डडेल्धुरा: ‘यसपालि त चुनावको खासै चहलपहल भएन। बड्डा (शेरबहादुर देउवा) आए भए एक हप्ता अघि देखि रौनक बढ्थ्यो। मान्छेहरू आउँथे। गफगाफ कुराकानी हुन्थ्यो।’ डडेलधुराको सदरमुकाम अमरगढी पुग्नु भन्दा २१ किमी वरै साहुखर्क स्थित ‘बाजेको खिर पसल’ का साह पवन देउवाले निराशा व्यक्त गर्दै भने, ‘त्यसैले यसपालि चुनाव नै आएको जस्तो लागेन। चहलपहल भएन।’
उनको भनाइबाट पनि थाहा हुन्छ, यतिबेला डडेलधुराले २०४८साल देखि २०७९ सम्म निरन्तर चुनाव जित्दै आएका शेरबहादुर देउवाको तीव्र प्रतीक्षा गरिरहेको छ। नेपाली कांग्रेसका कार्यकर्ता मात्र होइन, अन्य पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरू समेत चुनाव मुखमै आउँदा पनि डडेलधुरामा भौतिक रुपमा देउवा उपस्थिति नहुँदा अथवा देउवाको बोली नसुन्दा खल्लो महसुस गरिरहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी डडेलधुराका कोषाध्यक्ष सागर नगरकोटीले घुमाउरो पारामा खल्लो महसुस गरे। उनले भने, ‘जे भए पनि बड्डा आउनु पर्थ्यो। आएनन्। अब राप्रपा र कांग्रेसको प्रतिस्पर्धा हुन्छ।’
बाजेको खिर पसलमा हरदम मान्छेहरूको भिड हुन्छ। खासगरी खिरका पारखीहरू त्यहाँ खिर खान जाने गर्छन्। खिर खान बाजेको पसलमा गएका धेरैजसोलाई सोध्दा अधिकांशले देउवाको अनुपस्थितिलाई खल्लो महसुस गरे।
एक जना बटुवाले भने, ‘उहाँ (देउवा) नहुँदा चुनाव नै आएको जस्तो लागेन।’ पसल साहु पवनका अनुसार देउवा आउने हो भने डोटी, बझाङ, बैतडी लगायतका छिमेकी जिल्लाबाट समेत देउवालाई भेट्न मान्छेहरूको ताँती लाग्छ। गाडीहरूको भिड बढ्छ। गाउँ गाउँबाट मान्छेहरू आउँछन्। चहलपहल भिडभाड बढ्छ। तर अझै पनि देउवा जस्तो नेता डडेलधुरामा जन्मेनन्। अहिले सुनसान नै भयो’ पवनले भने।
पवनको बाजेको नाम पनि शेरबहादुर देउवा नै हो। बाजेकै नामबाट खिर पसल खोलिएको छ।नेपाली कांग्रेसबाट डडेलधुरामा उम्मेदवारी दिएका नैन सिंह महर देउवा उम्मेदवार नहुँदा कांग्रेसको गढ जोगाउने.प्रयासमा जुटेका छन्। देउवा नआए पनि देउवाको सद्भाव आफू तीर जुटाउन उनी लागिपरेका छन्।
उनले भने, ‘उहाँ (देउवा) को आर्सीवाद र सद्भाव मसँग छ। यो निश्चित कुरा हो। सोध्नै पर्दैन।’ चुनाव अगाडि देउवा डडेलधुरा आउनेमा उनी आसावादी छन्। नेपाली कांग्रेस डडेलधुरामा एक नेताले भने, ‘कुनै अर्को परिस्थिति तयार भएन भने उहाँ फागुन १५/१६ गते आउनु हुन्छ।’
उनका अनुसार अर्को परिस्थिति भनेको ‘जस्तो कि, उम्मेदवार मनोनयन गर्नुको अघिल्लो दिन राती १२ बजे उम्मेदवार बन्दिन भनेर देउवाको सचिवालयले विज्ञप्ति निकाले जस्तै फेरि कुनै अर्को परिस्थिति तयार भयो भने त्यो बेग्लै कुरा हो। नभए उहाँ आउनु हुनेछ। हामी ढुक्क छौं।’ मतदाताको मन जित्न महरले जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेसलाई यतिबेला निर्वाचन आफ्नो पक्षमा पार्न चुनौती थपिएको कांग्रेसका शुभचिन्तकहरू बताउँछन्। उनीहरुकोलागि डडेलधुरामा कांग्रेसको विजयी यात्रालाई निरन्तरता दिनुपर्ने ठूलो चुनौती छ।
यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चक्र स्नेही पहिलो पटक चुनावमा होमिएका छन्। २०७४ मा राष्ट्रियसभा सदस्य समेत भएका स्नेही यतिबेला देउवाको अनुपस्थित निर्वाचन आफ्नो पक्षमा ल्याउन लागिपरेका छन्। यतिबेला डडेलधुरामा विजयी हुने अभियानमा प्रयासमा एमाले निकै लागेको छ।
एमालेबाट रास्वपामा प्रवेश गरेका ताराप्रसाद जोशी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका छन्। देउवाको अनुपस्थितिमा यसपटक विजयी राजस्वाको काँधमा आउने उनको विश्वास छ। ‘अहिले जनताले देशभरि वैकल्पिक शक्ति खोजिरहेका छन्। त्यसमा पनि म डडेलधुरामै हुर्के, यहीँ बढे, डडेलधुरा बुझेको र डडेलधुराबाटै राजनीति गरेको मान्छे हँ। त्यसैले यसपटक डडेलधुरावासीले रास्वापालाई भोट दिनेमा म ढुक्क छु।’ उनले भने।
उनका अनुसार उनको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुनेछ। नेकपाबाट मानसिंह मालले उम्मेदवारी दिएका छन्। उनी पनि बलियो उम्मेदवार भएको जानकारहरू भन्छन्। यसपटक डडेलधुरामा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र विक, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, स्वतन्त्रबाट सुरेन्द्र रावल, तीर्थराज उप्रेती र गौरवबहादुर ऐर उम्मेदवार भएका छन्।
तर, पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने देखिन्छ। विसं २०७९ मा सातौँ पटक विजयी हुँदा देउवाले २५ हजार ५३४ मत प्राप्त पाएका थिए भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका थिए।
२०७९ को तुलनामा यसपटक २ सय २ जना मात्र मतदाता थपिएका छन्। अहिले डडेलधुरामा कुल मतदाता कूल ९३ हजार ४०३ मतदाता छन् भने १०४ मतदान स्थल र १४१ मतदान केन्द्र कायम गरिएको छ।नागरिकन्युजबाट


