धनगढी । धनगढी उपमहानगरपालिका–२ भन्सार रोडस्थित बन्द रहेको फनपार्क पुनः सञ्चालनमा आएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर बैशाख १ गतेदेखि पार्कलाई पुनर्जीवित गरिएको हो।
झण्डै अढाइ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त फनपार्कमा स्वीमिङ पुलसहित वेभ पुल, किड्स पुल, मल्टि(लेन स्लाइड, ट्युब लाइट स्लाइड, पेन्डुलम, म्युजिकल फन्टेन, ब्रेक डान्सलगायतका आकर्षक मनोरञ्जनात्मक सेवा उपलब्ध रहेका छन्।
बालबालिका देखि युवायुवतीसम्मलाई लक्षित गर्दै आधुनिक संरचना र सुरक्षित वातावरणमा रमाइलो गर्न सकिने व्यवस्था गरिएको सञ्चालकले बताएका छन्।
नेपाल–भारत सीमाक्षेत्र नजिकै अवस्थित यस फनपार्कले आन्तरिक पर्यटकसँगै भारतीय सीमावर्ती बजारबाट आउने पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।
२०७५ साल बैशाख १४ गते करिब १२ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको यो फनपार्क केही वर्षमै बन्द भएको थियो। सञ्चालकहरूबीचको आपसी विवादका कारण सेवा अवरुद्ध भएको बताइएको छ।
फनपार्कका सञ्चालक श्याम बिष्ट भन्छन्, “केही वर्षको अवरोधपछि हामीले पुनः व्यवस्थित रूपमा सेवा सुरु गरेका छौं। यसपटक गुणस्तरीय सेवा र सुरक्षालाई प्राथमिकता दिएका छौं।”
त्यस्तै अर्का सञ्चालक चेतराज जोशीले भने, “धनगढीलाई मनोरञ्जनको नयाँ केन्द्र बनाउने लक्ष्यका साथ फनपार्कलाई अझ आकर्षक बनाएका छौं। नयाँ वर्षसँगै पर्यटकको राम्रो आगमन हुने विश्वास लिएका छौं।”
पुनः सञ्चालनसँगै धनगढी फनपार्क यस क्षेत्रकै प्रमुख मनोरञ्जन गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।


