धनगढी । अनलाइन गेम खेलाउने बहानामा लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार अनलाइनमार्फत गेम खेलाएर रकम ठगी गरेको आरोपमा भाटलाई पक्राउ गरिएको हो। कञ्चनपुरको वेदकोट नगरपालिका निवासी एक महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
भाटलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा अनलाइन गेममार्फत ठगी गरिएको रकम भाटको खातामार्फत कारोबार भएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी शाहीले जानकारी दिए। यस घटनामा कैलालीको अत्तरिया क्षेत्रका केही व्यवसायी तथा राजनीतिक पहुँच भएका युवाको समेत संलग्नता रहेको स्रोत बताउँछ । स्रोतका अनुसार भाटमाथि थप अनुसन्धान अघि बढाइए कैलाली हुँदै काठमाडौंसम्म फैलिएको गिरोह उजागर हुने देखिएको छ।


