धनगढी। नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि आज मतदान हुने भएको छ।
नयाँ नेतृत्वका लागि ३ जना प्यानलसहित जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट नारायणदत्त भट्ट, प्रकाशबहादुर बम र संस्थापन इतर पक्षबाट राम बहादुर कलेलले उम्मेदवारी दिएका छन्।
नेपाली काँग्रेस कैलाली निर्वाचन समितिका अनुसार आज बिहान ११ बजेदेखि मतदान सुरू गर्ने जनाइएको छ। नेपाली काँग्रेस कैलालीको मतदानस्थल सारिएको छ। काँग्रेस जिल्ला कार्यसमितिले ओम प्यालेसमा मतदानस्थल बनाउने निर्णय गरेकोमा निर्वाचन समितिले कवर्ड हलमा सारिएको छ। प्रदेश महामन्त्री नरनारायण शाह र जिल्ला सचिव पुर्ण कुवरले मतदानस्थल सारिएको भन्दै आपत्ति जनाएका छन्।
जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका छन्।आफ्नो जित सुनिश्चित रहेकोमा नेताहरूका आ-आफ्नै तर्क र दाबी रहेका छन् । भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।६७ सदस्यीय जिल्ला समिति चयनका लागि निर्वाचन भइरहेको जनाइएको छ।
यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ। यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय “आगो“, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ।



