धनगढी । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा सोमबार सम्पन्न नेपाल–भारत समन्वय समिति बैठकले बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपत्का समयमा दुई देशबीच तत्काल समन्वय गरी उद्धार, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सहमति गरेको छ।
नेपाल र भारतबीच सीमा क्षेत्रमा हुने विभिन्न गतिविधि, सुरक्षा व्यवस्थापन, विपत् व्यवस्थापन तथा अपराध नियन्त्रणमा आपसी समन्वय थप प्रभावकारी बनाउने उद्देश्यले पिथौरागढमा समन्वय समिति बैठक बसेको हो। बैठकमा दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारीसहित नेपाल तथा भारतका सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्याल तथा भारतको पिथौरागढ जिल्लाका जिल्लाधिकारी आशिष भटगाईंलगायत सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारी सहभागी थिए।
बैठकमा प्राकृतिक विपत्का बेला दुई देशबीच तत्काल सूचना आदानप्रदान गर्ने र आवश्यकताअनुसार उद्धार तथा राहत कार्यमा एकअर्कालाई सहयोग गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए।
उनका अनुसार बाढी, पहिरो, भूकम्पलगायत विपत्सँग सम्बन्धित महत्वपूर्ण सूचना समयमै एकअर्का देशका सुरक्षा निकाय तथा नागरिकसम्म पुर्याउने सहमति भएको छ। विपत्का कारण सीमावर्ती क्षेत्रमा नागरिक प्रभावित भएको अवस्थामा तत्काल समन्वय गरी आवश्यक उद्धार तथा राहतमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि बैठकमा जनाइएको छ।
सीमावर्ती क्षेत्रमा विपत्को जोखिम उच्च हुने भएकाले दुवै देशका स्थानीय प्रशासन तथा सुरक्षा निकायबीच नियमित सम्पर्क र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
सुरक्षा र सूचना आदानप्रदानमा जोड
बैठकमा नेपाल र भारतका सुरक्षा निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा पनि सहमति भएको छ। विशेषगरी सीमा क्षेत्रमा हुने अपराध, तस्करी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदानप्रदान गर्ने विषयमा जोड दिइएको छ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी धामीका अनुसार सीमामा खटिएका नेपाली सुरक्षा निकाय, स्थानीय प्रहरी, भारतीय सशस्त्र सीमा बल ९एसएसबी०, भन्सार तथा अन्य सम्बन्धित निकायबीच थप प्रभावकारी समन्वय कायम गर्ने विषयमा बैठकमा छलफल भएको थियो।

