धनगढी । कञ्चनपुरमा सर्पदंश उपचारका लागि स्वीकृति पाएका अस्पतालमा उपचार नहुँदा बिरामी अन्यत्र जान बाध्य छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सर्पदंश उपचारका लागि स्वीकृति लिएका यहाँका अस्पतालले भेन्टिलेटर र चिकित्सक अभाव हुँदा विषालु सर्प, बिच्छी, खजुरो तथा अन्य जीवको दंशबाट पीडितको उपचारका लागि अन्यत्र रेफर गर्दै आएका छन् ।
दोधारा चाँदनी नगरपालिका–६ स्थित दोधारा चाँदनी अस्पतालले स्वास्थ्य विभागबाट सर्पदंशको उपचारका लागि तीन वर्षपहिले अनुमति पाएको थियो तर सर्पको टोकाइबाट पीडितको उपचार भने सम्भव नभएको अस्पतालका जनस्वास्थ्य निरीक्षक भीमबहादुर साउदले बताए । उनले भने , “जनशक्ति र भेन्टिलेटर नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ ।”
दोधारा चाँदनी अस्पतालमा चालु आर्थिक वर्षमा ६५ जना विषालु जीवले टोकेका बिरामी उपचारका लागि पुगेका थिए तर उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको जनस्वास्थ्य निरीक्षक साउदले बताए ।
दोधाराका स्थानीय सरस्वती विकले स्थानीयस्तरमै उपचार नगरिँदा करिब ३५ किलोमिटर यात्रा गरेर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि धाउनु परेको गुनासो गरे ।
छ वर्षपहिले सर्पदंश उपचारका लागि स्वीकृत लिएको बेलौरीस्थित श्रीपुर स्वास्थ्य केन्द्रमा पनि प्रभावकारी उपचार हुन सकेको छैन । यहाँ भेन्टिलेटर र चिकित्सक अभावले पीडितलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द विष्टले बताए ।
चालु आर्थिक वर्षको ११ महिनामा श्रीपुर स्वास्थ्य केन्द्रमा विषालु सर्पको टोकाइबाट एक महिला र दुई पुरुष गरेर तीन जना भर्ना भएका थिए ।
त्यसै गरी विषरहित सर्पको टोकाइबाट स्वास्थ्य केन्द्रमा पुगेका आठ महिला र पाँच पुरुषको सामान्य उपचारपछि उनीहरूलाई घर फर्काइएको विष्टले बताउनुभयो । उहाँले केन्द्रमा आवश्यक उपकरण र जनशक्ति अभावले उपचार सम्भव नभएको स्पष्ट पारे ।
यहाँको कृष्णपुर नगरपालिका–५ स्थित कृष्णपुर स्वास्थ्य चौकीले भने आगामी आवको साउनदेखि सर्पदंशको उपचार सुरु गर्ने जनाएको छ । यसका लागि आवश्यक उपकरण व्यवस्थापनको कार्य भइरहेको स्वास्थ्य चौकीका सहसंयोजक दीपक खड्काले बताउनुभयो । हाल यस क्षेत्रमा पीडितले अर्जुनीस्थित सर्पदंशमा उपचार गराउँदै आएका छन् ।
शुक्लाफाँटा नगरपालिकास्थित सर्पदंश उपचार सेवा केन्द्र, अर्जुनीमा चालु आव २०८२र८३ को हालसम्म विषालु सर्पदंशबाट तीन महिला र बिच्छीको दंशबाट पीडित ३२ जनाको उपचार गरिएको छ ।
अर्जुनीका मेडिकल प्राविधिक डम्बर कुँवरका अनुसार अविषालु सर्पको टोकाइबाट उपचारका लागि आएका ३७ महिला र १५ पुरुष गरेर ५२ जनाको उपचार गरिएको छ । त्यसै गरेर अन्य किरा वर्ग नखुलेकाको दंशबाट पीडित १७ महिला र नौ पुरुषको पनि उपचार गरिएको उहाँले बताउनुभयो । अर्जुनीमा विषालु सर्पदंशबाट पीडित तीन जनालाई महाकाली अस्पताल रेफर गरिएको जनाइएको छ ।
महाकाली प्रादेशिक अस्पताल पछिल्लो समय सर्पदंश उपचारका लागि प्रभावकारी बन्दै गएको छ तर हाल पाँच वटा मात्रै आइसियु बेड उपलब्ध रहेकाले पीडितलाई अन्यत्र पठाइने गरेको अस्पतालका प्रवक्ता डा। अर्जुन भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यद्यपि कोरोनाकालयता भने बिरामीलाई अन्यत्र पठाइएको छैन ।” हाल महाकाली प्रादेशिक अस्पतालमा विषालु सर्प कोब्रा र करेतको टोकाइबाट पीडित उपचार गर्न आउने गरेको उहाँको भनाइ छ । सर्पले टोकिहाले सर्वप्रथम नआत्तिन तथा जतिसक्दो छिटो अस्पताल पु¥याउन उहाँले आग्रह गर्नुभयो ।
कोब्रा सर्पले टोकेमा एक घण्टामै लक्षण देखाउने तथा करेत सर्पले टोके छ घण्टासम्ममा लक्षण देखाउने भएकाले समयमै उपचार गर्न जरुरी रहेको डा। भट्टले बताउनुभयो । चालु आवमा महाकाली प्रादेशिक अस्पतालमा पाँच वर्षमुनिका दुई जना तथा पाँच वर्षमाथिका ६१ महिला र ५६ पुरुष गरेर ११७ पीडितको उपचार गरिएको छ ।

