दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने उत्सवको आयोजना गर्ने भएको छ। पर्यटन गतिविधि बढाउँदै स्थानीयको रोजगारी तथा आय आर्जनको अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो।
उहाँका अनुसार चालु आवको नीति तथा कार्यक्रमको उद्देश्य पूरा गर्नेगरी उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सव अपि हिमाल गाउँपालिका –१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना गरिने छ । उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाको विभिन्न क्षेत्रमा समेत सञ्चालन गरिने उहाँले बताउनुभयो । एकीकृत पर्यटन उत्सव भएकाले गाउँपालिकाको सबै क्षेत्र लाभान्वित हुने अपेक्षा गरिएको उहाँको भनाइ छ।
नेपाल सरकार र अपि हिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्धन गरिदैआएको छ । अपि हिमाल बेसक्याम्पको पर्यटन प्रवर्धन तथा पर्यटकीय गतिविधि विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको छ । उत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका वडाध्यक्षलगायत सदस्य रहने तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।
पर्यटन गन्तव्य बनाउने लक्ष्य
प्राकृतिक सौन्दर्यले भरिएको अपि हिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । ग्रामीण पर्यटनको विकासमा योगदान पु¥याएको भन्दै सरकारले समेत सम्मान गरेको अध्यक्ष बोहराले बताउनभयो । पर्यटन पूर्वाधार निर्माण र पदमार्ग विस्तारलाई प्राथमिकता दिँदै अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ।
अध्यक्ष ठेकरे बोहराका अनुसार पछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी पर्यटक अपि हिमाल पुग्ने गरेका छन् । यो वर्षभित्र पर्यटकको संख्या १० हजार पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको उहाँले बताउनुभयो ।
अपिहिमाल गाउँपालिका सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यभित्र समेत परेको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा अपि हिमालको तस्बिर सार्वजनिक गरेपछि यसको पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।
‘अबको प्राथमिकता निर्माण भएका पूर्वाधारलाई दिगो बनाउँदै रोजगारी र आयआर्जनसँग जोड्ने छ’ अध्यक्ष बोहराले भन्नुभयो, ‘गाउँपालिकालाई प्रविधिमैत्री, आत्मनिर्भर र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ।’


