धनगढी। बझाङमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ।
बझाङस्थित रितु पोलिक्लिनिकमा टाउकोमा गम्भीर चोट देखिएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको हो । बझाङस्थित रितु पोलिक्लिनिकबाट बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरि मन्त्री सिंहको उपचार सुरु गरिएको हो। उपचारमा संलग्न मेडिकल कलेजका डाक्टर राहुल डंगौरालाई उद्धृत गर्दै सुदूरपश्चिमकी सांसद गीता चौधरीले मन्त्री सिंहको उपचार सुरु भएको जानकारी दिइन्।
सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट बझाङ्गको चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।दुर्घटनामा परि मन्त्री सिंह सहित ५ जना घाइते भएका थिए। जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ।
दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले बताए। घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको डीएसपी केसीले बताए। दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका-१, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्याएका थिए।