धनगढी: यतिबेला बजारमा केराको भाउले आकाश छोएको छ । एक दर्जन केराको खुद्रा बिक्री मूल्य २५० देखि ४०० रुपैयाँसम्म पुगेपछि उपभोग्य बजारमा तरंग नै ल्याएको छ । बाह्रैमास पाइने केरा उपभोगका हिसाबले सर्वस्वीकार्य र कम मूल्यमा पाइने फलफूलमा पर्छ । तर, पछिल्ला दिनहरूमा यही केराको मूल्य स्याउ, सुन्तला, अंगुरलगायतका अरु फलफूलभन्दा पनि महँगो पर्न थालेपछि यसले बजार तताएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो मूल्यसूचीअनुसार केराको बिक्रीमूल्य होलसेल ९थोक० मै २५० रुपैयाँ प्रतिदर्जन रहेको छ । व्यवसायीहरूले खुद्रामा प्रतिदर्जन ३५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा केरा बिक्री गरिरहेका छन् । यसले उपभोक्तालाई निकै मार पारिरहेको छ ।
किन बढ्यो केराको भाउ ?
उसो त केराको मूल्यवृद्धि आजको मात्रै समस्या होइन, गत असोजदेखि नै स्थानीय बजारमा केराको अभावसँगै मूल्यवृद्धिको शृंखला सुरु भइसकेको हो । २ असोज २०८२ देखि नेपाल सरकारले भारतीय केरा आयातमा कडाइ गरेको छ । आयातीत केरामा अघोषित प्रतिबन्धपछि स्थानीय उत्पादनले बजारको माग धान्न नसक्दा केराको मूल्य अस्वाभाविक रूपमा बढ्न गएको हो ।
२ असोजयताको समयावधिलाई हेर्ने हो भने यस अवधिमा ९२ प्रतिशतभन्दा बढीले केराको मूल्यवृद्धि भइसकेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकै मूल्यसूचीलाई आधार मान्ने हो भने २ असोजमा केराको थोक बिक्रीमूल्य प्रतिदर्जन १३० रुपैयाँ थियो । तर, आजको बिक्रीमूल्य प्रतिदर्जन २५० रुपैयाँ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल भारतीय केरा आयातमा कडाइ गर्ने नीति लिएको छ । खासगरी केरामार्फत आउने फुसरम अक्सिपोरम (एफओसी टीआर–फोर) फंगजको खतरा बढेसँगै मन्त्रालयले भारतीय केरा आयातमा कडाइ गर्दै आयात अनुमतिपत्र दिन बन्द गरेको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी एवं वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीले भने, ‘केरा आयातमा प्रतिबन्ध लगाइएको होइन, तत्काललाई आयात अनुमतिपत्र रोकिएको मात्र हो । पशुपन्छी तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको मुख्य उद्देश्य भनेको जैविक सुरक्षा र वातावरणीय असर कम गर्नु हो । सरकारको नीतिअनुसार नै तत्कालका लागि केरा आयातमा कडाइ गरेका हौँ,’ उनले भने ।
खासगरी मालभोग केरामा यो रोगको खतरा बढी देखिएपछि जोखिम रोकथामका लागि आयातमा कडाइ गर्नुपरेको अधिकारीको भनाइ छ । ‘विशेषतस् सुरक्षा थ्रेट देखिएकैले केरा आयातमा कडाइ गर्नुपरेको हो । मालभोग केरामा टीआर–फोर ढुसी रोगको भेरियन्ट रेस १, रेस २, रेस ३ भित्रिइसकेको अवस्थामा थप अरु भेरियन्ट नभित्रियोस् भनेर सुरक्षाका लागि आयात अनुमति रोकिएको हो,’ अधिकारीले भने ।
पछिल्ला दिनमा केराको स्थानीय उत्पादन बढ्दै गर्दा टीआर–फोरजस्तो संक्रमणयुक्त रोग भित्रिएमा केराको उत्पादनमा ह्रासको स्थिति आउन सक्ने खतरा रहेको उनको भनाइ छ । यस रोगले केराको बोटै मास्नेदेखि जैविक विविधतामा समेत असर पार्ने हुँदा रोकथामका लागि पूर्वतयारी गर्नुपरेको उनको भनाइ छ । ‘पूर्वतयारीको रूपमा टीआर–फोर ढुसीको रोकथाम वैज्ञानिक रूपमा गर्न विभागले काम गरिरहेको छ । रोग कहाँबाट आउँछ, के कसरी रोकथाम गर्न सकिन्छ भनेर अनुसन्धानसँगै रोकथामका काम पनि गरिरहेका छौँ,’ अधिकारीले भने ।
हाल कैलाली र कञ्चनपुरका केही फार्ममा यो रोग देखिएपछि केरा आयातमा कडाइ गरिएको अधिकारीले बताए, जसको असर उपभोग्य बजारमा पर्न गएको छ । यद्यपि, भारतीय केरा आयातमा कडाइ गरिएपछि यता स्थानीय उत्पादनले बजार पाएकोमा कृषकहरू भने खुसी छन् । पहिलोपटक त्यो पनि उचित मूल्यमा उत्पादित केराले बजार पाएको उनीहरूको भनाइ छ ।


