वीरगन्ज महानगरपालिका– १०, आदर्शनगरको ट्रान्सपोर्ट एरियामा छापामारी गर्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको छ। सोमबार बिहान उक्त क्षेत्रमा गएको सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार भन्सार कार्यालयको संयुक्त टोलीलाई उनीहरूले आक्रमण गरेका थिए।
आक्रमणबाट दुईवटा गाडीको सिसा फुटेको छ भने तीनजना सशस्त्र प्रहरी सामान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले जनाएको छ। कपडा नियन्त्रणमा लिएपछि तस्कर समूहको ढुंगामुढाबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले जानकारी दिए।
आक्रमणमा परेर सशस्त्र प्रहरी सहायक निरीक्षक महमद मुस्ताक अली, सहायक हवल्दार जितेन्द्रप्रसाद सहनी र सहायक हवल्दार जितेन्द्र पासवान सामान्य घाइते भएका छन्। कपडा व्यापारी मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा नियन्त्रणमा लिने क्रममा झडप भएको उनले बताए। उनका अनुसार अवैध रूपमा भण्डार गरी राखेको सात लाख मूल्यबराबरको कपडा बरामद गरिएको छ।


