धनगढी । सुदूरपश्चिम प्रदेशको अर्थ मामिला राज्यमन्त्रीमा जानकी ऐर बनेकी छिन्। नेकपा एमालेबाट प्रदेश सभा सदस्य रहेकी ऐरले शुक्रबार अर्थ राज्यमन्त्रीको शपथ लिएकी हुन्। उनी यसअघि स्थानीय तहको उपप्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेकी थिइन्। बैतडीको सिगास गाउँपालिका–८ शिवलिङमा जन्मिएकी ऐरको राजनीतिक यात्रा माओवादी आन्दोलनबाट सुरु भएको देखिन्छ। उनी २०६१ देखि २०६३ सम्म नेकपा माओवादीमा आबद्ध भएर भूमिगत राजनीतिमा सक्रिय भइन्। त्यसपछि २०६३ देखि २०७३ सम्म माओवादीको जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा विभिन्न जिम्मेवारीमा काम गरिन्।
२०७३ सालपछि उनी अनौपचारिक रूपमा क्रान्तिकारी धारको राजनीतिमा समेत सक्रिय रहिन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा ऐर पुरचौडी नगरपालिका बैतडीको उपमेयरमा निर्वाचित भएकी थिइन्। माओवादी र एमालेबिच एकीकरणपछि बनेको नेकपाको प्रदेश कमिटी सदस्यका रूपमा पनि उनले काम गरिन्। त्यसपछि उनी अनेम सङ्घ (क्रान्तिकारी) को बैतडी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहिन्। नेकपा विभाजनपछि उनी नेकपा एमालेमा आबद्ध भइन् र एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीसमेत सम्हालिन्।
स्थानीय तहमा उपप्रमुखदेखि पार्टीका विभिन्न सङ्गठनात्मक जिम्मेवारी सम्हाल्दै आएकी ऐर अहिले प्रदेश सरकारको अर्थ मामिला मन्त्रालयमा राज्यमन्त्री बनेकी हुन्। शपथपछि ऐरले आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने बताइन्। उनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सबै काम गर्ने र आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिइन्।
उनले पाँच वर्षे कार्यकालका लागि ऐरले भ्रष्टाचार उन्मूलन, सुशासन, पारदर्शिता र सामाजिक न्यायसहितको शासन व्यवस्थामा भूमिका खेल्ने लक्ष्य राखेकी छन्। आर्थिक मामिलासँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाएपछि आफूले प्रदेश सरकार आर्थिक सङ्कट र बजेट व्यवस्थापनको चुनौतीमा रहेका बेला नयाँ जिम्मेवारी सम्हाल्नु महत्त्वपूर्ण मानिएको उनको भनाइ छ।
प्रदेशको आर्थिक गतिविधिलाई सहज बनाउने, बजेट व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने र सरकारका आर्थिक निर्णयलाई पारदर्शी तथा जनमुखी बनाउन तर्फ आफू लाग्ने उनले बताइन्।

