धनगढी । भारतीय बजारमा चिनीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका उपभोक्तामा परेको छ। पछिल्ला केही सातायता भारतीय बजारमा चिनीको मूल्य बढेपछि यहाँका उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन्।
भारतीय बजारबाट प्रतिकिलो ९० रुपियाँमा खरिद गर्दै आएका यहाँका उपभोक्ताले पछिल्लो समय मूल्यवृद्धिका कारण प्रतिकिलो १३० रुपियाँसम्म खर्च गर्न बाध्य भएका छन्। बेलौरी नगरपालिका–३ का स्थानीय जग्गुराम डगौराले भारतबाट ल्याइएको चिनी यहाँका पसलबाट प्रतिकिलो ९० रुपियाँमा खरिद गर्दै आए पनि अहिले १३० रुपियाँ तिर्नुपरेको गुनासो गरे ।
स्थानीय लोकेन्द्र चौधरीले प्रतिकिलो ४० रुपियाँ मूल्य बढेपछि चिनीको प्रयोग घटाएको बताए । भारतबाट ल्याइएको चिनी भन्सार तिरेर यहाँका उपभोक्तालाई प्रतिकिलो ९० रुपियाँमा उपलब्ध गराउँदै आए पनि अहिले मूल्यवृद्धिका कारण १३० रुपियाँमा बिक्री गर्नुपरेको कलकत्ताका व्यवसायी मनीराम चौधरीले बताए ।
सुदूरपश्चिमभरि हाल कञ्चनपुरका दुई स्थानमा चिनी मिल सञ्चालनमा छन्। दररेट नमिलेकै कारण भारतबाट चिनी ल्याएर बिक्री गर्नुपर्ने बाध्यता रहेको यहाँका व्यवसायीहरू बताउँछन्।
विगतमा भारतीय बजारमा प्रतिकिलो ७० रुपियाँ पर्ने चिनी यहाँका चिनी मिलबाट ९० रुपियाँमा खरिद गर्नुपर्दा उपभोक्ताले नरुचाएकै कारण छिमेकी मुलुकबाट चिनी खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको व्यवसायी हरिस थापाले बताए ।
भारतीय बजारमा चिनीको मूल्य आकासिएपछि अहिले चिनीको मागसमेत घट्दै गएको कतिपय व्यापारीको भनाइ छ। शुक्लाफाँटा नगरपालिका–१० का स्थानीय रमा साउदले विगतमा प्रतिकिलो १०० रुपियाँ पर्ने चिनी अहिले १४० रुपियाँमा खरिद गर्नुपरेको गुनासो गरे ।।

