बझाङ। जीप दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह र उनकी पत्नी अमृता र भाउजु जया सिहंको आज दाहसंस्कार गरिएको छ । उनीहरुको आज बझाङको सदरमुकाम चैनपुरस्थित डुङ्री घाटमा दाहसंस्कार गरिएको छ।
बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पत्तीको पार्थिव शरीरलाई शनिबार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराइ ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसानघाट डुंग्री घाटमा अन्त्येष्टि गरिएको हो। स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा आदेश र कान्छा छोरा अभिषेकले दिउसो करीव दुई बजे मुखाग्नी दिएका हुन्।
अन्त्येष्टि अघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो। धनगढीबाट डडेल्धुरा हूँदै बझाङ जाने क्रममा केदार स्यूँ गाउँपालिका–१ जुवाली खेतमा गाडी दुर्घटनामा परी मृत्यु भएका मन्त्री सिंह सहित तीनै जनाको विदेशमा रहेका जेठा छोरा आएपछि मृत्यु भएको पाँचौ दिन आज चैनपुरमा दाहसंस्कार गरिएको हो। दाहसंस्कार अघि स्वर्गीय मन्त्री सिंहको शव चैनपुरस्थित नेपाली काँग्रेस पार्टीमा राखिएको थियो।पार्टी कार्यालयमा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा सुदूर पश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्री, पूर्व मन्त्री, नेपाली काँग्रेस तथा बिभिन्न दलका नेता तथा कार्यकर्ता, सर्बसाधारण, शभुेच्छुक र आफन्तहरुले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। मुख्यमन्त्री शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री सिंहको निधनले सुदूर पश्चिम प्रदेश सरकार र सुदूर पश्चिमलाई अपुरणीय क्षति भएको बताए ।
मन्त्री सिंहको निधनबाट देशले एक लोकतान्त्रिक योद्धा र असल नेता गुमाएको उनले बताए । स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा अन्त्येष्टि अघि नेपाली राष्ट्रिय झण्डा र पार्टीका तर्फबाट चार तारे झण्डा ओढाईएको थियो । स्वर्गीय मन्त्री सिंहको शवयात्रा र अन्त्येष्टिमा मानवसागर उर्लिएको थियो । मन्त्री सिंहको निधन प्रति नेपाली काँग्रेस केन्द्रीय समिति, सुदूर पश्चिम प्रदेश समिति, सुदूर पश्चिम प्रदेश सरकार, नेपाली काँग्रेसका नौ वटै जिल्लाका नेपाली काँग्रेसका पार्टी कार्यालय, नेपाली काँग्रेस संसदीय दलका नेता तथा कार्यकर्ताले समवेदना प्रकट गरेका छन् ।