धनगढी । कैलालीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसाका घटना न्यूनीकरण हुन सकेका छैनन् । लैंगिक हिंसाविरुद्ध वर्षौंदेखि विभिन्न अभियान सञ्चालन हुँदै आए पनि घरेलु हिंसा, जबरजस्ती करणी, बालविवाह, बहुविवाह, बाल यौन दुरुपयोगलगायतका घटना अझै कायमै छन् । लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन भएको ३४ वर्ष पुगिसक्दा पनि हिंसाका घटनामा अपेक्षित कमी नआउनु चुनौतीका रूपमा देखिएको छ । चेतनाको कमी, लागुऔषधको प्रयोग, कुरीति, कुसंस्कार तथा पितृसत्तात्मक सोचका कारण महिलामाथि हुने हिंसा निरन्तर भइरहेको सरोकारवालाहरू बताउँछन् ।
कैलालीमा पछिल्लो तीन वर्षमा मात्रै एक हजार पाँच सयभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म पुगेका छन् । गत आर्थिक वर्षमा मात्रै घरेलु हिंसासम्बन्धी पाँच सय २३ वटा उजुरी प्रहरीमा पुगेका थिए । चालु आर्थिक वर्षको हालसम्म पनि एक सय ७५ वटा घरेलु हिंसाका घटना प्रहरीमा पुगेका छन् । घरेलु हिंसासँगै जबरजस्ती करणीका घटनाको अवस्था पनि चिन्ताजनक देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कैलालीमा ८२ वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ८९ पुगेको थियो भने २०८२/८३ मा ९७ वटा घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको हालसम्म मात्रै ४७ वटा जबरजस्ती करणीका घटना प्रहरीमा पुगेका छन् ।
बालविवाह, बहुविवाह तथा बाल यौन दुरुपयोगका घटना पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेका छैनन् । बहुविवाहसम्बन्धी आर्थिक वर्ष २०८०/८१ मा २९ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा २५ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा २२ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको हालसम्म पनि नौ वटा बहुविवाहसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रहरीमा पुगेका उजुरीमध्ये घटनाको प्रकृति र अवस्थाअनुसार मिलापत्र गराउने, न्यायिक समितिमा पठाउने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
उनका अनुसार कैलालीमा विशेषगरी बोक्सी आरोप, बालविवाह, बहुविवाह र जबरजस्ती करणीसम्बन्धी उजुरी आउने गरेका छन् । प्रहरीसम्म पुगेका तथ्यांकले मात्रै पनि समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्था गम्भीर रहेको देखाउने उनको भनाइ छ ।
अभियान चलिरहे पनि सोचमा परिवर्तन भएन
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भए पनि वर्षेनी अभियान सञ्चालन हुँदैमा मात्रै हिंसा अन्त्य हुन नसकेको सरोकारवालाहरू बताउँछन् । शहरदेखि गाउँसम्म महिलाहरू घरेलु हिंसाको सिकार बन्नुपरेको महिला अधिकारकर्मीहरूको भनाइ छ । सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब, आर्थिक निर्भरता तथा समाजको डरका कारण कतिपय महिला हिंसा सहेर बस्न बाध्य हुने गरेका छन् । त्यसका कारण प्रहरी वा सम्बन्धित निकायसम्म पुग्ने घटनाको संख्या वास्तविक घटनाभन्दा कम हुनसक्ने अधिकारकर्मीहरू बताउँछन् ।
महिला अधिकारकर्मी साबित्रा घिमिरेका अनुसार अझै पनि समाजमा पितृसत्तात्मक सोच बलियो भएकाले महिलामाथि हिंसा हुने गरेको छ । महिलाले मात्रै घरको काम गर्नुपर्ने, महिलाको भूमिका पुरुषभन्दा पछाडि हुनुपर्ने तथा निर्णय प्रक्रियामा महिलाको सहभागितालाई कमजोर ठान्ने सोच अझै कायम रहेको उनको भनाइ छ । त्यसका साथै सरकारले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पनि हिंसा न्यूनीकरणमा समस्या देखिएको उनले बताइन् । महिला अधिकारकर्मी गीता चौधरीले पनि महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच परिवर्तन आवश्यक रहेको बताइन् । सबै पक्षको सोच सकारात्मक भए समाज परिवर्तन गर्न धेरै समय नलाग्ने उनको भनाइ छ ।
१६ दिने अभियान सुरु
यसैबीच, लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको सुरुवातका क्रममा धनगढीमा प्रभातफेरी आयोजना गरिएको छ । धनगढीको चौराहादेखि जेन्जी मार्गसम्म प्रभातफेरी निकालिएको हो । धनगढी उपमहानगरपालिका तथा विभिन्न संघसंस्थाको आयोजनामा प्रभातफेरीसहित अभियान सुरु गरिएको हो । अभियानमार्फत महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्य, लैंगिक समानता र हिंसाविरुद्ध सचेतना फैलाउने सन्देश दिइएको छ । धनगढी उपमहानगरपालिकाले महिलामाथि हुने हिंसा अन्त्यका लागि सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । महिलालाई सामाजिक र आर्थिक रूपमा बलियो नबनाएसम्म हिंसा अन्त्य गर्न कठिन हुने भएकाले सीप विकास तथा आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकता दिइएको उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले बताइन् ।
महिलाको आर्थिक निर्भरता घटाउँदै उनीहरूलाई सीप, रोजगारी र आयआर्जनसँग जोड्न सके हिंसाविरुद्ध प्रतिरोध गर्ने क्षमता बढ्ने उनको भनाइ छ ।
तथ्यांकले देखाएको चुनौती
लैंगिक हिंसाविरुद्धको अभियान वर्षेनी सञ्चालन भइरहे पनि प्रहरीमा पुग्ने घटनाको तथ्यांकले हिंसा अन्त्य हुन नसकेको स्पष्ट देखाउँछ । अझै पनि घरेलु हिंसा, जबरजस्ती करणी, बहुविवाह, बालविवाह तथा अन्य लैंगिक हिंसाका घटना समाजमा भइरहेका छन् । महिलालाई राजनीतिक तथा प्रशासनिक नेतृत्वमा ल्याउने क्रम बढे पनि त्यसको प्रभाव समाजका सबै तहका महिलाको जीवनमा समान रूपमा पर्न सकेको छैन । निर्णय गर्ने तहमा महिलाको सहभागिता बढ्नु सकारात्मक भए पनि घरपरिवार र समुदायमा महिलाप्रतिको व्यवहार तथा सोच परिवर्तन हुन नसक्दा हिंसाको समस्या कायमै रहेको देखिन्छ ।
हिंसा अन्त्यका लागि कानुन निर्माण र अभियान सञ्चालन मात्रै पर्याप्त नहुने देखिएको छ । परिवारदेखि विद्यालय, समुदाय र राज्यका निकायसम्म लैंगिक समानताको सोच विकास गर्नुपर्ने आवश्यकता छ । महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, हिंसा सहेर बस्नुपर्ने सामाजिक बाध्यता हटाउने तथा पीडितलाई सहज रूपमा न्यायको पहुँचमा पुर्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।


