धनगढी: कुनै पनि निर्वाचन क्षेत्र राजनीतिक दलका लागि केवल जित–हारको गणित मात्र होइन, त्यो क्षेत्रका जनताको भावना, भरोसा र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो। तर नेपाली काङ्ग्रेसले कैलाली–४ लाई हेर्ने दृष्टिकोण हेर्दा, यो क्षेत्रलाई पार्टीले बारम्बार प्रयोगशाला बनाउँदै आएको अनुभूति स्थानीय नेता–कार्यकर्तादेखि आम मतदातासम्ममा गहिरिँदै गएको छ।
अघिल्लो निर्वाचनमा डोटीबाट विरबहादुर बलायरलाई ल्याएर कैलाली–४ बाट उम्मेदवार बनाइयो। यहाँका मतदाताले पार्टीको निर्णय स्वीकार गर्दै उनलाई जिताए। तर जितेर गएपछि उनले न त क्षेत्रप्रति जिम्मेवारी देखाए, न त एकपटक धन्यवाद भन्नकै लागि पनि कैलाली–४ फर्किए। जनताले दिएको मतको सम्मान कार्यकालभरि देखिन सकेन। यो केवल व्यक्तिगत असफलता थिएन, पार्टीको उम्मेदवार छनोटप्रतिको गम्भीर प्रश्न थियो।
यसपटक पनि अवस्था उस्तै छ, झन् गम्भीर। कैलाली–४ का नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताको भावना र चाहनाको ठाडो विपरीत, अन्तिम समयमा आएर यहाँ मताधिकारसमेत नभएका गोरख बहादुर बिष्ट (आनन्द) लाई उम्मेदवार बनाइएको छ। करिब दुई दशकदेखि अमेरिका बस्दै आएका, प्रवासमा रहेर काङ्ग्रेसको राजनीति गर्ने बिष्टलाई किन कैलाली–४ बाट ल्याइयो ? के आधारमा ? के मापदण्डमा ? यदि प्रवासमा सक्रिय हुनु नै पर्याप्त योग्यता हो भने कैलाली–४ भित्र रहेका, वर्षौँदेखि संगठन बोक्दै आएका, हरेक चुनावमा खटिएका, जेल–दमन भोगेका नेता–कार्यकर्ताको मूल्य के भयो रु के उनीहरू उम्मेदवार बन्न अयोग्य हुन् रु कि पार्टीले उनीहरूलाई सधैं मत जुटाउने ‘कार्यकर्ता’ र अरूलाई जिताउने ‘प्रयोग’ का रूपमा मात्र हेर्ने हो ?
अझ गम्भीर प्रश्न त यो हो—बिष्ट जिते भने काठमाडौँ केन्द्रित राजनीति, हारे भने अमेरिका फर्किने यथार्थ सबैलाई थाहा छ। यस्तो अवस्थामा कैलाली–४ का जनताको दीर्घकालीन प्रतिनिधित्व कसले गर्छ रु क्षेत्रको समस्या, आवश्यकता र सपना कसले बोक्छ ?
नेपाली काङ्ग्रेसले यदि साँच्चिकै संगठन बलियो बनाउने, नेतृत्व उत्पादन गर्ने र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने हो भने, स्थानीय नेतृत्वमाथि भरोसा गर्न सिक्नुपर्छ। बारम्बार बाहिरबाट उम्मेदवार थोपर्ने नीति दीर्घकालमा पार्टीकै लागि आत्मघाती सावित हुँदैछ। आज टिकट नपाउने नेता–कार्यकर्ता भोलि किन पार्टीका लागि लडुन् ? किन उनीहरूले आफ्नो राजनीति यहीँ भविष्य देखुन् ?
कैलाली–४ प्रयोगशाला होइन, यो चेतनशील जनता भएको क्षेत्र हो। यहाँका नेता–कार्यकर्ता प्रयोगको साधन होइनन्, नेतृत्वका सम्भावना हुन्। अब प्रश्न केवल उम्मेदवारको होइन, पार्टीको राजनीतिक नैतिकताको हो—नेपाली काङ्ग्रेसले आफ्नै नीति र नेतृत्व कहिले विकास गर्छ ? कि कैलाली–४ सधैं अरूका लागि प्रयोग हुने क्षेत्रकै रूपमा सीमित रहने हो ? यो प्रश्नको जवाफ आज नदिए भोलि जनताले मतमार्फत दिन सक्छन्।

