धनगढी: कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट खेलाडी छनोट प्रक्रिया सुरु हुने भएको छ। प्रदेश खेलकुद परिषद्ले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न कात्तिक २८ गतेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने भएको हो।
छनोट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का ‘रबी’ले जानकारी दिए। धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिताको तयारी र सहभागिताबारे जानकारी गराएको हो। प्रदेशका नौवटै जिल्लाबाट विभिन्न खेलका लागि २ हजार ४ सय ६४ जना खेलाडी छनोट भएर आएको सदस्य–सचिव खड्काले बताए। जिल्लास्तरबाट छनोट भएर आएका खेलाडीमध्ये प्रदेशस्तरीय प्रतियोगिताबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने अन्तिम खेलाडी छनोट गरिनेछ।
कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी, अफिसियल र प्रशिक्षक गरी ७ सय ४४ जनाको सहभागिता रहने परिषद्ले जनाएको छ। छनोट प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन गरिनेछ। सुदूरपश्चिम प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३० वटा खेलमा सहभागिता जनाउने तयारी गरेको छ। ती खेलका लागि आवश्यक खेलाडी तथा प्रशिक्षक छनोट गर्न प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएर आएका खेलाडीलाई सम्बन्धित खेलको प्रदर्शनका आधारमा प्रदेशस्तरमा प्रतिस्पर्धा गराइनेछ। प्रदेशस्तरीय छनोटपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ। राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशका खेलाडीका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएकाले छनोट प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन तयारी गरिएको परिषद्ले जनाएको छ।
सुदूरपश्चिमबाट विभिन्न खेलमा सहभागी हुने खेलाडीले राष्ट्रियस्तरमा प्रदेशको प्रतिनिधित्व गर्दै पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेका छन्। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगिताका लागि टोली तयार गरिनेछ। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ। प्रतियोगिताका लागि सुदूरपश्चिमले पनि खेलाडी छनोट, प्रशिक्षण तथा व्यवस्थापनको तयारी अघि बढाएको हो।


