धनगढी । धादिङको नीलकण्ठ नगरपालिका–९ स्थित पाल्पा धारापानी र साँकोष भन्ने ठाउँबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका २९ जना भोटेकोशीमा आएको विनाशकारी बाढीमा परे ।
ग५ख १२५० नम्बरको रिजर्भ बस १० गते बिहान बेत्रावतीबाट बेपत्ता भएको थियो । गाडी बाढी परेपछि केही तीर्थयात्रीले परिवार तथा आफन्तलाई सम्पर्क गरी आफूहरू घरको छतमा बसेर बाँचिरहेको बताएका थिए । तर त्यसपछि उनीहरूसँग परिवारको सम्पर्क हुन सकेको छैन ।
उनीहरू बेपत्ता भएपछि परिवार र आफन्त काठमाडौंदेखि चितवन, तनहुँ हुँदै पोखरासम्म भौंतारिइरहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला नजिकै शवहरूको चित्र पहिचानका लागि राखिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९३ वटा शव राखिएका छन् ।
न उद्धार गरिएको सूचीमा उनीहरूको नाम भेटिन्छ, न कुनै ठाउँमा शव चिन्न सकिन्छ । परिवार र आफन्त जहाँजहाँ शव लगिएको छ, त्यहाँत्यहाँ भौंतारिइरहेका छौं,’ प्रतिष्ठानको शवगृह बाहिर भेटिएका आफन्त गोकर्ण लम्सालले अनलाइनखबरसँग भने, ‘कोही काठमाडौं त कोही चितवन, कोही तनहुँ र कोही पोखरामा खोजीमा हिँडेका छौं ।’
बेपत्ता भएका २९ जनामध्ये एउटै परिवारका ७ जनासम्म छन् । कसैको परिवारका ४ जना त कसैका श्रीमान्–श्रीमती र सन्तानसमेत रहेको बलराम लम्सालले बताए । ‘लास नभेटिँदासम्म आश त रहन्छ नै । तर अब आश मर्दै जान थाल्यो र शव खोज्दै हिँडेका छौं,’ उनले भने, ‘सबैजसो आफन्त छन् र धेरैजसो लम्साल थरका छन् ।’
शव नभेटिँदासम्म तस्वीर बोकेर पहिचानका निम्ति अस्पतालहरूमा धाइरहेको अर्का स्थानीय कृष्णकुमार श्रेष्ठले बताए । गोरखा आरुघाटका रामशरण कार्की घर आएर रसुवा काममा फर्किएको ३ दिनमात्र भएको थियो । ३८ वर्षीय कार्कीले रसुवा मैलुङ भन्ने ठाउँबाट फोन गरेर बुधबार बिहान काममा जान लागेको परिवारलाई बताएका थिए । तर केहीबेरमै उनीसँग सम्पर्क टुट्यो । उनी कोरियन हाइड्रोपावर कम्पनीको गाडी चलाउँथे ।
रामशरणको बहनी सीता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला बाहिर आफन्तलाई फोन गरेर भन्दै थिइन्, ‘दाइलाई त यहाँ पनि भेटिन्न जस्तो छ, आफैंले शव हेर्न पाए ट्याटु हेरेर चिन्न सक्थें ।’
रामशरणको हातभरि ट्याटु खोपिएको छ । तर पहिचानका लागि राखिएको फोटोमा अनुहार र शरीरको केही भागमात्र देखिन्छ । फोटोले चिन्न गाह्रो भएकाले अरू आफैले शव हेर्न पाए चिनिन्थ्यो कि भन्ने आश उनमा थियो ।
प्रतिष्ठानमा राखिएका ९३ शवमध्ये ७५ वटाको शरीर पखालेर, पहिचान खुल्न सक्ने संकेतहरू उल्लेख गरेर राखिएको थियो । तर बाँकी अब पखाल्नै बाँकी भएकाले ती बाँकी शवमध्ये आफ्नो दाइको पनि पर्न सक्ने उनको भनाइ थियो । सीता श्रीमान्सहित प्रतिष्ठानमा आइपुगेकी थिइन् भने उनका परिवारका अन्य सदस्य चितवन र काठमाडौंका अस्पतालमा भौंतारिइरहेको उनले सुनाइन् ।
‘दाइहरू काठमाडौं जानुभएको छ । दिदीहरू चितवनमा खोज्दै हुनुहुन्छ । हामी पोखरा छौं,’ सीताले सुनाइन् । उनले दाइको पहिचान खुल्ने फोटोहरू देखाइरहेकी थिइन् ।
काठमाडौंका ग्रान्डी अस्पतालमा काम गर्ने डा। आयुश अधिकारी विदेशी पर्यटकहरूको स्वास्थ्य विशेषज्ञका रूपमा गोसाइँकुण्ड गएका थिए । तनहुँका अधिकारी रसुवागढीबाट बेपत्ता भए । उनका भिनाजु मात्रिका ढुंगाना शव पहिचान गर्न सकिन्छ कि भनेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुगेका थिए ।
‘विदेशी पाहुनासँगै स्वास्थ्य समस्या परे उपचार गर्न भनेर उनी गोसाइँकुण्ड गएका थिए । तर उनले कसैको स्वास्थ्य जाँचेर बचाउन पाएनन्, आफैं परे,’ ढुंगानाले भने, ‘परिवारले काठमाडौंतिर खोज्दैछ, कसैले चितवनतिर, यतातिर आएको शवमध्ये पो छ कि भनेर म यहाँ आएको ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर रसुवा बाढीमा बेपत्ताहरूको तस्वीर लिएर आफन्तहरू आइपुगेका थिए । बाढीमा परेकाहरूको शव जहाँजहाँ लगिएको थियो, त्यहाँत्यहाँ आफन्तहरू पहिचानका लागि भौंतारिइरहेका थिए ।
‘बाढीले शव कहाँ पुर्यो थाहा छैन । तर जहाँजहाँ पहिचानका लागि शव राखिएको छ, त्यहाँ त पुग्नैपर्यो,’ धादिङका गोकर्णले अनलाइनखबरसँग भने, ‘भेटिएला, नभेटिएला यसै भन्न सकिएन । तर एकातिर महाबिपत्तिले सबैको मन रोएको छ, अर्कोतिर परिवार र आफन्तले गर्ने संस्कारसमेत प्रभावित हुनेछ ।’ यति ठूलो बिपत्तिमा कसैलाई दोष दिएर नहुने उनको भनाइ थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ९३ शवमध्ये अधिकांश क्षतविक्षत छन् । ७५ जनाको शव राख्न सकिने शवगृहमा कोचाकोच गरेर राखिएका छन् । शवगृहभित्र दुर्गन्ध आइरहेको थियो । शवको फोटो खिचेर प्रयोगशालामा डिस्प्ले गरेर पहिचानका लागि राखिएको छ । तर आफन्तले तस्वीर हेरेर पहिचान गर्न नसकिएको बताइरहेका छन् ।
पोखरामा ल्याइएका १०२ शवमध्ये भक्तपुरका एक जनाको मात्र पहिचान भएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले बताए । पहिचान भएपछि पोस्टमार्टम गरेर शव बुझाइने उनको भनाइ थियो । प्रहरीले शवको फिंगर प्रिन्टसमेत राख्छ । जहाँबाट शव ल्याइएको हो, त्यहीँबाट मुचुल्का गरेर आउने र यहाँ पहिचान भएपछि परिवार र आफन्तलाई बुझाइने कार्कीले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवलपरासी पूर्वका ४१, गोरखाका ११, तनहुँका १४ र धादिङका २७ जना गरी ९३ जनाको शव राखिएका छन् । मणिपाल शिक्षण अस्पतालमा तनहुँमा फेला परेर ल्याइएका ९ वटा शव राखिएका छन् ।
पोखरा विज्ञान प्रतिष्ठान र मणिपालमा ल्याइएको शवका डिस्प्लेमा राखिएका तस्वीर पहिचानका लागि आफन्तहरू पुगिरहेका छन् । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।
अहिलेसम्म भेटिएका शवको संख्या ५०० नजिक पुगिसकेको छ । शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन् । शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलवस्तु जिल्लामा राखिएको छ । अनलाइन खबर

