धनगढी । “सरसापट गरेर भए पनि छोराको जन्मदिन राम्रोसँग मनाइदिनू । ठेकेदारले पनि काम गरेको पैसा दिएको छैन । दुई महिना काम गरेको पैसा बुझेर म दसैँमा घर फर्किन्छु । घरपरिवारको ख्याल गर्दै गर्नू”, भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता हुनुभन्दा अघिल्लो दिन राति श्रीमती सरस्वती चौधरीसँगको पारिवारिक सल्लाहमा खुसीराम चौधरीले उक्त योजना सुनाउनुभएको थियो ।
असारमा धान रोपाइँ सकेर दसैँ मनाउने खर्चको जोहो गर्न ढलान मिस्त्रीका रूपमा काम गर्न रसुवाको लाङटाङ जलविद्युतमा पुगेका कञ्चनपुरको वेदकोट नगरपालिका–५ का खुसीराम चौधरी त्यसयता बेपत्ता हुनुहुन्छ । खुसीरामले अघिल्लो दिन मात्रै फोनमा गर्नुभएको सामान्य लाग्ने त्यो कुराकानी अहिले सरस्वतीका लागि जीवनकै सबैभन्दा ठुलो सम्झना बनेको छ । सधैँ फेसबुकमा भिडियो कल गर्ने खुसीरामले भदौ ९ गते राति खाना खाएर श्रीमतीसँग अडियो कल गर्नुभएको थियो । त्यसयता सरस्वतीलाई फोन आएको छैन । न उहाँको अवस्थाबारे नै कुनै जानकारी आएको छ । श्रीमान् भोटेकोशीको बाढीमा बेपत्ता भएपछि अहिले सरस्वतीको दैनिकी एउटै आशा र प्रतीक्षामा बितिरहेको छ, “कतैबाट श्रीमान्को खबर आउँछ कि रु”
ताप्लेजुङमा रहेका आफन्तले रसुवामा ठुलो बाढी गएको र बाढीले ठुलो जनधनको क्षति पुर्याएको खबर सुनाएयता सरस्वतीले पटक पटक खुसीरामलाई फोन गर्ने प्रयास गर्दै आउनुभएको छ तर खुसीरामको फोन स्विच अफ रहेको र कतैबाट आउने एउटा फोनले जीवनमा फेरि उज्यालो ल्याउन सक्छ भन्ने आशामा उहाँ दिन काटिरहनुभएको छ ।
गोरखापत्रसँगको कुराकानीमा उहाँले सुनाउनुभयो, “श्रीमान् बाढीमा बेपत्ता भएयता अहिले मेरौ दैनिकी भगवान्लाई प्रार्थना गर्ने र दिनभर मोबाइल हेरेर उहाँको अवस्थाबारे जानकारी पाए हुन्थ्यो भन्दै बित्ने गरेको छ । आफन्त र नजिकका शुभचिन्तकले अपरिचित नम्बरबाट गरेको फोनको घन्टी बज्दा कतै उहाँकै खबर पो हो कि रु लाग्छ तर त्यो आशा केही क्षणमै निराशामा बदलिँदै आएको छ ।” गत असारमा धान रोपाइँ सकेर रसुवा पुगेका खुसीरामले बाढी आउनुभन्दा अघिल्लो रात दसैँमा घर आउँछु भनेर सरस्वतीसँग गरेको वाचालाई समातेर उहाँ श्रीमान् फर्किने आशामा हुनुहुन्छ ।
भावुक हुँदै उहाँले भन्नुभयो, “घरअगाडिको खेतमा उहाँले रोपेर जानुभएको धान पाक्ने बेला हुनै लागेको छ तर धान भित्र्याउन घर फर्किन्छु भन्ने श्रीमान् बेपत्ता हुनुहुन्छ । अहिले मोबाइलमा फोन आउँदा उहाँकै खबर हो कि जस्तो लाग्छ तर हरेक पटक अरूको फोन हुन्छ । उहाँको खबर कहिले आउँछ भन्ने थाहा छैन ।”
सरस्वतीको परिवारमा मात्रै होइन, वेदकोट नगरपालिका–५ कै प्रकाश चौधरी र वडा नं। २ का रामचन्द्र चौधरीका आफन्तको मनमा पनि अहिले रसुवा बाढीभन्दा ठुलो बाढी गइरहेको छ । बाढीमा बेपत्ता दाइ राम चौधरीको खोजीमा रसुवा जाने क्रममा बिहीबार राजधानीमा भेटिएका हिरा चौधरीले समेत बाढी गएको दिनदेखि नै परिवारको आशा र पीडासँगसँगै चलिरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “एकातिर दाइ सकुशल भेटिनुहुन्छ भन्ने आशा छ । अर्कातिर लामो समयसम्म कुनै खबर नआउँदा मनमा अनेकौँ प्रश्न उठ्छन् ।”एउटै जलविद्युत्मा काम गर्दै आएका खुसीराम, प्रकार र रामचन्द्रको अवस्थाबारे जानकारी लिन सँगै काठमाडौँ आएका रूपेश चौधरी र सुन्दर चौधरीले पनि आफ्ना प्रियजन भेटिने आशा जीवितै रहेको सुनाउनुभयो । रूपेशले भन्नुभयो, “परिवारका लागि यो केवल एउटा बेपत्ता व्यक्तिको खोजी होइन । अहिले हाम्रा हरेक दिन दाइ भेटिने आशामा बितिरहेका छन् भने हरेक रात चिन्ता र पीडामै बित्ने गरेका छन् ।”
बाढीमा दाइ बेपत्ता भएपछि खोज्दै हिँडेका उहाँहरू घटनास्थल अवलोकनका लागि शुक्रबार दिउँसो रसुवा पुगे पनि लाङटाङ जलविद्युत् आयोजनाको टनेलसम्म पुग्न हेलिकोप्टर मात्रै विकत्प भएपछि प्रभावित क्षेत्रमा पुग्न सक्नुभएको छैन । बाटोमै रोकिनुभएको छ । नदी किनार, बाढी प्रभावित क्षेत्र र सम्भावित ठाउँमा पुगेर आफन्तको खोजीमा लाग्ने तयारी अनुसार कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका जनकसिंह धामी, निराशा चौधरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा परिवारको खोजीमा भौतारिँदै रसुवातर्फ लागेका उहाँहरूले बाढीले धेरै कुरा बगाए पनि दाइलाई भेटेर घर फर्काउने आशा अझै नबगेको सुनाउनुभयो । प्रतिनिधि सभा सदस्य धामीका अनुसार उहाँहरूसहित कञ्चनपुरबाट बाढीमा १३ जना बेपत्ता भएका छन् । शुक्रबार त्रिशूली जलविद्युतबाट दुई जनाको जीवितै उद्धार भएसँगै उहाँहरूको परिवार पनि आफ्ना आफन्त सकुशल रहेको आशासहित चाँडै उद्धार भएर घर फर्किने प्रतीक्षामा हुनुहुन्छ । गोरखापत्र

