अछाम — मंगलसेन नगरपालिका–३ बिसाकोटकी ३६ वर्षीया अनिता विष्टका लागि यसपालिको चैत महिना खुसीको सन्देश लिएर आउनुपर्ने थियो । ४ वर्षदेखि भारतको ठानामा पसिना बगाइरहेका ५६ वर्षीय श्रीमान् पुरन बिष्टले घर आउने पक्का भएपछि परिवारमा खुसी छाएको थियो । नयाँ वर्षको सुरुको दिन बिसु पर्व श्रीमान्सँगै मनाउन उत्साहित थिइन् ।
चैत २७ को साँझ ९ बजेतिर पुरनले म्यासेन्जरमा फोन गरेर भनेका थिए, ‘म गाडी चढिसकें, भोलि धनगढी पुग्छु। तिमी चिन्ता नगर्नु, केटाकेटीको ख्याल राख्नु।।।।’ त्यहीँ त्यो संवाद नै अनिताका लागि श्रीमान्को अन्तिम आवाज बन्यो । ‘म्यासेन्जरबाटै कुरा हुने भएकाले फोन नम्बर थिएन । २८ गते बिहानैदेखि म अनलाइन कुरेर बसें, तर उहाँ देखिनुभएन,’ अनिताले भनिन्, ‘गाडीको यात्रा हो, बाटोमा चलेन होला, धनगढी पुगेपछि नेपाली नम्बरबाट फोन आउला सोचें । तर त्यो दिनभरि फोन आएन । २९ गते बिहान श्रीमान्को मृत्युको खबरले त मेरो जिन्दगी नै आध्याँरो बनाइदियो ।’
कैलाली सीमामा रहेको भारतीय नाका गौरीफन्टामा हृदयघात भएर ढलेको भन्दै सेती अस्पताल धनगढी पुर्याइएको खबर पुरनसँगै आएका एक साथीले भारतमा रहेका आफन्तलाई जानकारी गराए । प्रहरीका अनुसार पुरनलाई भारतपट्टिबाट धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको हो । उनको अस्पताल पुर्याउनु अगाडि नै मृत्यु भइसकेको सेती प्रादेशिक अस्पताल कैलालीका सूचना अधिकारी किशोर श्रेष्ठले बताए ।
गौरीफन्टा नाकामा नेपाल प्रहरीको तर्फबाट कमाण्ड गरिरहेका प्रहरी नायब निरीक्षक रामसिंह बोहराका अनुसार बिष्ट आएको बस भारतीय नम्बर प्लेटको भए पनि त्यसका सञ्चालक भने नेपाली नै हुन् । ‘भारतबाट आउँदै गरेका एक नेपाली बेहोस छन् । अवस्था गम्भीर छ, छिटो अस्पताल लैजानुपर्ने अनुरोध गरे । बस सञ्चालकले नेपालतर्फबाट अटो लगेर भारततर्फबाट आफ्नै काखमा राखेर लिएका हुन्,’ उनले भने,‘गम्भीर अवस्था छ भनेपछि जाँच गर्ने सोधपुछ गरिएन । एक सेकेण्डले पनि ज्यान तलमाथि हुनसक्छ भन्ने लागेर हामीले धेरै केरकार गरेनौं । त्यतिबेला मान्छे जीवित थिए कि मृत भन्ने थाहा भएन ।’
मृतकका परिवारले भने बसका चालक र भारतबाट उनीसँगै आएका केही यात्रुका नाममा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका छन् । परिवारले दिएको जाहेरीका आधारमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सैनाले बताए । ‘डेथ अफ कज थाहा पाउन नेपालगन्जको ल्याबमा भिसेरा पठाउँदै छौं । रिर्पोट आउन १५ दिन जति लाग्न सक्छ,’ उनले भने,‘परिवारका मान्छेले दिएको जानकारीलाई समेत आधार मानेर अनुसन्धान अगाडि बढेको छ । ५ जना नियन्त्रणमा लिएका छौं । प्ररम्भिक अनुसन्धानबाट शंका गर्नुपर्ने अवस्था देखिएको छैन ।’
भारतपट्टि नै मृत्यु भइसक्दा पनि परिवारका सदस्यलाई धनगढीस्थित अस्पतालमा पुर्याएपछि मात्रै खबर भएको मृतकका भतिज बिपिन बिष्टले बताए । ‘भारतबाट नेपाल आउनेक्रममा नाकामा जाँच गर्ने क्रममा ढले भन्ने खबर आएको थियो । अहिलेसम्म आइपुग्दा त्यो सबै गलत साबित भएको छ,’ उनले भने, ‘सीमापारिबाट एक केजी चिनी ल्याउँदा पनि कडा जाँच गर्ने नेपाल प्रहरी र सशस्त्रले शव ल्याउँदासम्म पनि किन वास्ता गरेन रु बस व्यवसायी र प्रहरीको मिलेमतोको शंका छ ।’ बस स्टाफले सिटमै मृत्यु भएको बताउने र सिटमा सँगै बसेको मान्छेले मृत्य भएको थाहै छैन भनेर बयान दिएको उनले बताए । ‘भारतको प्रहरी प्रशासनसँग केही गुनासो छैन । सीमामा बसेको नेपालको प्रहरी–प्रशासनले सहजै कसरी शव ल्याउन दियो रु शंका यसमै हो,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालयमा जाहेरी पनि सहजै लिन नमानेको उनले बताए । ‘प्रहरीले जाहेरी लिनै मानेको थिएन,’ उनले भने, ‘गृह मन्त्रालयदेखि प्रहरीको माथिल्लो निकायसम्म कुरा पुर्याउँदा बिहीबारमात्रै जाहेरी लिएको हो । अझै पनि निष्पक्ष अनुसन्धान हुनेमा शंका छ ।’ अनिताले भारतबाटै श्रीमान्को मृत्युको खबर सुनिन् । खबर पाउँदासाथ अछामबाट उनका भतिजा रिजत बिष्टलगायतका आफन्त धनगढी पुगेका थिए । रिजतले त्यहाँको दृश्य भने खबर सुनेको भन्दा भिन्नै पाइएको बताए । ‘अस्पतालमा अंकलको शव रगतले भिजेको थियो । शरीरमा ठूलठूला घाउ लागेका थिए, हृदयघात भएको मान्छेको शरीर त सग्लो हुनुपर्ने हो,’ रिजतले भने,‘अस्पताल प्रशासनले त अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको भन्यो । हृदयघात भएको मान्छेको शरीर कसरी त्यस्तो हुन्छ रु’ रिजतले अंकलसित दाईले पठाएको १८ हजार भारु, ३ वटा लुगाका ठूला ब्याग र अरु नगद पनि अहिलेसम्म नभेटिएको बताए ।
कमाउन गएका श्रीमान्को बाटोमै अकस्मात मृत्यु भएपछि परिवारमा ठूलो संकट आइलागेको अनिताले बताइन् । ‘हाम्रो त कमाउने आधार नै केही छैन । न खेतीपाती गर्ने जग्गा छ, न अरु कुनै स्रोत । मेरो त संसारै उजाडियो,’ अनिता भन्छिन्, ‘गरिबीका कारण दुई छोरीले विद्यालय देख्न पाएनन्, अभावमै उनीहरूको सानैमा बिहे गरिदिएँ ।’
१४ वर्षको जेठो छोरा, कान्छो छोरा र एउटी छोरीलाई पढाउन सक्ने अवस्था नरहेको अनिता बताउँछिन् । ‘उनीहरू नजिकैको स्कुल त जान्छन्, तर अब कसरी पढाउने, के खुवाउने रु मेरो श्रीमान् मात्र मर्नुभएको होइन, मेरो त पूरै परिवारै इन्डियामा ढल्यो ।’ अनिताका जेठी र माइली छोरी २१ र १९ वर्षका भए । उनीहरूले पढ्न नपाएकोमा अनितालाई अझै पछुतो छ । ‘छोरीहरूले पढ्न पाएको भए आज कतै जागिर खाएर घर सम्हाल्थे होलान् । तर अभावले केही गर्न दिएन । अब यी साना छोराछोरीको भविष्यको पनि चिन्ता भयो,’ अनिता भन्छिन्,‘श्रीमान् घर फर्किएपछि सबै ठीक होला भन्ने सोचेकी थिएँ । उहाँ नै प्लास्टिकमा बाँधिएर फर्कनुभयो ।’
बिष्ट परिवारको यो पीडा पुरनको मृत्युमा मात्र सीमित छैन । यो परिवारले भारतमै तीन जना दाजुभाई गुमाएको छ । पुरनका दाजु पदमबहादुर ११ वर्षअघि ४६ वर्षको उमेरमा भारतको महाराष्ट्रबाट बेपत्ता भए । घरबाट त्यहाँ पुगेको तेस्रो दिनदेखि एकाएका बेपत्ता भएका पदमको अहिलेसम्म अत्तोपत्तो छैन । ‘हाम्रो परिवारमा दुःखको कुरै नगरौं । बुवाका तीनै जना भारतमै अस्ताउनुभयो,’ रिजतले भने,‘घरबाट इन्डिया पुगेको दुई दिनसम्म बुवा सम्पर्कमा हुनुहुन्थ्यो । तेस्रो दिनदेखि उहाँ कहाँ हराउनुभयो, आजसम्म अत्तोपत्तो छैन ।’ पुरन र पदमबहादुरका दाजु रामबहादुर पनि १२ वर्षअघि महाराष्ट्रबाटै बेपत्ता भएका थिए ।
बुबा हराएपछि रिजतको परिवारमा एकपछि अर्को बज्रपात पर्यो । उनका दाजु नरबहादुरको ३२ वर्षको उमेरमा ७ वर्षअघि भारतमै मृत्यु भयो भने भाउजु सरस्वतीको पनि श्रीमान् बितेको ६ महिनामै क्यान्सरले ज्यान लियो । ‘बुबाको लास र सास केही नभेटिएपछि हामीले धेरै खोजी गर्यौं । भारतमा रहेका आफन्त, मिडिया, प्रहरी चौकी सबैतिर धायौं,’ रिजतले भने,‘वर्षौंसम्म केही खबर नआएपछि गतवर्ष बुबा र ठूलोबुवाको कुशको शव बनाएर किरिया गर्यौं ।’ जेठो ठूलोबुवा रामबहादुर पनि १२ वर्षअघि महाराष्ट्रमै बेपत्ता रहेको उनले बताए । ‘राम्रेसँगै जानुभएको मान्छे, एकाएक हराउनुभयो । मेरो बुवाको तीनवटै दाजुभाई भारतमै अस्ताए । नेपालमै काम पाइएको भए हाम्रा तीनै अभिभावक यसरी भारतमा अस्ताउनु पर्दैनथ्यो होला,’ रिजत भन्छन् ।
अहिले पुरनको ‘शंकास्पद’ मृत्युले बिष्ट परिवारलाई फेरि बिक्षिप्त बनाएको छ । पुरनसित भएको सामान समेत नपाइनु र ‘शंकास्पद’ अवस्थामा अस्पताल लैजानुले भारतमा नेपाली कामदारको सुरक्षा अवस्थाबारे प्रश्न उठ्ने गरेको भारतमै बसेर पत्रकारिता गरिरहेकी ललिता मलाती सिंह बताउँछिन् । उनका अनुसार भारतका विभिन्न राज्यबाट हरेक दिन औसतमा ३ देखि ४ जना नेपाली सम्पर्कविहीन भएको र सातामा त्यहीँ संख्यामा हत्या भएको खबर आउने गर्छ । तर कुनै पनि नेपाल वा भारतका कुनै पनि सरकारी निकायसँग कति नेपालीको हत्या भयो र कति बेपत्ता छन् भन्ने आधिकारिक तथ्यांक छैन । ‘हरेक दिन नेपालीको हत्या र बेपत्ताका समाचार आइरहेका हुन्छन् । हामीले भारतभरि नेटवर्क भएका केही भारतीय मिडियासँग सहकार्य गरेर काम गरिरहेका छौं,’ उनी भन्छिन्, ‘तर भारतमा कार्यरत नेपालीको एकिन संख्या नै कसैसँग छैन ।’
उनका अनुसार भारतको मुम्बई, बैंग्लोर जस्ता सहरहरू नेपाली कामदारको संख्या बढी छ । ‘भारतमा काम गर्ने धेरैजसो सुदूरपश्चिम र कर्णालीका छन्,’ सिंहले भनिन्, ‘न्याय पाउने आशले धेरै पीडित परिवारले सम्पर्क गर्नुहुन्छ । हामीले नेपाली दूतावासलाई पनि यसबारे जानकारी गराउँछौं । तर दूतावासले प्रवासीका कुरा कहिल्यै सुन्दैन ।’
राष्ट्रिय जनगणना–२०७८ अनुसार २१ लाख ९० हजार ५ सय ९२ जना देशबाहिर (८२ प्रतिशत पुरुष र १८ प्रतिशत महिला) गएका छन् । जसमध्ये विदेशमा रहेकामध्ये खाडी मुलुकमा करिब ३७ प्रतिशत र भारतमा ३४ प्रतिशत छन् । भारतमा झन्डै ९ लाख ६९ हजार नेपाली श्रमिक भारतमा कार्यरत रहेको पछिल्लो राष्ट्रिय श्रम सर्वेक्षणमा छ । नेपालीहरू त्यहाँ घरेलु कामदेखि निर्माण, होटल, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा कार्यरत छन् । कान्तिपुरबाट


