धनगढी । डोटीमा घरभित्र राखेको भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा ३० वर्षीय कलम धामीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धामी दुर्गा सिंह कुडमालको घरमा बिजुली वायरिङको काम गरिरहेका थिए ।
सोही क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक पड्किएको थियो । बन्दुक पड्किँदा निस्किएको छर्रा धामीको बाँया कन्चटमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा टोली खटिएको छ ।


