धनगढी: कहिलेकाहीँ केही मानिसहरू आफ्नो जीवनभन्दा ठूलो सपना देख्छन् । त्यो सपना पूरा गर्न उनीहरू आफ्नो सम्पत्ति, समय, श्रम र सुख–सुविधासम्म दाउमा लगाउँछन् । सुदूरपश्चिमका सुरेश हमाल त्यस्तै एक सपना बोकेका मानिस थिए । आज उनी छैनन् । तर धनगढीको रंगशालामा गुञ्जिने हरेक हुटिङ, हरेक फुटबल प्रतियोगिता, मैदानमा दौडिने सयौँ खेलाडी र फुटबलप्रेमीको आँखामा चम्किने हरेक सपना उनका जीवित सम्झना बनेर बाँचेका छन् ।
२०७३ सालमा उनले धनगढीमा ‘सुदूरपश्चिम खप्तड गोल्डकप’ आयोजना गर्ने घोषणा गर्दा धेरैले पत्याएनन् । कसैले उनको योजनालाई हाँसेर उडायो, कसैले ‘हावा गफ’ भन्यो । किनकि त्यतिबेला सुदूरपश्चिममा राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्नु भनेको लगभग असम्भव जस्तै मानिन्थ्यो । तर, सुरेश हमाललाई अरूको विश्वासभन्दा आफ्नो सपना माथि विश्वास थियो । उनीसँग करोडौँको बजेट थिएन, ठूला प्रायोजक थिएनन्, कुनै शक्तिशाली पहुँच थिएन । थियो त केवल एउटा अठोट– ‘फुटबलको उज्यालो पूर्वबाट पश्चिमसम्म पुर्याउने ।’ गोल्डकप सफल बनाउन आवश्यक परे आफ्नै घरजग्गा बेच्न पनि तयार थिए उनी ।
पहिलो संस्करणका लागि प्रायोजक खोज्दै उनी कति कार्यालय र कति कम्पनीका ढोका चहारे, त्यसको कुनै हिसाब छैन । तर अन्तिम समयसम्म मुख्य प्रायोजक भेटिएन । सामान्य मानिस त्यहीँ हार मान्थ्यो । तर हमालले मानेनन् । प्रायोजक नपाए पनि प्रतियोगिता रोकिएन । ४६ लाख रुपैयाँ खर्च लाग्यो । त्यसको आधाभन्दा बढी रकम हमाल र उनका सहयात्रीहरूले आफ्नै खल्तीबाट जुटाए । त्यो प्रतियोगिता केवल फुटबल प्रतियोगिता थिएन, त्यो हमालको सपना, संघर्ष र जिद्दीको उत्सव थियो । पहिलो संस्करण सम्पन्न भयो । नेपाल र भारतका १२ टोली मैदानमा उत्रिए । धनगढीले पहिलोपटक ठूलो फुटबल महोत्सव देख्यो । सायद त्यस दिन सुरेश हमालले जितेको उपाधि ट्रफी थिएन, उनले जितेका थिए हजारौँ सुदूरपश्चिमेलीको विश्वास । त्यसपछि खप्तड गोल्डकप एउटा प्रतियोगिता मात्र रहेन । यो सुदूरपश्चिमको पहिचान बन्यो । नेपालकै सर्वाधिक पुरस्कार राशिका प्रतियोगितामध्ये एक बन्यो । देशभरका चर्चित खेलाडी धनगढी आउन थाले ।
तर, आज त्यो सपनाको बिउ रोप्ने हमाल आफैँ भने छैनन् । ४८ वर्षको उमेरमै सुरेश हमालको जीवनयात्रा टुंगियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि भारतको राममूर्ति मेडिकल कलेज, भोजिपुरामा २०८२ साउनमा हमालको निधन भयो । मिर्गौला प्रत्यारोपणको तयारी भइरहेका बेला आएको उनको निधनको खबरले सुदूरपश्चिमको खेल जगत स्तब्ध थियो । किनकि सुदूरपश्चिमले केवल एक खेलकर्मी गुमाएको थिएन । एउटा सपना देख्ने आँखा गुमाएको थियो । फुटबलका लागि आफ्नो घरको ढोका खोलिदिने अभिभावक गुमाएको थियो । आफ्नै खर्चमा खेलाडी पाल्ने संरक्षक गुमाएको थियो र सुदूरपश्चिमले त्यस्तो मान्छे गुमाएको थियो, जसले कहिल्यै आफ्नो नामका लागि होइन, सधैँ सुदूरपश्चिमका लागि सपना देख्यो ।
हमालको अर्को परिचय धेरैलाई थाहा नहुन सक्छ । सुदूरपश्चिममा फुटबलको ठूलो आन्दोलन खडा गर्ने उनी आफैँ भने तेक्वान्दो खेलाडी थिए । राष्ट्रिय खेलकुद परिषद्बाट स्थायी प्रशिक्षकको जागिर पाए । तर दुई वर्षमै जागिर छाडे । किनकि उनको सपना सरकारी जागिरभन्दा ठूलो थियो । उनी खेलकुदलाई कागजमा होइन, मैदानमा देख्न चाहन्थे । भजनीमा हिमालय फुटबल क्लब स्थापना गरे । लालबोझी कप सुरु गरे । पछि धनगढी आएर खप्तड गोल्डकप जन्माए । आज धनगढीको रंगशाला, भजनीको मैदान र सुदूरपश्चिमका सयौँ खेलाडीले एउटा कुरा सम्झिरहेका छन्– सपना देख्ने मानिस मरे पनि सपना मर्दैन ।
सुरेश हमालको फुटबल यात्राको चर्चा गर्दा उनकी श्रीमतीको योगदान छुटाउन मिल्दैन । खप्तड गोल्डकपको चमकदार सफलतापछाडि एउटी त्यस्ती महिला पनि थिइन्, जसले कहिल्यै मञ्च खोजिनन्, तर हमालका हरेक सपनामा चुपचाप साथ दिइरहिन् । खेलाडीलाई घरमै राखिन्, पालनपोषण गरिन् अनि सपना देख्ने बनाइन् । अल्पायुमै सुरेश हमाल गए । तर उनले रोपेको फुटबलको बिरुवा अझै हुर्किरहेको छ ।
पूर्वमा फक्रिएको फुटबल संस्कृतिलाई पश्चिममा सारेर अल्पायुमै अस्ताएका हमाललाई नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले यसवर्षको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । सातौँ संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा हमाललाई मरणोपरान्त लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

