धनगढी: कैलालीमा दुई समूहबीच भएको झडपमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घाइते हुनेमा कैलालीको पहलवानपुरका २५ वर्षीय अविनाश चौधरी ९कुस्मी० रहेका छन्। उनको पछाडिको भागमा चक्कु प्रहार भएको बताइएको छ। घाइते चौधरीको अवस्था सामान्य रहेको र धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ।
चक्कु प्रहारबाट घाइते भएका चौधरीलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो।
घाइतेका आफन्त नागेश चौधरीका अनुसार उनीहरू घरमै रहेका बेला गाउँकै १६र१७ जनाको समूह आएर कुटपिट गरेको थियो। खाना खाएर बाहिर निस्किएका बेला उक्त समूहले आक्रमण गरेको उनको भनाइ छ।
नागेशका अनुसार घाइते चौधरीसहित दुई–तीन जना मात्रै रहेका बेला ठूलो समूहले आक्रमण गरेको थियो। आक्रमणमा संलग्न युवाहरू भारतबाट भर्खरै फर्किएका र मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको उनले बताएका छन्। घाइते अविनाशको मोबाइल खोस्ने तथा कानमा लगाएको सुन लुट्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने नागेशको आशंका छ। यद्यपि, घटनाको मुख्य कारण भने खुल्न सकेको छैन।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न भएको भन्दै किटानी जाहेरीमा नाम उल्लेख गरिएका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


