अधिकाशं मानिसको बाल्यकाल स्कुल पढ्ने र रमाइलो गर्नमै बित्छ । घरको काममा सहयोग गर्न समेत परिपक्क नहुने बाल्यकाल सामाजिक काममा सक्रिय हुने त कुरै भएन । तर देश तथा बिदेशमा चर्चित बनेका केपी खनाल १२ बर्षको उमेरबाटै सामाजिक कार्यमा सक्रिय छन् । सरसफाई अभियानबाट कान्छा अभियान्ताका नामले चर्चित बनेका खनाल कैलालीको लम्कीचुहा नगरपालिकाका स्थाई बासिन्दा हुन् ।
फोहोरलाई शत्रु ठान्ने ती अभियन्ता हुन् युवा, केपी खनाल । सानै उमेरमा भए पनि उदाहरणीय कामले उनको नाम अगाडि अभियन्ताको विशेषण थपिदिएको छ । त्यो उनको पौरखले आर्जन भएको सम्पत्ति हो । राम्रो काम चाहे त्यो सानो नै किन नहोस्, चाहे त्यो भर्खरै सुरु भएको किन नहोस्, सत्कर्म गर्ने जो कोहीलाई संसारले चिन्ने माध्यम बन्न सक्छ । आफू त उदाहरणीय छन् नै भर्खरका युवाहरुलाई समेत सकारात्मक कार्यमा लाग्ने प्रेरणा बनेका छन् केपी । त्यसो त उनको समाज र देश परिवर्तन गर्न विरोध हैन, सकारात्मक काम नै गर्नुपर्छ भन्ने सोच कुनै पवित्र धर्मग्रन्थले दिने परोपकारी भावनाभन्दा कम छैन ।
‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने मर्म हृदयमा राखेर अघि बढिरहेका खनालको नन्म वि. सं. २०५६ साल पुस २७ गते अछाम जिल्लाको रामारोशन गाउँपालिकामा भएको हो । उनलाई देशको ’कान्छो सामाजिक अभियन्ताका रूपमा चिनिन्छ । अछामको रामारोशनमा जन्मिएका केपी खनालले प्रारम्भिक शिक्षा पनि अछाम जिल्लामा नै पूरा गरे । त्यसपछि उनी कैलालीको लम्की आए र त्यतै यतै हुर्केर अघी बढे । कक्षा १२ सम्मको शिक्षा लम्कीकै राष्ट्रिय माध्यमिक बिद्यालयबाट पुरा गरेका खनाल स्नातक तहको शिक्षाका लागी काठमाण्डौँ झरे । खनालले टेक्सस इन्टरनेश्नल कलेज काठमाण्डौँबाट सोसल वर्कमा स्नातनक गरिसकेका छन् ।
खनाल ६ कक्षा पढ्दादेखि नै रेडियोमा बाल पत्रकार भएर काम गर्दै सामाजिक क्षेत्रमा लागेका थिए । कैलालीको लम्कीचुहा स्थित रेडियो नमस्तेमा बाल कार्यक्रम चलाएर सामाजिक कार्य शुरु गरेका खनालले गरिबीका कारण बाल मजदुरको रूपमा भारतको मुम्बईस्थित मिरारोडको होटलमा काम पनि गरेका थिए । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल फर्केर उनी ’प्लस टु’ पढ्दै गर्दा गाउँघरमा सरसफाइ अभियान, गरीब असहायलाई राहत वितरण जस्ता सामाजिक कार्यमा सक्रिय भए । पछि उनी ’प्लस टु’ को पढाइ सकाएर उच्च शिक्षाका लागि गए । काठमाडौँ पुगेको एक महिनामै ‘क्लिन काष्ठमण्डप’ नामको अभियान अन्तर्गत “म बदलिन्छु अनि मेरो देश बदलिन्छ” भन्ने भावसहित सफाइ अभियानको सुरुवात गरे ।
बिहान क्याम्पस पढ्न जादाँ आफूजस्तै विद्यार्थीहरुले चुइँगम, चकलेट खाएर बाटोभरि फोहोर गर्थे । सधैँजसो यस्तो दृश्य देखिसकेपछि हो, उनलाई आफू बदलिए देश बदलिन्छ भन्ने सोच पलाएको । उनले सुरुमा त यो अभियानका लागि फेसबुकको सहारा लिए । त्यसपछि अरुले पनि यो अभियानलाई साथ दिनथाले । उनी भन्छन्, ‘आखिर सकारात्मक कामको सपोर्ट गर्ने मान्छेको कमी कहाँ छ र ! सुरु गर्ने मान्छेको अभाव छ समाजमा ।’ धेरै मान्छेलाई बस्न दिने काठमाडौंलाई मान्छेले नै बस्न नदिएको उनी बताउँछन् । जताततै फोहोर नै फोहोरले काठमाडौंको सौन्दर्य कुरुप पार्दै जाँदा उनको फोहोर नगर्न अभियान सुरु भएको हो ।
तर यस्तो काम केपी एक्लैले चाहँदा मात्रै सम्भव हुँदैन । त्यसैले त उनी बार र रेष्टुरेन्ट धाउने युवा वर्गलाई यो अभियानमा ल्याउन चाहान्थे । आफ्नो गाउँलाई एकदमै माया गर्ने केपीलाई त्यही मायाले उपत्यकामा फोहोर नगर्ने अभियान सञ्चालन गर्न उत्साहित बनायो । अभियानमा धेरैको साथ र सहयोग पाएपछि उनले आफ्नै गाउँ कैलाली धनगढी, नेपालगञ्ज, काठमाडौँ, चितवन, विराटनगर, इनरुवा, सुनसरीलगायतको ठाउँमा सफाइ अभियान चलाए । सफाइ अभियन्तामात्रै नभई अब उनी विस्तारै परोपकारमा पनि संलग्न हुँदै छन् । घरवारविहीन बालबालिकाको लागि अनाथ आश्रम निर्माण गर्ने उनको लक्ष्य थियो । सुदूरपश्चिमको विकट बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित ‘कन्सर्न बाजुरा’ नामक संस्थाले तीन वर्षदेखि बाजुराका १२ जना अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको थियो । त्यसका लागि बालगृह बनाउन उनले ५० लाख रुपैयाँ लागत रकम जुटाउने अभियानमा लागे र सफल पनि भए । शिलान्यासको एक वर्ष अवधिभित्रै बालगृहको भवन निर्माण सम्पन्न गरी वि.सं. २०७६ बैशाख २५ गते चलचित्र अभिनेता राजेश हमालबाट संस्थालाई साँचो हस्तान्तरण गराएका थिए हाल उक्त अनाथालयमा करिब २० जना भन्दा बढी बालबालिका रहेका छन् । करिब ५० भन्दा बढी बालबालिका अट्ने क्षमता भएको उक्त आश्रममा खान, बस्न र शिक्षाको उपयुक्त व्यवस्था रहेको छ ।
खनाल र उनका केहि साथीहरु मिलेर ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ क्लिन काठमाडौँ अभियाननै चलाएका थिए । सडकमा झाडु लगाउने र कहिले रातबिरात जथाभावी फोहोर फाल्नेलाई सम्झाउन र फोहर फाल्ने ठाउँमा पुगेर सचेत गराउने काम समेत खनालको टिमले गर्दै आएको थियो । कैलालीमा रहँदै ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने मर्मले अघि बढेका केपीले काठमाडौंमा पाइला टेकेको हप्ता दिनमै ‘क्लिन काष्ठमण्डप’ अभियान सुरु गरेका थिए । खनालले नेपाल सरकारका मन्त्री देखी पुर्व राजकुमार पारस शाहलाई समेत सडकमा झाडु सहित उतारे । यस्तै फरक र सामाजिक कामबाट चर्चा कमाएका खनाल अहिले काठमाण्डौँमै बसोबास गरिरहेका छन् ।
आफ्नो अभियानबारे केपीको भनाइ छ, ‘यसको मतलब आफैँ सधैँ फोहोर टिप्दै हिँड्ने पनि हैन ।’ उनको अभियान अन्य अभियानभन्दा फरक छ । अरु फोहोर पन्छाउन, टिप्न आह्वान गर्दै हिँड्छन् तर केपी त्योभन्दा एक कदमअगाडि छन् अर्थात् उनी फोहोर नै नगर्न आह्वान गर्छन् । वास्तवमा यो अभियानलाई सबैले आत्मसात् गरे सहरी सौन्दर्य जोगिन्छ । यसका लागि कसैले समय नै छुट्याउनुपर्दैन । परोस् पनि कसरी, आखिर मानिसले जथाभावी फोहोर नफालिदिए । उनी भन्छन्, ‘मान्छे उमेरले हैन सोचाइले सानो हुन्छ ।’
हाल खनालले सामाजिक सेवाकै लागी महिनादेवी फाउण्डेशन सञ्चालन गरेका छन् । स्थानिय सरकारहरुसंग सहकार्य गरी फाउण्डेशनले देशभरीनै कार्यक्रम सञ्चालन गर्न लागेको खनाल बताउँछन् । ग्रामिण क्षेत्रका बिद्यालयमा क्याम्प राख्ने, बिभिन्न शहरमा फोहोर टिप्नलाई म्याराथन प्रतियोगिता आयोजना गर्ने तथा वातावरण सम्बन्धीका काम गर्ने खनालको लक्ष छ । यति मात्रै नभएर महिलाहरुका लागी बिषेश कार्यक्रम उनले ल्याएका छन् । महिनावारी सम्बन्धी जनचेतनात्मक कार्यक्रम, सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम रहेको उनले बताएका छन् । खनालका अनुसार चितवनमा सेनिटरी प्याड वितरण कार्यक्रम सम्पन्न भइसकेको छ । खनालले फेसबुकबाटै धेरै अभियान सञ्चालन गरेका छन् । पहिरो पिडितलाई राहत दिन हुम्ला बचाउ अभियान देखी बिभिन्न अभियान चलाएर दिन दुखीका सेवामा सक्रिय खनालले सन २०१८ मा भारतको नेसनल युथ आइकन आवार्ड प्राप्त गरेका छन् । यस्तै सन २०१९ मा नेसनल युथ लिड आवार्डबाट खनाल सम्मानित भइसकेका छन् ।
आफुले गरिरहेको सामाजिक कामको श्रेय खनाल समाजलाई दिन्छन् ।
मेरो परिवारले मलाई दुख गरी हुर्काएको हो खनालले भने “मलाई हुर्काउने मेरो परिवार त छदैछ, तर सबैभन्दा मेरो प्रेरणाको श्रोत समाज र मेरो सुदूरपश्चिम हो, मेरा हरेक सामाजिक कामलाई सकारात्मक रुपमा लिएर सहयोग गर्ने समाज नभइदिएको भए म सफलतामा पुग्ने थिएन ।” मैले सानै उमेरमा सही बाटो रोज्दा मेरो काममा हातेमालो गर्ने मेरो समाज मेरो मार्गदर्शक हो उनले भने “मेरो घर परिवार देखी सबैले मलाई यहाँ पुगाउन महत्वपुर्ण सहयोग गर्नुभएको छ र त्यसै कारण फोहोरमैला बिरुद्धका अभिया सफल भएका छन्, आगामी दिनमा मेरा हरेक सकारात्मक काममा सहयोग र सुझावको अपेक्षा लिएको छु ।”