धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शहादुर शाहले कैलाली भन्सार नाकामा क्वारेन्टाइन स्थापनाका लागी प्रधानमन्त्रीलाई गुहारेका छन् । मुख्यमन्त्री शाहले कैलाली भन्सार नाकामा बन्द अवस्थामा रहेको प्लाण्ट क्वारेन्टाईन स्थापनाको निर्णय गरिदिन सोमबार प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् ।
‘सुदूरपश्चिम प्रदेशको मुख्य नाकामा नाकाको रुपमा रहेको कैलाली भन्सार क्वारेन्टाइन सेवा बन्द हुँदा प्रदेशमा खाद्य, मैदा, तेल, वेकरीसंग सम्बन्धित उद्योगहरु प्रभावित भएका छन् भने अर्कोतिर कृषिजन्य वस्तुसंगै दैनिक उपभोग्य वस्तुको मूल्य समेत वृद्धि हुँदा त्यसको प्रत्यक्ष मार आम जनतामा परेको छ’ मुख्यमन्त्री कमलबहादुर शाहद्धारा हष्ताक्षरित पत्रमा भनिएको छ –‘आयात निर्यात ठप्प हुँदा भन्सार कार्यालयको राजश्वमा पनि प्रभाव परेकोले नाकामा स्थायी रुपमा रहेको क्यावरेन्टाइन कार्यालय स्थापनाको निर्णय गरि दिन हुन अनुरोध छ ।’
मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार साउन २८ गतेदेखि क्वारेन्टाइन अचानक बन्द भएको थियो । सो सम्बन्धमा प्रदेश सरकारले प्रधानमन्त्री, संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालयका मन्त्री, मुख्य सचिव, सचिव लगायतको ध्यानाकर्षण गराउँदा समेत सञ्चालनमा नरहेको उनको भनाई छ । मुख्यमन्त्री शाहले प्रधानमन्त्रीलाई पठाएको पत्र अर्थ मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि पठाइएको उनको सचिवालयले जनाएको छ ।