धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवसको अवसरमा संगठनले सामाजिक उत्तरदायित्व र श्रमिकप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्दै ट्याङकर इकाई समितिका सदस्य तथा चालक योगेन्द्र चन्दलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।
सवारी दुर्घटनामा परी विगत करिब दुई महिनादेखि बेरोजगार भई घरमै बसिरहेका युवा चालक चन्दको आर्थिक अवस्था कठिन बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै संगठन तथा संगठनमा आबद्ध सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. २२ हजार ३ सय ८५ रकम संगठनको प्रदेश कार्यालयमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।
संगठनको ४७औँ स्थापना दिवसको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रमअन्तर्गत उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै संगठनका प्रदेश अध्यक्ष ललित चन्द लगायतका नेताहरूले श्रमिकको दुःख, पीडा र समस्यामा साथ दिनु नै संगठनको प्रमुख दायित्व भएको बताए। उनीहरूले श्रमिक वर्गमाथि आइपर्ने विभिन्न समस्या, दुर्घटना, अन्याय तथा अप्ठ्यारो परिस्थितिमा संगठन सधैँ अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको उल्लेख गरे।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना कालदेखि नै यातायात मजदुरहरूको हक, हित, अधिकार र सुरक्षाका लागि निरन्तर संघर्षरत रहँदै आएको छ। संगठनले श्रमिकहरूलाई परेको अन्यायविरुद्ध आवाज उठाउने, कानुनी तथा नैतिक समर्थन प्रदान गर्ने, विपद् तथा दुर्घटनामा परेका मजदुरहरूको उद्धार तथा राहतका लागि आवश्यक पहल गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।
कार्यक्रममा उपस्थित संगठनका नेताहरुले संगठनको सहयोगले केही राहत पुग्ने विश्वास व्यक्त गरेका थिए। साथै, श्रमिकबीचको आपसी सद्भाव, एकता र सहयोगको भावनालाई अझ बलियो बनाउन यस्ता मानवीय तथा सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाइएको थियो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमको रूपमा नभई श्रमिकको दुःख–सुखमा सहभागी हुने, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने तथा संगठनप्रति श्रमिकहरूको विश्वास अझ मजबुत बनाउने अवसरका रूपमा मनाउँदै आएको छ। यसै क्रममा दुर्घटनामा परेका चालक योगेन्द्र चन्दलाई प्रदान गरिएको आर्थिक सहयोगलाई श्रमिक एकता, मानवीय संवेदना र संगठनात्मक जिम्मेवारीको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
कार्यक्रममा संगठनका पदाधिकारी, ट्याङकर इकाई समितिका प्रतिनिधि, यातायात मजदुर तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित सबैले श्रमिक एकता र सहकार्यलाई अझ सुदृढ बनाउँदै संगठनलाई मजदुरहरूको भरपर्दो सहयात्रीका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।साथै साेहि दिन स्थापना दिवशकाे अवसरमा शुभकामना आदान प्रदान तथा ट्राफिक सचेतना कर्यक्रम समेत आयाेजना गरिएकाे थियाे ।


