं पठाइएको थियो, उपचारका क्रममा निधन भएको खबर आएको छ । देवानगञ्ज–३ का मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको उनका आफन्त रोशन मेहताले जानकारी दिए।
रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट थप उपचारका लागि गत शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेपछि विराटनगरमै नसाको शल्यक्रिया गरिएको थियो। तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई शिक्षण अस्पताल रेफर गरिएको थियो।
उपचारका क्रममा संक्रमण र जटिलता बढेपछि चिकित्सकको सल्लाहमा उनको गोली लागेको बायाँ खुट्टा काट्नुपरेको थियो। यसैबीच, देवानगञ्ज–३ का १८ वर्षीय अमित यादव काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्। उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालबाट रेफर गरी नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको थियो।
घटनामा घाइते भएका अन्य छ जनाको भने विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था क्रमशः सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्। गत साउन १० गते देवानगन्जको कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना घाइते भएका थिए।
यसअघि देवानगन्ज-४ का ओमप्रकाश मेहता र देवानगन्ज-३ का जयप्रकाश मेहताको उपचारकै क्रममा मृत्यु भएको थियो।

