दार्चुला। दार्चुला स्थीत महाकाली नदी भारतीय तटबन्धका कारण साँघुरिन थालेको छ । भारतले सीमा नदी महाकालीको प्राकृतिक बहाव धकेलिने गरी निर्माण गरिरहेको पक्की तटबन्धको काम नरोकेपछि महाकाली नदी साँघुरिन थालेको हो ।
अहिले स्थानीय बासिन्दा त्रसित भएका छन् । भारतीय तटबन्धले साँघुरिएको नदीको सतह बढ्न थालेपछि उनीहरू चिन्तित भएका हुन् । सीमा नदी महाकालीमा नेपाल र भारत दुवैतर्फ पक्की तटबन्ध निर्माण भइरहेको छ । नेपालतर्फ ०७१ सालबाट तटबन्ध निर्माण सुरु गरिएको हो भने भारतले गत वर्षबाट पक्की तटबन्ध बनाउन थालेको हो । नेपालले ०७० असारको बाढीपछिको महाकालीको धार परिवर्तन नहुने गरी तटबन्ध बनाइरहेको छ ।
बाढीलगत्तै नेपाल–भारतका अधिकारीहरूबीच सीमा नदीमा संरचना निर्माण गर्दा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतालाई आधार मानेर आपसी समझदारीमा गर्ने सहमति भएको थियो । नेपालले त्यसैअनुरूप तटबन्ध निर्माण सुरु गरे पनि भारतले नदी किनारको एक किलोमिटर क्षेत्रमा महाकालीको धार नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको छ । ‘वर्षातमा उच्च बहाव हुँदा ९० मिटर फराकिलो ठाउँमा बगे सामान्य मान्न सकिन्छ,’ महाकाली नदी नियन्त्रण आयोजनाका सूचना अधिकारी इन्जिनियर स्मिथ श्रेष्ठले भने, ‘गहिरो ठाउँमा ८० मिटर आसपासमा महाकाली बगे दुवैतिर असर गर्दैन । अहिले भारतले जुन क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ, त्यहाँ सामान्य अवस्थामा पनि नदीलाई बग्न स्पेस कम छ ।’ भारतीय तटबन्धले ठाउँ झन् साँघुरिएको छ ।
गत कात्तिकमा जति महाकालीको बहाव भए यसपालिको मनसुनले धेरै क्षति गर्ने खतरा रहेको इन्जिनियर श्रेष्ठले बताए । उनका अनुसार तटबन्ध निर्माण गर्न भारतले बनाएका अस्थायी संरचनाका कारण नदी ३० मिटरमा बग्ने स्थिति छ । बहाव पनि नेपालपट्टि धकेलिएको छ ।अहिले पनि बांगाबगरको छाङरु स्कुल पछाडिपट्टिको भागमा तटबन्ध जोखिमयुक्त छ, ओभरफ्लो हुने सम्भावना पनि उत्तिकै छ,’ उनले भने, ‘भारतले पानीको धार नेपालतर्फ फर्काउन बनाएको अस्थायी संरचना मनसुनअगावै नहटाए क्षति बढी हुन सक्छ ।’ भारतले तटबन्धको जगभन्दा करिब ८/१० मिटर वरसम्म नदीको धार धकेलिने गरी ग्याबिनमा ढुंगा भरेर अस्थायी संरचना बनाएको छ ।
गत वर्ष बर्खामा छाङरु स्कुलपछाडि महाकालीको सतहले तटबन्ध नाघेको थियो । निर्माणाधीन भारतीय तटबन्धका कारण त्यहाँ यसपालि नदी साँघुरिएको इन्जिनियर श्रेष्ठले बताए । भारतले १० मिटर चौडाइ र ९ मिटर उचाइको तबटन्ध बनाइरहेको छ । यो तटबन्ध पूरै बन्ने हो भने महाकालीको बहावले नेपालतर्फ धेरै क्षति गर्ने सम्भावना छ । नेपालतर्फको भन्दा भारतले एक मिटर अग्लो तटबन्ध बनाएकाले नदीको बहावयता बढी हुने इन्जिनियर श्रेष्ठले बताए । ‘तटबन्ध निर्माणका लागि बहाव फर्काउन बनाएका अस्थायी संरचनाले महाकाली नदी बढी साँघुरिएको छ,’ उनले भने, ‘नदी गहिराइमा बगे त्यसले तटबन्धको संरक्षणका लागि निर्माण गरेको कटप ९जग० मा बढी क्षति गर्छ ।’
भारतले तटबन्ध निर्माण गरेर घट्धार खोलादेखि नै महाकालीको धार नेपाल फर्काएको बांगाबगरका जयसिंह कार्कीले बताए । सीमा नदीमा आफूखुसी तटबन्ध निर्माण सुरु गरेदेखि नै स्थानीयले विरोध गरे पनि भारतले काम रोकेको छैन । भारतले पहिलेको तटबन्ध ९२०७० को बाढीअघि० भन्दा ९ मिटर वरै बहाव धकेलिने गरी तटबन्ध बनाइरहेको हो । ‘भारतले जेसीबी चलाएर तटबन्धका लागि फाउन्डेसन राखिरहेको छ,’ दार्चुला खलंगाका माधवराज जोशीले भने, ‘हामीले पटक–पटक विरोध गर्दा पनि भारतीय पक्ष पछि हटेन ।’ हिउँदमा बहाव कम भएको मौका छोप्दै नेपालतर्फ धार फर्काएर भारतले तटबन्ध बनाउन सुरु गरेको थियो । पारिपट्टि अहिले दैनिक १०र१२ वटा जेसीबी प्रयोग गरेर काम भइरहेको छ । नेपालतर्फको तटबन्ध जोखिममा पर्ने गरी सीमा नदीमा भारतले एकतर्फी तटबन्ध बनाइरहे पनि स्थानीय प्रशासन मौन बनेको स्थानीयको आरोप छ ।
गत माघमा महाकाली नगरपालिका–४ स्थित लास्कु खोलानजिक भारतीय पक्षले एक्स्काभेटर लगाएर महाकालीको धार नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका थिए । नदीको बहाव नेपालतर्फ फर्काएपछि दुवै देशका स्थानीयबीच ढुंगा हानाहानसमेत भएको थियो । स्थानीय रामसिंह कार्कीका अनुसार भारतीय एक्स्काभेटर महाकाली तरिसकेर नेपालतर्फ पुगिसकेको थियो । स्थानीयले ढुंगा हान्न थालेपछि नदीको बहाव परिवर्तन गर्ने काम भने रोकेको थियो । लास्कु खोलानजिक भारतपट्टि नदी बगिरहेको र उक्त नदीको धारलाई एक्स्काभेटर लगाएर नेपालतिर लगाउन खोज्दा बांगाबगरका स्थानीयले ढुंगा हानेर विरोध गरेपछि एक साता काम रोकिएको थियो । भारतले पुरानो तटबन्ध नभत्काई १० देखि १२ मिटरजति नदी किनारमा जग खनिरहेको पुलघाटका बासिन्दा दानसिंह महर बताउँछन् । ०७० को बाढीले दार्चुला सदरमुकाम क्षेत्रमा क्षति बढ्नुको कारण पनि भारतीय स्पर र तटबन्ध नै भएको स्थानीयको भनाइ छ । अहिले झन् १०र१२ मिटर वर तटबन्ध बनाइरहेकाले नेपालतर्फ जोखिम बढेको उनीहरूको गुनासो छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय पनि भारतको तटबन्धले नेपालतर्फका संरचना र क्षेत्रमा क्षति पुग्ने आशंका बढाएको बताउँछन् । ‘उनीहरू ९भारतीय पक्ष० ले तटबन्ध निर्माण गर्दा महाकालीको प्राकृतिक बहावलाई डाइभर्ट गरेका छन्,’ प्रजिअ उपाध्यायले भने, ‘तटबन्धको जग हाल्न पानीले समस्या गर्ने हुँदा नदी डाइभर्ट गरेको स्किकार्छन् । जग हालिसकेपछि अस्थायी रूपमा राखिएका संरचना हटाउने बताएका छन् । मनसुनअगावै ती अस्थायी संरचना हटाउन मौखिक आग्रह गरेका छौं ।’ नदीको प्राकृतिक बहाव परिवर्तन गरे नेपालतर्फ नोक्सान हुने भएकाले सबैले चासोका साथ हेरेको उनले बताए ।
यसअघि सीमा बैठकहरूमा दुवै देशका अधिकारीबीच सीमा क्षेत्रमा संरचना निर्माण गर्दा समन्वय गरेर अगाडि बढ्ने छलफल भएको थियो । गत स्थानीय तह निर्वाचनका बेला नेपाल र भारतका अधिकारीहरूको बैठकमा दुवै देशको प्राविधिकस्तरमा संयुक्त अनुगमन गर्ने र सीमामा संरचना निर्माण गर्दा दुवैतर्फ नोक्सानी नहुने किसिमले बनाउने सहमति भएको पनि प्रजिअ उपाध्यायले बताए । उनले भारतीय तटबन्धका विषयमा भारतीय पक्षसित समन्वय भइरहेको र यसबारे माथिल्लो निकायमा नियमित जानकारी गराइरहेको जानकारी दिए । ०७० असार २ मा आएको बाढीले दार्चुला सदरमुकाम क्षेत्रका १ सय ५६ घर बगाएको थियो । त्यतिबेला क्षति रोक्न नेपालले तटबन्ध बनाउन थाल्दा भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो । नेपालले खोलाको किनारभन्दा सरदर सय मिटरवरै तटबन्ध बनाइरहेको थियो । बाढीपछि पनि नेपालले तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो । भारतीय पक्षले पत्राचार गरेपछि दुवै देशले नदी किनारको केही भाग छोडेर तटबन्ध निर्माण गर्ने सहमति गरेका थिए । यसअघि दुई देशको सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति भएको थियो । महाकालीको तलदेखि माथिसम्म नेपाल–भारतको सीमा बिन्दु कायम गरिएका छन् । अहिले नदीले धार परिवर्तन गरेको भए पनि सीमा सर्भे टोलीले बिन्दु किटान गरिसकेकाले त्यही आधारमा संरचना बनाउनुपर्ने स्थानीय जानकारहरूको भनाइ छ ।कान्तीपुरबाट

