धनगढी : पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायको परम्परागत ’तीज’ पर्वको रौनक छ । राना थारु बस्तीमा डोला (पिङ) हालिएका छन् । परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन सुरु गरेका छन् । विवाहित छोरीचेली माइती फर्किएका छन् ।
साउन शुरु भएसंगै तिजको रौनक शुरु हुने राना थारु समुदायले श्रावण तृतीयाका दिन बिधिवत रुपमा तिज सम्पन्न गर्ने गर्दछन् ।
कैलाली र कञ्चनपुरमा मात्रै रहेका राना थारु समुदायले साउन शुरु भएसंगै गाउँ÷गाउँमा साउनको डोला हालेर श्रावण तृतीयाका दिन तिज समापन गरेका छन् । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ । राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ राना थारु समुदायमा । संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ । श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ । यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।

यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको धनगढी ६ मुन्नी रानाथारूले बताइन् । रानाले भनिन् “श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ, यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।”
साउन शुरु संगै तिजको रौनक छाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको छ । श्रावण तृतियाका दिन डोलाको पुजा गर्दै फुकाल्ने चलन छ ।
श्रावण तृतियाका दिन ब्रत बसेका महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् । विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइका लागि धन सम्पत्ति, उन्नति र दीर्घायुको कामना गर्छन् ।
धनगढी–६ की मन्जु राना भन्छिन्, ’दाजुभाइको आयु नदीजस्तै लामो होस् भन्ने कामना गरिन्छ ।’ व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् ।
बेहमैयाले गडरौदा जातको घाँस गाँठो पारी आफ्ना भाइभतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन । नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव–पार्वतीले देखे । र, उनलाई रुनुको कारण सोधे । शिव–पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ ।
कैलाली र कञ्चनपुरमा मात्र यो समुदायको मुख्य बसोवास छ । सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसंख्या करिब साढे तीन लाख छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोवास छ । आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक रहेको राना थारु समाजका केन्द्रिय उपाध्यक्ष कमल रानाले बताए ।

