धनगढी: शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सत्याग्रह (अनशन) फिर्ता लिन आग्रह गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेको नेतृत्वमा गएको टोलीले शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर विश्वविद्यालय सञ्चालन तथा विकास प्रक्रियामा अनशनले नकारात्मक असर पर्न सक्ने भन्दै डा। केसीलाई अनशन रोक्न पहल गर्न अनुरोध गरेको हो।
समितिले डा. केसीले अनशन जारी राख्ने भए शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित माग हटाएर अन्य मागका आधारमा मात्रै आन्दोलन गर्न आग्रह गरेको छ। विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढिरहेका बेला त्यसमा अवरोध पुग्ने खालका गतिविधि नगर्न पनि समितिले अपिल गरेको छ। संयोजक पाण्डेले सुदूरपश्चिमवासीले विश्वविद्यालय स्थापनाका लागि लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै अहिले यसको कार्यान्वयनलाई गति दिने बेला विवाद सिर्जना गर्नु उचित नहुने बताए। उनले डा. केसीले उठाएका अन्य मागप्रति समितिको असहमति नरहे पनि विश्वविद्यालयसँग सम्बन्धित विषयमा पुनर्विचार आवश्यक रहेको धारणा व्यक्त गरे।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै डा। गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गरेका छन्। उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित व्यवस्था पुनरावलोकन गर्न, साथै चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्व हुने गरी गरिएका नियुक्ति बदर गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

