सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकार गठन भएको आज ४ बर्ष पुरा भएको छ । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको फागुन महिनामा चार वर्ष पूरा भएर पाचौँ वर्ष लागेको छ।
देश संघियतामा गैसकेपछि २०७४ फागुन ५ गते मुख्यमन्त्री त्रिलोचन्द भट्टको नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले एमालेको समर्थनमा फागुन ५ गते मन्त्रिपरिषद् बिस्तार गरेका थिए । सोहि दिन तत्कालिन प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सपथ ग्रहण गराएका थिए।
मुख्यमन्त्रीको सपथपछि प्रतिक्रिया दिदै भट्टले आफुले सुदूरपश्चिम प्रदेशलाई नमुना प्रदेश बनाउने दाबी गरेका थिए। त्यति मात्रै होईन सपथ ग्रहण गरेपछि मुख्यमन्त्री सहित मन्त्रीहरुले सुदूरपश्चिमलाई नम्वर एक प्रदेश बनाउने दावी गरेका थिए। माओवादीबाट प्रदेश सभा सांसदमा निर्वाचित भएका भट्टले आफ्नो ४ बर्षिय कार्यकाल पुरा गरेपनि प्रदेश सरकारले अपेक्षित काम गर्न नसकेको भनेर उनको आलोचना हुँदै आएको छ ।
पहिलो बैठक र निर्णय कार्यान्वयन
२०७४ साल फागुन ६ गते आईतवार साढे तीन बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पहिलो मन्त्रिपरिषदको बैठक बस्यो। प्रदेश सरकार कार्यविभाजन नियमावली, सार्वजनिक लिखत प्रमाणीकरण नियमावली स्वीकृत गर्ने पहिलो बैठकले निर्णय ग¥यो। भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउदै दण्ड र पुरस्कारको नीतिलाई अवलम्वन गर्दै सुशासन प्रवद्र्धन गर्ने, राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त हाल सञ्चालित महाकाली करिडोर, खुटिया फास्ट ट्रयाक, सेती लोकमार्ग आयोजनाको समयमै गुणस्तरीय तवरबाट सम्पन्न गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र प्रदेश स्तरमा अनुगमन संयन्त्र बनाई समन्वयात्मक तवरबाट अनुगमन गर्ने पनि पहिलो बैठकको निर्णय थियो।
पर्यटनको सम्भाव्य क्षेत्रहरुको पहिचान गरी सोको संरक्षण, प्रवर्द्धन र विकासमा जोड दिने, कृषिको उत्पादन र उत्पादकत्व बढाउन माटो परीक्षण गर्ने कार्यलाई स्थानीय तह सम्म संस्थागत गर्न नेपाल सरकार तथा स्थानीय तहसँग समन्वयात्मक तवरबाट कार्यक्रम अघि बढाउने, नेपालको लोकतान्त्रिककरणका लागि जनयुद्ध, जनआन्दोलन र तराई–मधेश लगायतका सबै आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्ने, सुचना प्रविधि र विधुतीय सुशासनको प्रवद्र्धनमा जोड दिने पनि पहिलो बैठकको निर्णय थियो।
पहिलो बैठकले निर्णय ४ बर्षसम्म पनि कार्यान्वयन भएकै छैन। प्रदेश सरकारले भनेका गौरवका तीन आयोजना महाकाली करिडोर, सेती लोकमार्ग र द्रुत मार्गको निर्माण लगभग ठप्प छ। पर्यटनको सम्भाव्य क्षेत्रको पहिचार र प्रवद्र्धनका लागि पनि कुनै पहल भएको देखिन्न। भारतको पञ्जावमा ५ वर्ष र मुम्बईमा १२ वर्ष गरी १७ वर्षसम्म चौकीदार (सेक्युरिटी गार्ड) का रूपमा काम गरेको पुष्ठभूमि बोकेका भट्टले आफू प्रदेशको मुख्यमन्त्री भएपछि भारत जानुपर्ने बाद्यता अन्त्य गर्ने बताएका थिए ।
तर, उनले बोलेको कुरा अहिले सम्म कार्यान्वयनमा आउन सकेको छैन। सुदूरपश्चिम प्रदेश सरकार गठन भएको आज ४ बर्षसम्ममा ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा १८ जना प्रदेशसभा सदस्य मन्त्री भइसकेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमा नेकपा समाजवादीका नेता दीर्घबहादुर सोडारी दोहरिएर मन्त्री हुन पाउने एक्ला सांसद हुन्। यसैगरी कृष्णराज सुवेदी, झपट बोहरा, तारा लामा तामाङ, पठानसिंह बोहरा, पूर्णा जोशी, प्रकाशबहादुर शाह, माया भट्ट, मानबहादुर धामी, लालबहादुर खड्का र विनितादेवी चौधरी मन्त्री भइसकेका छन्। त्रिलोचन भट्ट नेतृत्वको सरकारमा आधा दर्जन राज्यमन्त्री भएका छन्। अर्चना गहतराज, चुनकुमारी चौधरी, प्रकाश रावल, मनाकुमारी साँउद, मानबहादुर सुनार र माया तामाङ बोहरा राज्यमन्त्री छन्।


