धनगढी: १० हजार रुपैयाँ लगानी, एउटा टनेल र १०० पोका कन्या च्याउ। कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीका डिल्लीराज जोशीले १६ वर्षअघि यति सानो पुँजीबाट सुरु गरेको च्याउ खेती अहिले करिब चार करोड रुपैयाँ लगानीको व्यवसाय बनेको छ। उनको फार्ममा अहिले करिब १०० वटा टनेल छन् भने उत्पादित च्याउ सुदूरपश्चिमका नौ जिल्लासहित बाँके र बर्दियासम्म पुग्ने गरेको छ।
जोशीको यो सफलता एकै दिनमा प्राप्त भएको होइन। कृषि क्षेत्रमा सम्भावना खोज्ने क्रममा सुरु भएको उनको यात्रा अध्ययन, व्यावहारिक सिकाइ, निरन्तर मेहनत र बजारसँगको संघर्ष हुँदै यहाँसम्म आइपुगेको हो।
पढाइबाट कृषितर्फको यात्रा
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्दै गर्दा जोशीलाई प्रकृतिप्रति रुचि बढ्यो। त्यसपछि उनले कृषि क्षेत्रमा सम्भावना खोज्न थाले। नेपालमै उत्पादन गर्न सकिने र अन्तर्राष्ट्रिय बजारमा समेत सम्भावना रहेको च्याउ खेती उनको रोजाइमा पर्यो। तर, व्यवसाय सुरु गर्नुअघि यसको प्राविधिक ज्ञान हासिल गर्नुपर्ने उनले बुझे। च्याउ उत्पादनको एउटा चक्र पूरा हुन करिब तीन महिना लाग्ने भएकाले त्यसको सम्पूर्ण प्रक्रिया सिक्न उनी काठमाडौंका च्याउ फार्ममा तीन महिना कामदारका रूपमा खटिए।
‘सधैँ कामदार मात्रै बन्ने उद्देश्य थिएन। यहाँबाट फर्किएर आफ्नै व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने थियो। तीन महिनाको चक्र पूर्ण रूपमा सिकेपछि यहाँ आएर आफ्नो काम सुरु गरेँ,’ जोशीले भने। व्यावहारिक ज्ञान हासिल गरेर फर्किएका उनले २०६७ सालमा त्रिपुरा मसरुम एग्रो हर्बस स्थापना गरी करिब १० हजार रुपैयाँबाट च्याउ खेती सुरु गरे। एउटा टनेलमा १०० पोका कन्या च्याउ उत्पादन गरेर सुरु भएको व्यवसायले अहिले ठूलो आकार लिएको छ।
१०० टनेलमा चार करोडको लगानी
सानो लगानीबाट सुरु भएको उनको फार्म अहिले करिब चार करोड रुपैयाँको लगानीमा विस्तार भएको छ। उत्पादनका लागि आवश्यक संरचनासहितको यो व्यवसायमा सिजनअनुसार दर्जनौँ व्यक्तिले रोजगारी पाउँदै आएका छन्। कैलालीमा कन्या च्याउ उत्पादनको मुख्य सिजन कात्तिकदेखि फागुनसम्म हो। यस अवधिमा फार्ममा प्रत्यक्ष रूपमा करिब ५० जनासम्मले काम पाउँछन्। अफ सिजनमा पनि ३५ जनासम्मले नियमित रोजगारी पाउने गरेको जोशी बताउँछन्।
उनको उत्पादन सुदूरपश्चिम प्रदेशका नौ जिल्ला तथा बाँके र बर्दियाका बजारमा बिक्री हुन्छ। तर, सिजनमा मागअनुसार उत्पादन गर्न सके पनि अफ सिजनमा बजारको माग धान्न नसकिएको उनको अनुभव छ। १६ वर्षदेखि उनले कन्या च्याउको उत्पादनलाई नै निरन्तरता दिँदै आएका छन्। उनी च्याउ उत्पादक किसान संघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकसमेत हुन्। साथै, कृषि हाटबजार अत्तरियाका अध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
विषालु च्याउ भन्दै लखेटिएको समयदेखि बजार विस्तारसम्म
आज च्याउ खेतीबाट राम्रो आम्दानी भइरहेको छ। तर, जोशीले व्यवसाय सुरु गर्दा च्याउ उत्पादन गर्नुभन्दा पनि उपभोक्तालाई च्याउ चिनाउन र खान सिकाउनु ठूलो चुनौती थियो। सुरुवाती दिनमा च्याउ बिक्री गर्न बजार लैजाँदा व्यापारी र उपभोक्ताले समेत सहजै स्वीकार गर्दैनथे। एक किलो च्याउ बोकेर बजार पुग्दा ‘विषालु च्याउ ल्यायो’ भन्दै लखेटिनुपरेको अनुभव उनीसँग छ। ‘त्यतिबेला च्याउप्रति उपभोक्तामा पर्याप्त जानकारी र आकर्षण थिएन। उत्पादन बजारमा लैजानु नै चुनौतीपूर्ण थियो,’ उनले सम्झिए।
त्यही समय र अहिलेको अवस्थाबीच ठूलो परिवर्तन आएको उनको अनुभव छ। च्याउप्रतिको उपभोक्ताको आकर्षण बढेको छ भने उत्पादन र बजारसमेत विस्तार हुँदै गएको छ। जोशीका अनुसार अहिले नेपालका च्याउ उत्पादक किसानले वार्षिक करिब ४० देखि ४२ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेका छन्।
प्राविधिक ज्ञानबिना सफल हुन कठिन
च्याउ खेतीमा सम्भावना भए पनि यो व्यवसाय सहज भने छैन। प्राविधिक रूपमा संवेदनशील र लगानीका हिसाबले खर्चिलो भएकाले धेरै किसान यसतर्फ आकर्षित हुन नसकेको जोशीको बुझाइ छ। च्याउ उत्पादनमा आवश्यक तापक्रम, वातावरण, सरसफाइ र उत्पादन प्रक्रियाबारे पर्याप्त ज्ञान नहुँदा लगानीअनुसार प्रतिफल प्राप्त गर्न कठिन हुने उनी बताउँछन्। ‘प्राविधिक कुरा जानेर मात्रै यो खेतीबाट सफलता पाउन सकिन्छ। आम्दानी लिन सकिएन वा प्राविधिक ज्ञान भएन भने व्यवसायलाई व्यावसायिक रूपमा माथि उठाउन सकिँदैन,’ उनले भने।
त्यसैले पुस्तकमा पढेको सूत्रका आधारमा मात्रै च्याउ खेती सुरु नगर्न उनको सुझाव छ। व्यवसाय गर्न चाहने व्यक्तिले कम्तीमा तीन महिना सञ्चालनमा रहेको च्याउ फार्ममा काम गरेर उत्पादनको व्यावहारिक ज्ञान हासिल गर्नुपर्ने उनी बताउँछन्। उनका अनुसार च्याउ खेतीमा लगानी गर्नुअघि उत्पादन प्रक्रिया, बजारको अवस्था र सम्भावित जोखिमबारे बुझ्न सके व्यवसायलाई टिकाउ बनाउन सहज हुन्छ।
सरकारी सहयोगभन्दा स्रोत केन्द्रको आवश्यकता
कृषि क्षेत्रमा केही अनुदान उपलब्ध भए पनि व्यावसायिक उत्पादन, प्राविधिक ज्ञान र बजारीकरणमा पर्याप्त ध्यान पुग्न नसकेको जोशीको गुनासो छ। करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालन भइरहेका कृषि फार्मलाई सरकारले किसानका लागि सिकाइ तथा प्राविधिक ज्ञान हासिल गर्ने स्रोत केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ। ‘करोडौँ लगानीका विभिन्न कृषि फार्मलाई सम्बन्धित निकायले स्रोत केन्द्रका रूपमा विकास गर्न सक्नुपर्थ्यो, तर त्यसो हुन सकेको छैन,’ उनले भने।
२०७५ साल जेठमा आएको हुरीले उनको फार्मका सबै टहरा उडाएको थियो। त्यसबेला गोदावरी नगरपालिकाको कृषि शाखाबाट सहयोग प्राप्त भएको उनले बताए। प्राकृतिक विपत्तिसहित विभिन्न चुनौती सामना गर्दै उनले व्यवसायलाई पुनः अघि बढाएका हुन्।
परिवारको साथ, बजार विस्तारको प्रयास
च्याउ खेतीमा जोशीको परिवारसमेत संलग्न छ। उनकी श्रीमती बिस्नु जोशीका अनुसार च्याउ खेतीबाट अहिले राम्रो आम्दानी भइरहेको छ। परिवारले पूर्ण समय यही व्यवसायमा लगाउँदै आएको उनले बताइन्। च्याउको बजार विस्तार र उपभोक्तासम्म उत्पादन पुर्याउने उद्देश्यले जोशीले भदौको अन्तिम सातादेखि अत्तरियास्थित कृषि हाटबजारमा त्रिपुरा मसरुम एग्रो एन्ड हर्बसको बिक्री केन्द्रसमेत सञ्चालनमा ल्याएका छन्।
कन्या च्याउ सिजनमा प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म बिक्री हुने गरेको छ। अफ सिजनमा भने यसको मूल्य प्रतिकिलो १०० देखि १८० रुपैयाँसम्म रहने गरेको जोशी बताउँछन्। उत्पादन वृद्धि मात्रै पर्याप्त नहुने भन्दै उनी बजारीकरणलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताउँछन्। च्याउ उत्पादक किसान संघले पनि उत्पादन प्रवर्द्धन र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ।
१० हजार रुपैयाँबाट सुरु भएको जोशीको यात्रा अहिले ठूलो लगानी, रोजगारी र विस्तारित बजारसँग जोडिएको छ।


