धनगढी । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ । परशुराम नगरपालिका–५, परिगाउँ क्षेत्रस्थित महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलको बिओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार तीर्थबहादुरको शव परिगाउँस्थित कल्पठ्ठेथान नजिक महाकाली नदी किनारमा फेला परेको हो । जवान पुनको शव भने कञ्चनपुरको ब्रह्मदेव पारी भारतको टनकपुर क्षेत्रस्थित महाकाली नदी किनारमा भेटिएको छ ।
गत शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजीका क्रममा नदी किनारमा प्रयोग गरिएको ट्युब फेला परेपछि डुबेको आशंकामा खोजी कार्य तीव्र पारिएको थियो ।
तीर्थबहादुरको शव परीक्षण जोगबुडा अस्पतालमा तथा जवान पुनको शव परीक्षण महेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा गरिने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


