काठमाडौं । विश्व तेल बजारमा थप दबाब सिर्जना गर्दै साउदी अरबको पूर्व (पश्चिम तेल पाइपलाइनमा गत बिहीबार ड्रोन आक्रमण भएको छ । आक्रमणपछि साउदी अरबले पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरेको छ ।
करिब १ हजार २०० किलोमिटर लामो यो पाइपलाइनले साउदी अरबका पूर्वी क्षेत्रका प्रमुख तेल उत्पादन केन्द्रबाट लाल सागरस्थित यान्बु बन्दरगाहसम्म दैनिक करिब ४० देखि ५० लाख ब्यारेल कच्चा तेल पुर्याउने क्षमता राख्छ ।
यसले होर्मुज जलघाँटी हुँदै तेल ढुवानी गर्नुपर्ने बाध्यता घटाउँदै आएको थियो । साउदी ऊर्जा मन्त्रालयले आक्रमणपछि पाइपलाइन बन्द गर्ने निर्णयलाई ‘सावधानीका लागि’ गरिएको जनाएको छ । आक्रमणबाट रियाद र मदिना क्षेत्रमा क्षति हुनुका साथै केही व्यक्ति घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् ।
यो घटना फेब्रुअरीमा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण होर्मुज जलमार्गबाट तेलको प्रवाह उल्लेख्य रूपमा घटिरहेका बेला भएको हो । यमनका हुथी विद्रोहीले लाल सागर र बाब अल–मन्देब क्षेत्रमा पनि आक्रमण तीव्र पारेका छन् ।
क्षति कति ठूलो छ ?
पाइपलाइनमा भएको क्षतिको पूर्ण विवरण अझै स्पष्ट भएको छैन । यसको मर्मतमा लाग्ने समयबारे पनि फरक–फरक अनुमान सार्वजनिक भएका छन् ।
रोयटर्ससँग घटनाबारे जानकार स्रोतहरूले मर्मतका लागि पाँचदेखि छ हप्ता लाग्न सक्ने बताएका छन् । यद्यपि, अर्का एक स्रोतले पाइपलाइनको सञ्चालन त्यसअघि नै पुनः सुरु हुन सक्ने बताएका छन् ।
साउदी अधिकारीहरूका अनुसार रियाद र मदिना आसपासका दुई स्थानमा ड्रोनले पाइपलाइनलाई निशाना बनाएका थिए ।
साउदी विदेश मन्त्रालयले आक्रमणबाट पूर्वाधारमा क्षति पुगेको र मानिसहरू घाइते भएको जनाएको छ ।
साउदी अधिकारीहरूले ड्रोन प्रक्षेपण गरिएको स्थान दक्षिण–पूर्वी इराकको मैसान प्रान्त रहेको पत्ता लागेको बताएका छन् ।
यो क्षेत्र इरानको सीमासँग नजिक छ र त्यहाँ इरानसमर्थित सशस्त्र समूहहरूको लामो समयदेखि उपस्थिति रहेको बताइन्छ ।
यसअघि मार्चमा यान्बुस्थित साउदी अराम्को–एक्सनमोबिल रिफाइनरी नजिक पनि आक्रमण भएको थियो ।
त्यसबाट लाल सागर बन्दरगाहबाट हुने कच्चा तेलको ढुवानी केही समय प्रभावित भए पनि केही दिनमै पुनः सामान्य अवस्थामा फर्किएको थियो ।
उक्त घटनाले साउदी अरबको पश्चिमी तेल पूर्वाधार पनि आक्रमणको जोखिमबाट मुक्त नरहेको देखाएको थियो ।
पूर्व–पश्चिम तेल पाइपलाइन के हो ?
पूर्व–पश्चिम तेल पाइपलाइनलाई ‘पेट्रोलाइन’ पनि भनिन्छ। सन् १९८१ मा निर्माण गरिएको यो पाइपलाइन करिब १ हजार २०० किलोमिटर लामो छ ।
यसले साउदी अरबको पूर्वी क्षेत्रमा रहेको अब्काइक आसपासका तेल क्षेत्रबाट उत्पादन हुने कच्चा तेललाई अरब प्रायद्वीप पार गर्दै लाल सागरस्थित यान्बु बन्दरगाहसम्म पुर्याउँछ ।
यसको मुख्य उद्देश्य होर्मुज जलमार्गलाई छल्दै साउदी तेललाई समुद्री बजारसम्म पुर्याउनु हो ।
पाइपलाइनको अधिकतम क्षमता दैनिक ७० लाख ब्यारेल रहेको छ। तर पछिल्ला महिनामा यसको वास्तविक प्रयोग निकै कम थियो ।
केप्लरका अनुसार अगस्टमा यसबाट दैनिक करिब २० लाख ब्यारेल मात्र तेल प्रवाह भएको थियो। यो जनवरीयताकै न्यून मासिक स्तर हो ।
लाल सागरमा हुथी विद्रोहीका आक्रमण बढेपछि उक्त मार्ग प्रयोग गर्न कठिन भएको थियो ।
तर अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएपछि साउदी अरबले पूर्वबाट पश्चिमतर्फ पठाउने कच्चा तेलको मात्रा बढाएर दैनिक करिब ४०–५० लाख ब्यारेल पुर्याएको थियो ।
यो मात्रा विश्वको कुल तेल आपूर्तिको करिब ४–५ प्रतिशत बराबर हो । यसले खाडी क्षेत्रबाट हुने तेल ढुवानीमा अवरोध हुँदा साउदी अरबलाई होर्मुज जलघाँटी छल्न मद्दत गरेको थियो ।
विश्व तेल बजारमा किन महत्वपूर्ण ?
पाइपलाइन बन्द हुनु विश्व तेल बजारका लागि संवेदनशील समयमा भएको छ ।
युद्धअघि होर्मुज जलमार्गबाट विश्वको कुल तेल आपूर्तिको पाँचौँ भागभन्दा बढी अर्थात् दैनिक करिब २ करोड ब्यारेल तेल ढुवानी हुने गरेको थियो ।
तर अहिले रोयटर्सले उद्धृत गरेका उद्योगसम्बन्धी अनुमानअनुसार त्यहाँबाट दैनिक करिब ६० देखि ९० लाख ब्यारेल मात्र तेल प्रवाह भइरहेको छ ।
होर्मुजबाट तेलको प्रवाह घटेपछि साउदी अरबले थप कच्चा तेल लाल सागर हुँदै पठाउने रणनीति अपनाएको थियो ।
तर त्यसका लागि पूर्व–पश्चिम पाइपलाइन, भण्डारण केन्द्र र सुरक्षित रूपमा सञ्चालन हुने ट्यांकर आवश्यक हुन्छन् । युद्धपछि यी सबै पूर्वाधार र मार्ग जोखिममा परेका छन् ।
रोयटर्ससँग नजिकका स्रोतका अनुसार पाइपलाइन लामो समय बन्द रहे यान्बुमा रहेको मौज्दातले करिब पाँचदेखि सात दिनसम्म निर्यात धान्न सक्छ ।
इजिप्टका ऐन सुख्ना र सिडी केरिरमा भण्डारण गरिएको साउदी तेलले थप केही दिन आपूर्ति धान्न सक्ने बताइएको छ ।
तर विश्वभर तेलको मौज्दात यसअघि नै घटिरहेको अवस्थामा यो अवस्था आएको हो ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ९आईईए०का अनुसार अगस्टमा साउदी अरबको तेल आपूर्ति तीन दशकभन्दा बढी समययताकै न्यून स्तरमा पुगेको थियो ।
होर्मुज र लाल सागर क्षेत्रमा भइरहेको अवरोधका कारण यस वर्ष विश्वव्यापी तेल आपूर्ति करिब ५७ लाख ब्यारेल प्रतिदिनले घट्ने आईईएको अनुमान छ । यो विश्वको कुल आपूर्तिको करिब ६ प्रतिशत हो ।
तेलको मूल्य अझै बढ्न सक्ने
अहिलेसम्म विश्व बजारमा रहेको मौज्दात र विभिन्न देशले रणनीतिक तेल भण्डारबाट तेल निकालेर बजारमा पठाएका कारण मूल्यमा ठूलो उछाल आउनबाट रोकिएको छ ।
पछिल्ला महिनामा ब्रेन्ट कच्चा तेलको मूल्य करिब ७० देखि ९० डलर प्रतिब्यारेलको आसपास रहेको छ । तर क्षेत्रीय अवरोध लामो समयसम्म जारी रहे रणनीतिक भण्डारसमेत घट्दै जाने र त्यससँगै तेलको मूल्य बढ्ने जोखिम छ ।
जुनमा आईईएले भण्डारबाट निरन्तर तेल निकालिरहँदा स्थिति महत्वपूर्ण तहमा पुग्न सक्ने चेतावनी दिएको थियो ।
विज्ञहरूका अनुसार तेलको मौज्दात असामान्य रूपमा न्यून भए ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्न सक्ने सम्भावना छ ।
यदि पूर्व–पश्चिम पाइपलाइनमा भएको क्षति ठूलो प्रमाणित भयो र यान्बु तथा त्यसभन्दा अगाडिका समुद्री मार्गमा पनि आक्रमणको खतरा कायमै रह्यो भने साउदी अरबले खाडी क्षेत्रबाट गुमेको तेल निर्यातलाई वैकल्पिक मार्गबाट पूर्ति गर्ने क्षमता सीमित हुन सक्छ ।
गेभकाल रिसर्चले दैनिक १० लाख ब्यारेलभन्दा बढी प्रशोधन गर्ने यान्बु रिफाइनरी हुथी ड्रोनको खतराका कारण बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको असर निकै गम्भीर हुने बताएको छ ।
विश्वभर रिफाइनिङ क्षमता यसअघि नै अत्यन्त दबाबमा रहेका बेला यान्बु बन्द हुनु ‘विश्वका लागि ठूलो विपत्ति’ हुन सक्ने उसको विश्लेषण छ । नेपाल प्रेस

