डडेलधुरा — नेपाली कांग्रेस अमरगढी नगर समितिकी नगरसचिव देवकी भट्टले पार्टीको जिम्मेवारी र साधारण सदस्यता दुवैबाट राजीनामा दिएकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिएको घोषणा गरेकी हुन् ।
कांग्रेसमा लामो समय सक्रिय रहँदै आएकी भट्टले ऐतिहासिक पार्टीमा काम गर्दा गौरवको अनुभूति भएको उल्लेख गरेकी छन् । राणा शासनविरुद्धको आन्दोलनदेखि प्रजातन्त्र प्राप्ति र पछिल्ला राजनीतिक परिवर्तनसम्म कांग्रेसले जनताको पक्षमा गरेको संघर्षले आफूलाई प्रभावित बनाएको उनको भनाइ छ । बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहलगायत अग्रज नेताहरूको त्याग, समर्पण र निष्ठाबाट प्रेरित भएरै कांग्रेससाग आबद्ध भएको उनले स्मरण गरेकी छन् । तर हाल पार्टीभित्र देखिएको व्यवहार, सोच र दृष्टिकोणले ऐतिहासिक मूल्य–मान्यतासँग मेल नखाने अवस्था सिर्जना भएको उनको आरोप छ ।
स्थानीय तहदेखि केन्द्रसम्म इमान्दार, लगनशील र योग्य कार्यकर्ताको मूल्यांकन न्यून हुँदै चाकडी, चाप्लुसी, नातावाद र कृपावाद हावी भएको भन्दै पार्टी रूपान्तरण लगभग असम्भव जस्तै बनेको उनले बताएकी छन् ।


