धनगढी — टीकापुर घटनापछि राष्ट्रिय राजनीतिमा निरन्तर चर्चामा रहँदै आएको कैलाली निर्वाचन क्षेत्र नम्बर १ यस पटक झन् पेचिलो मोडमा पुगेको छ। विगतका चुनावमा रेशम चौधरीको प्रभाव क्षेत्र मानिएको यो क्षेत्रमा अहिले पुरानो समीकरण पूर्ण रूपमा भत्किएको छ। टीकापुर घटनाका मुख्य योजनाकार ठहरिँदै अदालतबाट सजाय भुक्तान गरेका रेशम चौधरी २०७४ सालमा फरार अवस्थामै यस क्षेत्रबाट निर्वाचित भएका थिए। राष्ट्रिय जनता पार्टी नेपालको टिकटमा चुनाव जितेपछि उनले आत्मसमर्पण गरेका थिए। जेलमै रहँदा उनकी पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन भयो।
२०७९ सालको निर्वाचनमा रञ्जिता श्रेष्ठ कैलाली–१ बाट निर्वाचित भइन्। रेशमको प्रभावका कारण उनले सहज जित निकालिन्। सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फ जित्ने उनी एकमात्र महिला सांसद थिइन्। तर अहिले परिस्थिति फेरिएको छ। पति–पत्नीबीचको मनमुटावले पार्टी विभाजित भइसकेको छ। रेशमले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गरेका छन्। स्वयं रेशम उम्मेदवार बन्न चाहेका थिए, तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो। रोचक त के छ भने, अहिले कैलाली–१ मा न त नाउपा न त नाउपा नेपालले उम्मेदवारी दिएको छ।
नयाँ समीकरण, नयाँ खेल
रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), भीम रावल समूह एकीकृत भई बनेको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ। सो गठबन्धनले टीकापुर नगरपालिकाका निवर्तमान मेयर रामलाल डगौरा थारुलाई उम्मेदवार बनाएको छ। २०७९ मा मेयर जितेका डगौराले पद त्यागेर संसदीय दौडमा होमिएका हुन्। अर्कोतर्फ, रेशमको प्रभाव अझै निर्णायक हुन सक्ने आँकलन छ। उनको समर्थन कसलाई जान्छ भन्ने प्रश्नले नै चुनावी परिणाम प्रभावित पार्न सक्छ।
नाउपाकी पूर्व केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मैदानमा छिन्। त्यस्तै, प्रदीपकुमार चौधरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन्। एउटै मत बैंकमा धेरै दाबी हुँदा मत विभाजन निश्चित देखिन्छ।
पुराना दलको अवसर ?
२०७९ को समानुपातिक मत परिणाम हेर्ने हो भने नाउपा यहाँ २७ हजार ४०६ मतसहित सबैभन्दा बलियो थियो। कांग्रेसले ११ हजार ३९५, माओवादीले ७ हजार ९९२, एमालेले ५ हजार २१५ र राप्रपाले ४ हजार १०३ मत पाएका थिए। रास्वपाले २ हजार ५१७ मत ल्याएको थियो। तर अहिले नाउपा विभाजित छ। त्यसको मत विभिन्न धारमा बाँडिने देखिन्छ। यस्तो अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता परम्परागत दलले आफ्नो संगठन जोगाउँदै असन्तुष्ट मत तान्न सके अप्रत्याशित नतिजा निकाल्न सक्छन्।
कांग्रेसले यस पटक जनकराज चौधरीलाई उम्मेदवार बनाएको छ भने एमालेबाट द्वारिकाप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरू पनि उल्लेख्य संख्यामा मैदानमा छन्। कुल १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
मतदातामा वितृष्णा
टीकापुर र आसपासका मतदातामा दलप्रति असन्तुष्टि प्रष्ट देखिन्छ। विकास निर्माणका काम ठप्प हुनु र निर्वाचित प्रतिनिधिहरू जनतामाझ नफर्कनु प्रमुख गुनासो बनेको छ। टीकापुरका विवेक रावल भन्छन्, “यहाँ अनुहार फेरिन्छ, प्रवृत्ति फेरिँदैन। यस पटक फरक नतिजा आउँछ।” स्थानीय सुनिता चौधरी पनि यस पटक विकल्प खोज्ने मनस्थितिमा छिन्। “हामीले आफ्नै समुदाय भनेर भोट दियौँ, तर झगडामै समय बित्यो,” उनले भनिन्।
इतिहास भन्छ—मतदाता बदलिन्छन्
कैलाली–१ को चुनावी इतिहासले पनि मतदाताको मनोविज्ञान बदलिने देखाउँछ। २०४८ देखि २०७९ सम्म यहाँ प्रायः प्रत्येक चुनावमा फरक दल र व्यक्ति निर्वाचित हुँदै आएका छन्—कांग्रेस, एमाले, माओवादी, फोरम लोकतान्त्रिक, नाउपा सबैले पालैपालो अवसर पाएका छन्। यस पटक विभाजित नाउपा, नयाँ गठबन्धन, स्वतन्त्र उम्मेदवारको लहर र मतदाताको वितृष्णाबीच कैलाली–१ को नतिजा कसको पक्षमा जाने हो भन्ने चासो उच्च छ।
रेशमको ‘गढ’ भनिएको यो क्षेत्र अब कसको पोल्टामा पर्छ—यसको जवाफ मतपेटिकाले मात्र दिनेछ।


