दार्चुला — यतिखेर देशैभर तिहारको रमझम सुरु भएको छ । दाजुभाई तथा दिदीबहिनीहरु सप्तरंगी टीका, सयपत्री र मखमलीका मालामा सजिँदै झिलिमिली पर्वको खुसी साट्ने तयारीमा छन् । दसैंमा गाउँ फर्किन नपाएकाहरु समेत यतिखेर घर आउने तरखरमा देखिन्छन् । तर, नेपालको सुदुर उत्तर कुनामा पर्ने छाङग्रु गाउँकी अन्जनी बोहरालाई भने यहीबेला गाउँ छाड्ने हतारो छ ।
गाउँ छोड्नुअघि उनको परिवारलाई अन्नपात थन्काउनु छ । ‘खेतबारीदेखी घरगोठसम्मका सबै काम एकैचोटी भ्याउनुछ, राम्रोसँग पानी खाने फुर्सद समेत छैन,’ अन्जनीले भनिन् । उनको १३ जनाको परिवार अर्को साल बैशाखमा गाउँ फर्किदा दाउरा जोहो गर्नेदेखि पशुचौपायाका लागि खर (घाँस) काट्ने, सुकाउने र ओच्छ्याउने पतेला (सुकेका स्याउला) संकलन गर्ने काममा व्यस्त छ ।
हिउँदका ६ महिना टिंकर र छाङग्रुमा बाक्लो हिमपात र अत्यधिक चिसो हुन्छ । लामो समय हिउँ जम्ने हुँदा चिसोले गाउँमा बस्न सम्भव हुँदैन । जाडो छल्न यि दुई गाउँका सबै अबको केही सातामै गाउँ छोड्ने चटारोमा छन् । उनीहरु दार्चुला सदरमुकाम खलंगा लगायत बेसी (औल) तिर अस्थायी बसाइ सर्छन् ।
एकैचोटी अर्को वैशाखमा मात्रै गाउँ फर्किने भएकाले स्थानियलाई यतिबेला राखन–धरनको चटोरो परेको हो । यो प्रक्रिया हरेक बर्ष दोहोरिने भएपनि घर छाडेर हिंड्ने हरेक परिवारलाई खाद्यान्न, लत्ताकपडाको तयारी र पशुचौपाया तथा खेतबारी व्यवस्थापनको ठुलो जिम्मेवारी आइलाग्छ । हिउँदभरि ताला लाग्ने घर, खाली हुने गाउँ र अर्को वर्ष फर्किदा फेरि सुरु हुने दिनचर्याको पूर्वतयारी गरेर मात्रै गाउँ छाड्नुपर्छ । जाडोको सिजनमा गाउँ पुरै खाली हुने भएकाले सबै काम अहिले नै सकाउन रातदिन नभनी खटिरहेका छन् । चीन र भारतसँगको सीमानाकामा पर्ने छाङग्रू र टिंकर गाउँका प्रत्येक घरमा यतिबेला कोही पनि खाली हात बसेको देखिदैन ।
कोही पाकेको फापर चुटिरहेका छन्, कोही नल सहित काटिएको नपल (तिब्बती जातको गहुँ) पुला (सानो बिटो) बनाएर थन्काइरहेका छन् त कोही हिउँदका ६ महिना औलतिर बस्दा खानका लागि आलु, सिमी, पिठो लगायत अन्नपात छुट्याउँदै गरेको भेटिन्छन् । अनि कोही चोतो (गाण्टे मुला) को सुकुटी बनाइरहेका देखिन्छन् ।
सबैलाई गाउँ छाड्नु अघि खेतबारीको काम सक्नुछ । ‘धेरैजसोले अन्नबाली भित्राइसके, अब मल खेतमा ओसार्ने काम सुरु हुन्छ,’ टिंकरका भुपेन्द्र टिंकरीले भने, ‘त्यो काम सकिएपछि बारीमा धनियाँ र रायो पनि छरेर जाने हो, फर्किंदा ठिक्क उम्रिराखेको हुन्छ, बैसाखमा आउँदा खान हुन्छ ।’ स्थानीयहरु बारीमा लसुन, मटर, रायो र धनियाँ छरेर जान्छन् । फर्किंदा खान योग्य भएको हुन्छ । अहिले खेतबारीमा लगेर थुपारेको मल फर्किएपछि छरेर बालीनाली लगाउने गरेको भुपेन्द्रले बताए ।
टिंकरमा ७५ र छाङग्रुमा १ सय २४ गरि करिब २ सय परिवारका झन्डै १२ सय जनाको बसोबास छ । यि गाउँ दार्चुलाको व्याँस गाउँपालिका–१ मा पर्छन् । अबको दुइ सातापछि (कार्तिक अन्तिम साता तिर) यि दुवै गाउँ आगामी ६ महिनाका लागि पुर्ण रुपमा मानव रहित हुनेछन् । ‘हिउँदमा त यहाँ मान्छे त के चरो मुसो पनि बस्दैन, सबै उतै (औलतिर) हुन्छ,’ टिंकरीले भने ।
यसरी ६ महिनासम्मको लागि गाउँ नै खाली गरेर जाने मौसमी बसाइँसराइलाई स्थानीय भाषामा ‘कुञ्चा सर्ने’ भनिन्छ । सौका समुदायको बसोबास रहेको छाङग्रु र टिंकर गाउँमा यो चलन पुर्खौंदेखि चल्दै आएको छ । गाउँ छाड्नुअघि वर्षभरि खान पुग्ने अन्नपात जोहो गर्नुका साथै अर्को वर्ष गाउँ फर्किदा खेतीपाती गर्न सहज हुने गरी खेतबारीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । ‘जाडोले गर्दा गाउँ छाडेपनि बर्खामा त यर्ही फर्किनु पर्छ । त्यही भएर अहिलेको मात्रै होइन । फर्किदा खेरीको पनि बन्दोबस्त गरेर मात्रै जानु पर्छ,’ व्यास–१ का वडा सदस्य हितेस बुढाथोकीले भने, ‘अहिले नै सबै व्यवस्था गरेर गयो भने फर्किंदा सजिलो हुन्छ ।’
उच्च हिमाली भेगमा पर्ने छाङग्रु र टिंकर गाउँ बर्षको एक सिजन मात्रै खेतीपाती हुन्छ । यहाँका बासिन्दाको आम्दानीको श्रोत भनेको पशुपालन हो । मानिसहरु सँग पशुचौपाया पनि कुञ्चा सर्छन् । यसकारण कुञ्चा सर्ने क्रममा घरायसी सामान, अन्नपात र खेतबारी मात्रै होइन, पशुचौपायाको पनि व्यवस्थापन हुन्छ । बारीको काम सकेपछि यहाँका स्थानिय ओढ्ने ओछ्याउने र खानेकुरा पोको पारेर बस्तुभाउसहित गाउँ छाड्छन् । साता दिन पैदल हिँडेर भारतको बाटो हुँदै यि दुइ गाउँ बेसी पुग्छन् ।
‘दुहुना गाइवस्तु हामी जहाँ गयो उतै लैजान्छौ’ छाङग्रु गाउँकी द्रोपती ऐतवालले भनिन्, ‘ अरु वस्तुहरु बाटोमा राम्रो चरन हुने ठाउँमा ग्वालो ९गोठालो० राखेर छोड्छौ । फर्किदा सँगै ल्याएर आउँछौ,’ उनले पशुवस्तुको संख्या हेरेर सामुहिक रुपमा पारिश्रमिक दिन गरी ग्वालो राख्ने गरिएको सुनाईन् । कुञ्चा सर्दा केटाकेटी, सुत्केरी, गर्भवति, वृद्धवृद्धा, महिला, अपांगता भएका र पशुचौपाया सहितको यात्रा त्यति सहज भने हुँदैन । ‘गाह्रो भएर पनि के गर्नु रु जिजुबाजेका पालादेखिको चलन हो, गाउँ नछाडे त हिउँ र चिसोले बस्नै सकिंदैन,’ उनले भनिन् ।
कुञ्चा सर्नुअघि हरेक घरमा इस्टदेवताको पुजाआजा गर्ने चलन छ । गाउँभरीका सबैलाई बोलाएर प्रत्येक घरले भोजभतेर आयोजना गर्छन् । अन्तिममा सबैको सामुहिक पुजा गरेर सबैले एकैदिन गाउँ छाड्छन् । ‘हिउँदका लागि घर छाड्नुअघि आफ्नो परिवार र समुदायको सुख, सुरक्षा तथा कल्याणको कामना गर्दै पूजा गरिन्छ, त्यसपछि मात्रै गाउँ छाड्ने तयारी विधिवत् रुपमा पूरा भएको मानिन्छ,’ टिंकरका ८० बर्षिय देवलाल बुढाथोलीले भने । अन्नपात थन्काउने, खेतीपातीको काम सकाउने, पशुचौपायाको व्यवस्था मिलाउने र पूजाआजा गर्ने क्रमसँगै कुञ्चा सर्ने दिन नजिकिन्छ । उनीहरु खाद्यान्न र ओढ्ने–ओछ्याउनेका पोकापुन्तुरा सहित लावालस्करै गाउँबाट बाटो लाग्छन् ।
छाङरु र टिंकरबासि सदरमुकाम र बेसी झरेपछि सीमावर्ती यी गाउामा मान्छेको चहलपहल शुन्य हुन्छ । हरेक घरमा ढोका लागेसँगै दैनिक गतिविधि रोकिन्छन् । सुनसान गाउँले अर्को मानिसको पाउनु वसन्त ऋतु कुर्नु पर्छ । वैशाखतिर फर्किएपछि फेरि घरका ढोका खुल्छन् ।खल्याङबल्याङ सुरु हुन्छ । गाउँ छाड्नेबेला बारीमा लगाएका लसुन, रायो, धनिया र मटरका बीउ उम्रिएका हुन्छन् । तिनको रेखदेख सुरु हुन्छ । खेतीपाती, पशुपालन र गाउँको दैनिकी फेरि पुरानै लयमा फकिन्छ । हिउँद लागेपछि फेरि गाउँ छाड्ने बेला क्रम सुरु हुन्छ । यो चक्र छाङरु र टिंकरमा सदियौं देखी चलिरहेको छ ।
बाटोको समस्या सधै उस्तै
छाङरु र टिंकरका स्थानीयलाई हिउँदका लागि बेंसी झर्ने कुञ्चा सार्ने बेला नजिकिएसँगै बाटोको चिन्ता थपिएको छ । आफ्नै देशको बाटो भएर आवतजावत गर्न सहज छैन । टिंकरदेखि छाङरु जोड्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध छ भने छाङरुदेखि दुम्लिङसम्मको घोरेटो बाटोसमेत जीर्ण छ ।
बुदी खोला, मौस्याभिर, घााटीबगर, दोपखे, तम्बाकु र कल्जुलगायत क्षेत्रमा बाटो भत्किएकाले मानिस र पशुचौपायाको आवतजावत कठिन रहेको स्थानीय बताउँछन् । ‘गाउँका सबै कुञ्चा सर्ने तयारीमा छन् । तर आफ्नै देश भएर आवतजावत गर्ने बाटो छैन,’ स्थानीय दानसिंह टिंकरीले भने, ‘बाटो राम्रो नहुँदा हामीले हरेक वर्ष सास्ती खेप्नु परेको छ’ उनले टिंकर देखी छाङग्रुसम्मको बाटो केही ठाउँमा स्थानिय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा कामचलाउ रुपमा मर्मत गरे पनि पुर्णरुपमा नबनेको बताए ।
घोरेटो बाटो मर्मत तथा पुनर्निर्माणका लागि तीनै तहका सरकारले बजेट खर्च गरे पनि समस्या समाधान हुन सकेको छैन । चार वर्ष अघि मात्रै सेनामार्फत एक करोड ८ लाख, सुदूरपश्चिम प्रदेश सरकारको ३० लाख र व्यास गाउँपालिकाको १६ लाख गरी करिब एक करोड ५४ लाख रुपैयाँ खर्च भएको थियो । तर, बाटो हिंड्नलायक नबन्दा स्थानीयले अझै भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
विगतमा कुञ्चा गाउँ सर्ने बेलामै बाटोका कारणले र सीमा नाकाको समस्याले स्थानीय खलंगामै रोकिएका थिए । त्यसबेला उनीहरूले पशुचौपायासहित जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना समेत दिएका थिए । व्यासी समुदायका लागि सुरक्षित र भरपर्दो घोरेटो बाटो नहुँदा वर्षमा दुई पटक हुने मौसमी बसाइँसराइ चुनौतीपूर्ण बन्दै आएको छ ।
बाटोको दुरी लामो भएका कारण पालिकाकै बजेट खर्च गरेर दिर्घकालिन रुपमा चल्ने गरी बनाउन समस्या भएको व्यास गाउापालिकाका प्रमुख प्रशाशकिय अधिकृत धर्मराज जोशीले बताए । ‘अस्थायी समाधानको लागि के गर्न सकिन्छ भनेर कार्यपालिकामा छलफल गर्छौं’ उनले भने, ‘दीर्घकालिन रुपमा सधैं हिड्न मिल्ने बाटो बनाउन पालिका कै श्रोतले सम्भव नहुने भएकोले संघ र प्रदेश सरकारलाई गुहारिरहेका छौं ।’कान्तिपुरबाट


