धनगढी: धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगर बुद्धमार्गमा कुकुरको टोकाइबाट सुरु भएको सामान्य विवाद अन्ततः एक व्यक्तिको ज्यान जाने गम्भीर घटनामा परिणत भएको छ। स्थानीय ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि उनका परिवारले छिमेकी महेश श्रेष्ठमाथि हत्या गरेको आरोप लगाएका छन् भने आरोपित पक्षले उक्त आरोप अस्वीकार गरेको छ।
घटना अनुसार बैशाख २ गते चौधरीले पालेको कुकुरले छिमेकी श्रेष्ठको कुकुरलाई टोकेको थियो। उक्त कुकुरको मृत्यु भएपछि दुई परिवारबीच विवाद चर्किएको बताइएको छ। मृतकका परिवारका अनुसार कुकुर मरेपछि श्रेष्ठले ‘खुनको बदला खुन’ लिने धम्कीसमेत दिएका थिए। सोही दिन राति करिब ११ बजे श्रेष्ठले चौधरीलाई आफ्नो घरमा बोलाएका थिए। पहिलो पटक बोलाउँदा नगएका चौधरी दोस्रो पटक जाँदा लामो समयसम्म घर नफर्किएपछि श्रीमती रुपा चौधरी र छोरा सन्तोष चौधरी खोजी गर्न पुगेका थिए।
उनीहरूका अनुसार श्रेष्ठको घरमा पुग्दा चौधरी अचेत अवस्थामा भेटिएका थिए। “शरीरमा कुटपिटका चोटपटक देखिन्थ्यो। छतमा जाने सिढीमुनि राखेर आइसले सेकिरहेको र पानी हालिरहेको देख्यौं,” मृतककी श्रीमती रुपा चौधरीले बताइन्। तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। परिवारले कुटपिट गरी हत्या गरिएको दाबी गर्दै श्रेष्ठविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ।
तर, आरोपित श्रेष्ठको परिवारले भने कुटपिटको आरोप अस्वीकार गरेको छ। महेशकी आमा सुमित्रा श्रेष्ठका अनुसार चौधरी मरेको कुकुर हेर्न छतमा गएका थिए र फर्किने क्रममा सिढीबाट लडेर बेहोस भएका हुन्। “हामीले होसमा ल्याउन आइस र पानी प्रयोग गरेका हौं, कुटपिट भएको होइन,” उनले भनिन्। श्रेष्ठकी भाउजू ज्ञानु श्रेष्ठले पनि यही दाबी दोहोर्याएकी छन्। घटनापछि चौधरीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने महेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान भइरहेको र श्रेष्ठलाई सोधपुछका लागि हिरासतमा राखिएको जानकारी दिए।
मृतक चौधरी मजदुरी गर्दै परिवार पाल्दै आएका थिए। पेसाले पेन्टर रहेका उनी मिलनसार र झगडारहित स्वभावका व्यक्ति भएको छिमेकीहरू बताउँछन्। उनको मृत्युले परिवार शोकमा डुबेको छ भने आर्थिक रूपमा समेत ठूलो समस्या परेको छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।


