बझाङ। बझाङको थलारा गाउँपालिका-९ मा परम्परागत संस्कृति प्रदर्शनी गरिएको छ। शुक्रबार लोपोन्मुख अवस्थामा रहेका परम्परागत कला, संस्कृतिको संरक्षणका लागि वडा नम्बर-९ कार्यालयले आर्थिक सहयोग गरेर स्थानीय कला, संस्कृति प्रर्दशन गराएको हो।
थलारा गाउँपालिका-९ का वडाअध्यक्ष लोकेन्द्र बहादुर विष्टले पहिचानका रूपमा रहेका मागल, भात्र्या नाच, गौरा, भारीखेल, देउडाजस्ता संस्कृतिलोप हुने अवस्थामा पुग्न थालेको बताए। वडाको पहिचानका रूपमा रहेका परम्परागत सांस्कृतिक सम्पदाहरू लोप हुने चिन्ता बढेको उनले बताएका छन्। यिनको संरक्षणमा टेवा पुगोस् भनेर स्थानीय कला, संस्कृति प्रर्दशनको आयोजना गरेको जानकारी दिएका छन्।
चाडपर्व, मेला, विवाह, पूजाजस्ता सामाजिक कार्यहरूमा मात्र संस्कृति सीमित हुन थालेकाले युवापुस्तालाई जानकारी दिन प्रदर्शनी आयोजना गरेको उनको भनाइ छ। थलारा माध्यामिक विध्यालयका शिक्षक प्रेमबहादुर सिंहले नयाँ पुस्तालाई मौलिक भाषा संस्कृतिको जानकारी दिन यस्ता कार्यक्रम भइरहनु पर्ने कुरामा जोड दिएका छन्।