धनगढी: नेकपा एमालेले सुदूरपश्चिमका १६ सिटमध्ये आफूलाई सबैभन्दा सुरक्षित ठानेको क्षेत्र हो कैलाली–४, जुन क्षेत्रबाट चुनाव लड्दै छन्, एमालेका उपमहासचिव लेखराज भट्ट । तर, यो निर्वाचन क्षेत्रमा विगतका निर्वाचनमा एमालेको प्रदर्शन भने निकै निराशाजनक छ । २०६४ सालयता उक्त निर्वाचन क्षेत्रमा एमालेले जित्न सकेको छैन । प्रतिनिधिसभा निर्वाचन, २०७९ बाहेक यस अवधिको अरु निर्वाचनमा एमालेका उम्मेदवार खास प्रतिस्पर्धीसमेत बन्न नसकेको खराब स्थिति छ ।
कैलाली–४ बाट कांग्रेस र तत्कालीन माओवादी केन्द्रका उम्मेदवारहरूले नै आलोपालो निर्वाचन जित्दै आएका छन् । उसो त विगतदेखि सोही क्षेत्रबाट चुनाव लड्दै आएका भट्ट एक चुनाव बिराएर जित निकाल्न सफल भइरहेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका भट्ट २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनी फेरि २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भए । २०७० सालमा भट्टलाई कांग्रेसका दीर्घराज भाट र २०७९ सालको निर्वाचनमा कांग्रेसका वीरबहादुर बलायरले पराजित गरेका थिए ।
२०६४ र २०७४ सालमा निर्वाचन जित्दा भट्ट माओवादीबाट उम्मेदवार थिए । एमालेबाट पहिलोपटक २०७९ सालको निर्वाचन लडेका भट्ट बलायरसँग साढे ३ हजार बढी मतान्तरले पराजित हुन पुगेका थिए । तर, यसपटक कांग्रेसका बलायरले फिल्ड छोड्दा प्रदेशभरका १६ सिटमध्ये एमालेलाई जित्न सबैभन्दा सहज कैलाली– ४ नै रहेको एमालेको विश्लेषण छ । एमालेको गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंह कैलाली– ४ मा लेखराजको सहज जित हुने दाबी गर्छन् । ‘हाम्रो प्रतिस्पर्धा कांग्रेससँगै हो,’ उनी भन्छन्, ‘तर, कांग्रेसले २०७९ सालमा पनि डोटीबाट ल्याएर उम्मेदवार बनायो र अहिले पनि बाहिरबाट नै आएकालाई उम्मेदवार बनाएको छ । त्यस कारण कैलाली– ४ मा हामी सहजै जित्छौँ ।’
भट्टले पदमा हुँदा थुप्रै विकासका काम गरेको दाबी सन्तोष सिंहको छ । ‘उहाँको काम कैलाली– ४ का मतदाताले रुचाएका छन् । कामकै आधारमा उहाँको सहज जित हुन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । भट्ट धनगढी–दिपायल द्रुत मार्ग र गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आफ्नै पहलमा बनेको भन्दै भोट मागिरहेका छन् । दुवै आयोजनालाई पूर्णता दिन संसदमा आफ्नो आवश्यकता पर्ने तर्क भट्टको छ । नेपाली कांग्रेसले भने गोरखबहादुर विष्ट (आनन्द) लाई कैलाली– ४ मा उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर यो क्षेत्रबाट चुनाव लड्न इच्छुक थिए । शेरबहादुर देउवाकै हस्ताक्षरमा टिकट लिएर चुनाव उठ्न चाहन्थे उनी । उनकै चाहनाअनुसार क्षेत्र, जिल्ला र प्रदेश समितिले केन्द्रमा नाम सिफारिस पनि गरेको थियो । तर, विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि बलायरको योजनामा ब्रेक लाग्न पुग्यो ।
तथापि, नवनियुक्त सभापति गगन थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका बलायरलाई कैलाली– ४ को टिकट दिएका थिए । तर, बलायरले अन्तिम समयमा चुनाव नलड्ने घोषणा गरे । बलायर चुनाव नलड्ने भएपछि थापाले अमेरिकास्थित कांग्रेसको नेपाली जनसम्पर्क समितिका सभापति विष्टलाई टिकट दिए । थापाले अहिले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेपिरहेका छन् । अर्कोतर्फ सोही क्षेत्रबाट अघिल्लो चुनाव जितेका प्रदेश सभापति बलायर पनि खुलेर चुनावी अभियानमा देखिएका छैनन्, जसका कारण कांग्रेसलाई आफ्नैबाट घातको डर छ ।
‘पार्टीभित्र घात नगरे विष्टको जित सुनिश्चित छ,’ कांग्रेस कैलालीका एक नेता भन्छन्, ‘तर, कांग्रेसबाटै घात भएपछि दोस्रो हुन पनि मुस्किल पर्छ ।’ कैलाली–४ को भौगोलिक विकटता, बेरोजगारी, गरिबी, पूर्वाधार अभाव, शिक्षा र स्वास्थ्य क्षेत्रका चुनौतीलाई सम्बोधन गर्ने आफूसँग स्पष्ट कार्ययोजना रहेको भन्दै विष्ट भोट मागिरहेका छन् । पूर्वाधार विकासतर्फ सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी तथा सरसफाइ विस्तार र विद्युत् सेवा सुदृढीकरण गर्ने योजना विष्टले अगाडि सारेका छन् । उनले प्रत्येक वडामा निःशुल्क वाइफाइ जोन, इ–लाइब्रेरी तथा डिजिटल सीप तालिम सञ्चालन गरिने बताएका छन् ।
कैलाली–४ बाट नेकपाले हरिराम चौधरीलाई चुनावी मैदानमा उतारेको छ । एमालेका उम्मेदवार लेखराज र नेकपा उम्मेदवार हरिराम पूर्वसहकर्मी हुन् । दुवै उम्मेदवार माओवादी पृष्ठभूमिका हुन् । लेखराज माओवादीबाट एमाले जाँदा चौधरी भने माओवादीमै रहेका थिए । माओवादी सुदूरपश्चिमका अध्यक्ष भइसकेका चौधरीसँग राष्ट्रियसभा सदस्य भएर काम गरिसकेको अनुभव छ । चौधरीको उम्मेदवारीले बलायरले फिल्ड छोड्दा जित निकाल्न सहज हुने भन्दै हौसिएका एमाले उपमहासचिव भट्टलाई अहिले आफ्नै पूर्वसहकर्मीबाट चुनौती थपिएको छ । नेकपा उम्मेदवार चौधरी अहिलेका युवाहरूका माग आफ्नो पार्टीले विगतमै उठाएको भन्दै ती माग पूरा गर्नका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।
‘देशमा कार्यकारी प्रमुखको एजेन्डा हामीले विगतमै उठाएका थियौँ,’ उनी भन्छन्, ‘तर, हाम्रो कुरा कसैले सुनेनन् । अहिलेका युवाहरूले भने सुनेका छन् । त्यो एजेन्डा पूरा गर्न र भ्रष्टाचारमुक्त देश बनाउने अभियानअन्तर्गत हामी उम्मेदवार बनेका हौँ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भने देशभर आफ्नो पक्षमा लहर देखिएको भन्दै सोही लहरलाई कैलाली– ४ मा पनि जितमा बदल्ने दाबी गरिरहेको छ । रास्वपाले सुरुवातमा कैलाली–४ को टिकट हरि रेग्मीलाई दिएको थियो । उनले उम्मेदवारी पनि दर्ता गराइसकेका थिए । रेग्मीको टिकट खोस्दै सोही दिन खेमराज कोइरालाले पनि अर्को टिकट ल्याएर उम्मेदवारी दर्ता गरे ।
कोइरालले उम्मेदवारी कायम भएको केन्द्रको पत्र ल्याएपछि निर्वाचन अधिकृतको कार्यालयले रेग्मीको मनोनयन हटाएको थियो । अहिले कोइराला नै रास्वपाबाट चुनावी मैदानमा छन् । टिकट वितरणमा भएको असन्तुष्टिले रास्वपा कैलाली– ४ मा कमजोर रहेको अन्य दलहरूको बुझाइ थियो । तर, रास्वपा नेताहरू भने कैलाली–४ मा आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्छन् । ‘कैलाली– ४ मा हाम्रो पोजिसन निकै राम्रो छ । टिकटबाट वञ्चित गराइएका रास्वपा नेता रेग्मी भन्छन्, ‘विगतमा गरेका काम र पुराना दलप्रतिको वितृष्णाले रास्वपाप्रति मतदाता निकै सकारात्मक छन् । हामी सहज जित निकाल्छौँ ।’


