धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद ९इद–उल–फित्र० ले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचाराको भावना अझ सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
इद–उल–फित्र २०८२ को अवसरमा शनिबार जारी शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।
प्रदेश प्रमुख मियाँले पवित्र रमजान महिनाको समाप्तिसँगै मनाइने यस पर्वले त्याग, संयम, अनुशासन र परोपकारजस्ता मानवीय मूल्यहरूको सन्देश दिने उल्लेख गर्नुभयो। उहाँले इदले विगतका मनमुटाव बिर्सेर आपसी मेलमिलाप, सहिष्णुता र सहकार्यको भावना अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गर्नुभयो।
शुभकामना सन्देशमार्फत उहाँले पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, समन्वय र राष्ट्रिय एकताको भावना बलियो बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन प्रेरणा दिने अपेक्षा व्यक्त गर्नुभएको छ।

