धनगढी: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र स्वदेश फिर्तीका विषयमा थप पहल गरिदिन आग्रह गरेकी छिन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँगको भेटमा मन्त्री डा. राणाले यस्तो आग्रह गरेकी हुन् । परराष्ट्रमन्त्री राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपहरणमा परेका नेपाली युवक विपसन जोशीको अवस्थाबारेमा कुराकानी भएको थियो ।
मन्त्री राणाले विपिनको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी थिइन् । यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी थिइन् । सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइ र स्वदेश फिर्ताका लागि सहयोग गर्न मन्त्री राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छिन् ।
साथै भेटमा मन्त्री राणाले सगरमाथा संवादमा भएको कतारको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्न सकिने सहकार्यका विषयमा पनि कुराकानी गरेकी थिइन् ।


