धनगढी: सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् । पटक–पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनशन तोडाएका हुन् ।
डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताए । उनले भने, ‘यो डा. केसीको अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ ।’ शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिने र सिट संख्या निर्धारण गर्ने प्रक्रियामाथि छानबिन हुने भएको छ।
विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिने क्रममा निर्धारित मापदण्ड पूरा भए–नभएको र निर्णय प्रक्रियामा स्वार्थ बाझिएको विषयमा छानबिन गर्न सरकार र डा। गोविन्द केसीबीच सहमति भएको हो। डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्ने क्रममा सरकारसँग ६ बुँदे सहमति गरेका छन्।
सहमतिअनुसार प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिनेछ। समितिले सरकारलाई प्रतिवेदन बुझाउनेछ। प्रतिवेदनका सिफारिस कार्यान्वयन भएपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीको म्याचिङ गरिनेछ। शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिँदा मापदण्ड पूरा नभएको वा स्वार्थकेन्द्रित निर्णय भएको पाइएमा संलग्न चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीलाई कारबाही गरिने सहमतिमा उल्लेख छ।
त्यस्तै, दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनमा पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरी दुई साताभित्र मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने सहमति भएको छ। त्यसपछि नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल अघि बढाइने सहमतिमा उल्लेख छ। ऐन संशोधन गर्दा डा। केसीले दिएका सुझावसमेत समेटिने जनाइएको छ।


