धनगढी । २०४८ सालदेखि निरन्तर संसदीय राजनीति ९दुई वटा संविधान सभा निर्वाचनसहित०मा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई निर्वाचित गर्दै आएका डडेलधुरावासीका लागि आसन्न प्रतिनिधि सभा निर्वाचनले फरक अनुभूति दिएको छ ।
आसन्न निर्वाचनमा देउवा उम्मेदवार नभएका कारण डडेलधुराका कतिपय मतदाता खिन्न देखिएका छन् । केहीले भने देउवाको अभावलाई ‘परिवर्तनको सुरुवात’का रूपमा पनि ग्रहण गरेका छन् ।अमरगढी नगरपालिका–५ का मतदाता मनोरथ पन्त ०३६ सालदेखि आफू कांग्रेस कार्यकर्ता रहेको बताउँछन् । ०४८ सालको प्रतिनिधि सभा निर्वाचन यता हरेक संसदीय चुनावमा आफूले देउवालाई नै मत दिएको उनको भनाइ छ ।
डडेलधुराका लागिमात्र नभएर देशकै राजनीतिमा देउवाको ठुलो योगदान रहेको पन्तले बताए । ‘हाम्रो भूगोललाई देशभरमात्र होइन, विदेशमा पनि देउवाले चिनाएकै हो,’ उनले भने, ‘मेरो घर डडेलधुरा हो भनेर अहिले हामी जुनसुकै जिल्लामा जाँदा पनि हामीलाई देउवाकै जिल्लावासी भनेर मानिसले चिन्छन् ।’
०४८ साल यता डडेलधुरामा विकास भएको उनको जिकिर छ । उनले भने, ‘यहाँका विद्यार्थी बीएड पढ्नका लागि काठमाडौँ जानुपर्ने अवस्था थियो । देउवाले यहीँ बीएड पढ्नका लागि कलेज खोलिदिए । बाटोघाटोका काम पनि भएकै हुन् ।’
देउवा आफैँमा खराब नभएर उनका निकटका केही व्यक्ति र व्यक्तिगत स्वार्थपूर्ति गर्न खोज्ने केही कार्यकर्ताका कारण डडेलधुराका जनतामा यदाकदा असन्तुष्टि देखिएको पन्तले प्रस्ट पारे । उनले भने, ‘उनी आफैँ खराब मान्छे होइनन्, उनका आफन्तले बदनाम गरे । उनी त प्रजातन्त्रका लागि ठुलो सङ्घर्ष गरेका नेता हुन् ।’
देउवाविनाको चुनावलाई अब परिवर्तनको पक्षमा उपभोग गर्ने योजना उनले सुनाए । उनले भने, ‘अब त केही सोच्नै परेन, परिवर्तनको पक्षमा उभिने हो ।’
अमरगढी–९ का ज्येष्ठ नागरिक भोजराज भट्ट पनि उम्मेदवारी दर्ताको समयमा देउवा नै उम्मेदवार बन्लान् भन्ने आशा गरेको बताउँछन् । उनले भने, ‘यतिन्जेल देउवा नै भनियो । उनको पनि उमेर त भइसक्यो । म पनि बुढो भइसकेँ । एकफेर उनी नै उम्मेदवार भइदिएको भए हुन्थ्यो भन्ने लागेको हो, तर चुनाव लडेनन् ।’
देउवालाई माया नगरेको ‘रुख’ले अरूलाई के गर्ला र भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको भट्टले बताए । उनले भने, ‘छोरा–नातिले त पहिला नै परिवर्तनको पक्षमा लाग्न कर गर्थे, अब त छोरा–नातिकै लागि पनि मत फेर्नुपर्ला ।’
गन्यापधुरा गाउँपालिका–४ की निता भट्ट पनि अब नयाँले मौका पाउनुपर्ने बताउँछिन् । ‘नयाँ नै रोज्नु परेपछि पुराना पार्टीका नयाँभन्दा पनि परीक्षण नै नभएका नयाँलाई मौका दिनुपर्छ,’ उनले भनिन् ।
सिप भएकालाई स्वदेशमै उचित रोजगारीको अवसर सिर्जना होस् भन्ने आफ्नो मुख्य चाहना रहेको निताले बताइन् । उनले भनिन्, ‘रोजगारी नभएका कारण श्रीमान् अहिले मुम्बईमा काम गर्नुहुन्छ । गाउँमा बच्चा पढाउनका लागि राम्रो स्कुल छैन । पढेर ठुला भएपछि काम पाइँदैन ।’
रोजगारीको अभावमा परिवार एकसाथ बस्न नपाइएको उनको गुनासो छ । कुनै न कुनै घरबाट कोही न कोही वैदेशिक रोजगारीमा गएको र उसैको कमाइले जीविकोपार्जन हुने गरेको उनले बताइन् ।
अमरगढी–९, लटसेराका ईश्वरी भाट पनि मुलुकले परिवर्तन खोजेको बताउँछन् । उनले भने, ‘यसअघि विकासको काम नभएको त होइन, तर एक लाखको बजेट ल्याउँदा २० हजारको काम गर्ने, बाँकी ८० हजार बाँडीचुँडी खाने गरिदिएका कारण जति विकास हुनुपर्ने हो, त्यति हुन सकेन ।’
भाट स्थानीय समाजसेवी पनि हुन् । आफ्नो गाउँमा प्राथमिक विद्यालय खोल्नका लागि ७ रोपनी, स्वास्थ्य चौकी स्थापनाका लागि ४ रोपनी र वडा कार्यालय स्थापनाका लागि २ रोपनी जग्गा आफूले दान गरेको उनले सुनाए ।
युवा अवस्थामा २० वर्ष मुम्बई गएर ‘भाँडा माझेर’ छोराछोरीलाई पढाएको भाटले बताए । मुम्बईबाट फर्केर आएपछि ऋण गरेर केही समय ठेकेदारी गरेको तर विभिन्न तहमा कमिसन बुझाउनु परेपछि त्यो पेसा त्यागेको उनको भनाइ छ ।
भाटले भने, ‘यहाँको सिस्टम नै खराब छ । बाटोघाटोको सुविधा त भयो तर विकाससँगै विनाश पनि भयो ।’ नेपाली युवालाई स्वदेशमै रोजीरोटीको व्यवस्था हुनुपर्ने उनको जोड छ ।
राजनीतिलाई कतिपयले कमाउने माध्यम बनाएकोमा उनको आक्रोश छ । ‘गाउँमा खान नपाउने अवस्थाका कतिपयले दलका झण्डा बोकेकै भरमा काठमाडौँमा घर बनाए,’ उनले भने, ‘यहाँ खान–लाउन सक्ने हैसियत भएकाहरूको चाहिँ त्यसरी प्रगति हुन सकेन । उनीहरूको अवस्था जस्ताको तस्तै छ ।’
अमरगढी–८ का कृष्णदत्त पाण्डे अपेक्षा अनुसार विकासको गति नभएको तर्क गर्छन् । ‘पार्टी पनि पुरानो, सोच पनि पुरानै भयो,’ उनले भने, ‘बाटोघाटोमात्र विकास होइन, रोजगारी खोइ ?
राजाका पालामा खुलेका कलकारखाना सबै पुराना दल र तिनका नेताहरूले ‘बेचेर खाएको’ पाण्डेको आरोप छ । उनले भने, ‘भोट माग्न आएका थिए, मैले त भनिदिएँ– अब देशमा सिद्ध्याउन के बाँकी छ र तिमीहरूलाई फेरि भोट दिनु ? रोतो पाटी अनलाइन


