काठमाडौँ। कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् । राजधानीमा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै उनले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताए।
आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी समेत गरे । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति निर्माण गरेको बताए। उनले आफूलाई राजनीतिक रूपमा नै समाप्त पार्ने प्रयास गरिएको पनि बताए । राप्रपा, नेपालको घोषणा सभामा शनिबार थापाले भने, पूर्वाग्रहपूर्ण ढंगबाट पार्टी सञ्चालन गर्ने काम भयो। हामीलाई योजनाबद्ध रूपमा पाखा लगाउने, पार्टीबाट धकेलेर पर पुर्याउने परिस्थितिको निर्माण भयो।
महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर आफूलाई पराजित गरेको आरोप लगाउँदै आएका थापाले त्यस विषयमा छानबिन गर्न माग गर्दा सुनुवाई नभएको बताए। उनले सामान्य विज्ञप्ति जारी गर्न पनि अध्यक्ष लिङ्देन तयार नभएको अवस्थामा पार्टी परित्याग गर्न पुगेको बताए । उनले भने, हामीलाई राजनीतिक रूपमा नै समाप्त गर्ने जुन प्रयास गरियो ।पार्टी महाधिवेशनमा पूर्वराजाले गरेको हस्तक्षेपबारे उनको भनाइ थियो, राप्रपाले परिकल्पना गरेको राजसंस्था अभिभावक, आस्था, राजनितिभन्दा माथि उठेको राष्ट्रियता र एकताको प्रतिकको रूपमा संविधानभित्र रहने सेरेमोनिय राजसंस्था हो । त्यो संस्थाले कुनै एउटा दलको, एउटा गुट, एउटा व्यक्तिको पक्षपोषण गर्दा हामीले परिकल्पना गरेको राजसंस्थाको मान्यतामाथि आघात पुग्दछ । त्यसकारणले गर्दा पार्टीले यो विषयको निराकरण गर्नुपर्दछ भनेर अनुनय विनय गरे । दुई पटक लिखित रूपमा दिए । त्यो व्यक्तिगत अनुरोध मात्रै थिएन । हाम्रा सामान्य मागलाई रद्दिको टोकरीमा फाल्ने काम गरियो ।लाक्पा तामाङले नेतृत्व गर्दै आएको राप्रपा, नेपालको अध्यक्षमा केही दिन पहिले मात्रै थापा चयन भएका थिए ।
मैले राप्रपा फुटाइनँ- अध्यक्ष थापाले राप्रपा विभाजन नगरेको बताए । उनले २०७६ फागुन २९ गते गीतामा हात राखेर राप्रपा नफुटाउन खाएको कसम स्मरण गरेका थिए । यहिँ मञ्चबाट मैले गीता हातमा लिएर राप्रपालाई कदापी फुटाउने छैन, फुट्नदिने छैन भन्ने कसम खाएको थिए । गीता हामी सनातन धर्मावलम्बीहरूको एउटा महान ग्रन्थ हो, पवित्र ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिल्यै नफुटाउने कसम खाएको मलाई सम्झना छ,उनले भने, धार्मिक र आध्यात्मिक मान्यतामा विश्वास राख्ने भएको कारणले गर्दा मलाई आज यो भन्दाखेरि खुसीको अनुभव हुन्छ, मैले राप्रपा फुटाइनँ ।
अहिले पनि राप्रपामा आफ्ना मान्छे भएको थापाको भनाइ थियो । राप्रपालाई कानुनी रूपमा नै विभाजन गर्न केही नेताले सुझाव दिँदा पनि आफूले त्यसो गर्न नचाहेको उनको भनाइ थियो । अहिले पनि राप्रपामा हामीप्रति स्नेह सद्भाव र समर्थन राख्ने बहुसंख्यक केन्द्रीय सदस्य हुनुहुन्छ । कतिपय केन्द्रीय सदस्यले विधान, कानुन बमोजिम ४० प्रतिशत पुर्याएर पार्टी फुटाउन भन्ने सल्लाह दिएका थिए । तर मैले पार्टी फुटाउन चाहिनँ, उनले भने, पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने मान्यतामा म विश्वास राख्दिनँ ।
थापाले राप्रपालाई ठिक ढंगबाट नेतृत्व दिन नसक्दा भूमिका विहीन हुन पुगेको भन्दै माफी मागेका छन् । उनले राप्रपा, नेपाललाई बिसर्जन गरेर गलत प्रवृतिसँग सम्झौता गरेर गम्भीर भूल भएको बताए । उनले पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीसँगको एकतालाई गम्भीर भूलका रूपमा संकेत गरेका थिए ।लिङ्देन नेतृत्वको राप्रपा सैद्धान्तिक रूपमा विचलित, संगठनात्मक रूपमा गलत प्रवृतिमा लागेको थापाको भनाइ थियो । आफूलाई निरीह, लाचार र अपमानित भएर पार्टीको पतनलाई हेरिराख्ने छुट र अनुमति नभएकाले अलग हुनुपरेको उनको तर्क थियो । उनले भने, त्यो अवस्थामा मैले बाध्य भएर पार्टीबाट अलग हुनुपर्यो । मेरा अगाडि दुई विकल्प थिए अब जे भयो भयो राजनीतिबाट बिस्तारै विश्राम लिएर बसौं । तर मेरा सहयोगी शुभचिन्ताक साथीहरूले विश्राम लिने अनुमति दिनुभएन । मेरो अन्तरआत्माले पनि त्यो अनुमति दिएन ।






