धनगढी। सुदूरपश्चिम सरकारले बझाङ दुर्घटनाको छानविनकोलागि सात सदस्यीय छानविन समिति गठन गरेको छ। सवारी दुर्घटनामा मृत्यु भएका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहसहितको घटनाबारे अनुसन्धान गर्न समिति गठन गरेको हो।
मुख्यमन्त्री कार्यालयका सचिव गंगा बहादुर खरेल संयोजकत्वमा ७ सदस्यमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षक, मुख्यमन्त्री कार्यालयका उपसचिव नवराज ओझा, मुख्यन्याधिवक्ता कार्यालयका उपन्याधिवक्ता टेकबहादुर थापा, यातावाता व्यवस्था कार्या धनगढीका मेकानिकल इन्जिनीयर, आन्तकि मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत सदस्य सचिव विष्णुदत्त अवस्थी रहेका छन्।
समितिले प्रदेश सरकारलाई १५ दिनभित्र छानविन प्रतिवेदन पेश गर्नुपर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताए। असार ५ गते सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको सवार गाडी दुर्घटनामा परी निधन भएको थियो ।उनीसँगै उनकी पत्नी अमृता सिंह र मन्त्रीका नातेदार पर्ने जयादेवी सिंहको घटना स्थलमै मृत्यु भएको थियो । गाडीमा सवार मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारी र गाडी चालक धर्मराज जोशी घाइते भएका छन् । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी २५ मिटर तल कालंगा खोला किनारमा खसेको थियो।