धनगढी । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । पुलको एउटा स्पानसँगै बीचको टावरसमेत नदीमा खसेपछि पुलबाट पैदल तथा अन्य कुनै पनि किसिमको आवतजावत गर्न सक्ने अवस्था छैन ।
बुधबार बिहान पुल ‘डिसब्यालेन्स’ भएको सूचना पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरी तत्काल आवतजावत रोकिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । उनका अनुसार बिहान करिब ८ बजेतिर पुलको एउटा भाग नदीमा खसेको हो ।
क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गर्दै प्रजिअ कोइरालाले पुलमा भएको क्षतिको कारण पत्ता लगाउन प्राविधिक अध्ययन सुरु गरिने जानकारी दिए ।
‘झोलुङ्गे पुलको एउटा स्पान, बीचको एउटा टावर नै खसेको अवस्था छ । अहिले आवतजावत हुन सक्ने अवस्था छैन,’ उनले भने ।
पुल कसरी क्षतिग्रस्त भयो भन्ने प्राविधिक कारण पहिचान गर्न सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयको प्राविधिक टोली बोलाइएको छ । टोलीले स्थलगत निरीक्षण गरी पुलको संरचनात्मक अवस्था र क्षतिको कारणबारे अध्ययन गर्नेछ ।
प्राविधिक टोलीको प्रतिवेदनका आधारमा पुलको मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने कोइरालाले बताए । प्रदेश सरकारको क्षेत्राधिकार र क्षमताभित्रबाटै समस्या समाधान गर्न सकिने भए प्रदेशस्तरबाट काम अघि बढाइने र प्राविधिक समस्या जटिल भए संघीय सरकारसँग समन्वय गरिने उनको भनाइ छ ।
‘प्राविधिक विश्लेषणपछि प्रदेश सरकारबाट हुने रहेछ भने त्यसअनुसार अगाडि बढ्छौं । यदि प्रदेश सरकारबाट पनि हुन नसक्ने प्राविधिक समस्या रहेछ भने संघीय मन्त्रालयसँग समन्वय गरेर चाँडोभन्दा चाँडो मर्मत गरी सञ्चालनमा ल्याउने प्रयास गर्छौं,’ उनले भने ।
पुलको एउटा स्पान नै महाकाली नदीमा खसेका कारण अहिले घटनास्थल जोखिमपूर्ण रहेको प्रशासनले जनाएको छ । प्रजिअ कोइरालाले सर्वसाधारणलाई पुलको क्षतिग्रस्त क्षेत्रतर्फ नजान आग्रह गरेका छन् ।
उनले पुल हेर्न वा भिडियो खिच्नका लागि समेत घटनास्थलमा नजान सर्वसाधारणलाई अनुरोध गरेका छन् । प्राविधिक टोलीको प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित निकायसँग समन्वय गरी पुललाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइने प्रशासनको भनाइ छ ।

