धनगढी: सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनकै सांसदहरूले पूरक बजेटलगायतका विषयमा सभामुखको ध्यानाकर्षण गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का आधा दर्जनभन्दा सांसदहरूले सभामुख भीम भण्डारीलाई भेटेर तत्काल सदनमा गरिएको रुलिङ कार्यान्वयन गर्न माग गरेका हुन् ।
बजेट पारित गर्ने क्रममा सभामुख भण्डारीले कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने गरी संसद्बाट कार्यदल गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा बजेट संशोधन गर्ने सरकारको प्रतिबद्धताबारे सदनलाई जानकारी गराएका थिए । तर, अहिलेसम्म कार्यदल गठन हुन सकेको छैन । ‘सदनमै माननीय सभामुखज्यूले गर्नुभएको रुलिङ कार्यान्वयनका लागि हामीले ध्यानाकर्षण गराएका हौँ,’ नेकपा एक सांसदले भने, ‘सरकारले गरेको प्रतिबद्धता र सदनको निर्देशन पूरा हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
सभामुखसँगको छलफलमा नेकपाका सांसदहरू मनबहादुर धामी, लक्ष्मणकिशोर चौधरी, झपट साउद, अक्कल रावल, घनश्याम चौधरी र रमेश धामी सहभागी थिए । उनीहरूले सरकारले पूरक बजेट ल्याउनेसहितका विषयमा गरेको आश्वासनसमेत पूरा नगरेको बताएका थिए । गत असोज २५ गते प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो । बजेट प्रस्तुत भएलगत्तै त्यसको चर्को विरोध भएको थियो । बजेटमाथिको छलफलका क्रममा सरकारले समेत बजेटमा त्रुटि रहेको स्वीकार गरेको थियो ।
‘आज चक्र मल्ल र खगराज भट्टको निधारमा काँक्राको बीउ देखिएकै आधारमा सबै काँक्रा ती दुईले खाएका हुन् कि भन्ने पर्न सक्छ,’ अर्थमन्त्री मल्लले छलफलका क्रममा भनेका थिए, ‘बीउ अर्काको गालामा टाँस्दैमा त्यो काँक्रो त्यही टाँसिएको मान्छेले खाएको छ भन्ने हुँदैन ।’ बजेटमाथि विरोध भएपछि संसद्बाट कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा बजेट संशोधन गर्ने सरकारले जनाएको थियो । सभामुख भण्डारीले पनि सरकारको निर्णयअनुसार बजेट संशोधन गर्ने विषय सदनलाई जानकारी गराएका थिए ।
छानबिन समितिको प्रतिवेदनमा उल्लेखित निष्कर्ष र सुझावका आधारमा बजेट संशोधन गर्न मुख्यमन्त्री खगराज भट्ट पनि तयार देखिएका थिए । तर, प्रतिबद्धता जनाएको लामो समय बितिसक्दा पनि कार्यदल गठन हुन सकेको छैन । सांसदहरूले सभामुख भण्डारीसँग सरकारले गरेको निर्णय र सदनमा भएको रुलिङ कार्यान्वयन गराउन माग गरेका छन् ।
सभामुख भण्डारीले यसविषयमा छलफल जारी रहेको बताए ।उनले सरकारसंग पनि समन्वय भइरहेको बताए । प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभाको बैठकसमेत अनिश्चित बनेको छ । यस्तो अवस्थामा नेकपाका सांसदहरूले आजै मुख्यमन्त्री खगराज भट्टलाई पनि भेटेर सरकारको निर्णय कार्यान्वयन गराउन दबाब दिने बताएका छन् ।


