धनगढी । चलचित्र विकास बोर्डले सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको राष्ट्रिय बाल चलचित्र महोत्सवका क्रममा निर्माण भएको डोटेली भाषाको लघु चलचित्र ‘शल्यक्रिया’ दुई वर्षपछि सार्वजनिक गरिएको छ।
दुई दिने महोत्सवका क्रममा स्थानीय स्तरमा धेरै लघु चलचित्र निर्माण गरिएका थिए भने एक दिन ती चलचित्रहरूको प्रदर्शनसमेत गरिएको थियो। त्यही समयमा निर्माण भएको ‘शल्यक्रिया’ ले विद्यार्थी, अभिभावक तथा स्थानीय दर्शकमाझ विशेष चर्चा बटुलेको थियो।
चलचित्र पत्रकार सङ्घ नेपाल कैलालीका अध्यक्षसमेत रहेका विवेक नागरीको निर्देशनमा बनेको उक्त चलचित्र अहिले खबर चित्र युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। धामी–झाँक्री प्रथाको विषयवस्तुमा आधारित यस चलचित्रमा डोटेली भाषाको प्रयोग गरिएको छ।
चलचित्रमा स्व. दलबहादुर बोगटी, सरस्वती धामी, प्रशिष नागरी, सुरेन्द्र संगम (डोटेल बढ्डो), डा. सिर्जना यादव, नरबहादुर चौधरी, मनिषा राना, सुवर्ण नागरी र आरोब नागरीको अभिनय रहेको छ।
चलचित्रकी निर्माता शर्मिला नागरी हुन् भने कथा लेखन सञ्जय खड्का र लोकसरी कुँवरले गरेका छन्। संगीत भिम बिसीको रहेको छ।
यसैगरी, छायांकन रामबहादुर राना र राजेश अनुरागीले गरेका छन्। पोस्टर तथा कला कलेक्सन अमित बिकको रहेको छ भने दृश्य निर्माण सुवर्ण मिडिया प्रा.लि.ले गरेको हो।
चलचित्रको निर्देशन तथा सम्पादन विवेक कुमार नागरी (डबल) ले गरेका हुन्।


